सञ्जय साह ‘मित्र’ बैशाख २६ गते ।
आधुनिक काल सुरु हुनुभन्दा पहिले सामान्यतया नेपाल भन्नाले काठमाडौँ उपत्यकालाई जनाएको बुझिन्छ ।
हामी रौतहटको इतिहासको सन्दर्भमा छलफल गर्ने क्रममा अहिले अतिप्राचीन इतिहासतर्फ फर्किने प्रयासमा छौँ ।
पौराणिक ग्रन्थहरूमा नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन र द्वापरयुगमा मुक्तिसोपान भन्ने गरिएको उल्लेख पाइन्छ । कलियुगमा त नेपाललाई नेपाल नै भनिएको छ । नेपाल शब्दको उल्लेख सबैभन्दा पहिले अथर्ववेदमा गरिएको पाइन्छ । यसअनुसार नेपाल हिमालको काखमा भएको कारणबाट नेपाल नामको उत्पत्ति संस्कृत शब्द निपालयबाट भएको हुन सक्छ, जसको अर्थ पहाडको आधार (खुट्टा) अथवा खुट्टामा निवास हुन्छ भनेर विकिपिडियाले नेपालको इतिहासमा उल्लेख गरेको छ ।
अर्थर्ववेदभन्दा निकै पुरानो ऋग्वेद हो । ऋग्वेदमा स्पष्टरूपमा नेपाल शब्द उल्लेख नभएको पाइए पनि नेपाललाई सत्ययुगमा सत्यवती भनिएको चर्चा माथि भइसकेको छ । प्रा.डा. माधवप्रसाद पोखरेलले २०७७ असार १३ शनिवारको नयाँ पत्रिकाको झन् नयाँमा नेपालमा आर्य गणको इतिहास शीर्षक लेखमा “ऋग्वेद कालमै वैदिक आर्यहरू कोसी किनारसम्म आइसकेको प्रमाणित भएको छ” भनी उल्लेख गरेका छन् । रामायणको समयमा वैशाली वा मिथिलाअन्तर्गत रौतहट थियो भन्ने सन्दर्भमा पहिले नै चर्चा भइसकेको छ र अझ स्पष्ट हुन पछि पनि चर्चा गर्नु आवश्यक हुन्छ । रामायणभन्दा पछिको घटना महाभारत हो तर रामायणकालीन जति सन्दर्भ र स्रोत पाइन्छ, त्यत्ति महाभारतकालीन सन्दर्भ र स्रोत हाम्रो भूगोलको बारेमा पाइँदैन । बुटबलभन्दा उत्तरतिर जाने बाटोमा पहाडी क्षेत्रमा रामापिथेकस मानवको अवशेष फेला परेको छ । यसबाट यो स्पष्ट हुन्छ कि करोडौँ वर्षपहिले नै आदिमानवको बसोबास यस क्षेत्रमा रहेको थियो । करोडौँ वर्षपहिलेदेखि मानिस बस्दै आएको यो क्षेत्रको इतिहास प्राप्त गर्न एकदमै कठिन भएको छ । रामायणदेखि महाभारतसम्मको पूरै त होइन तर झन्डै अधिकांश समयमा बुटबल क्षेत्र कोसल वा उत्तर कोसल राज्यअन्तर्गत रहेको सन्दर्भहरू पाइन्छन् । महाभारतको समयको अलिकति चर्चा गरौँ ।
सामान्यज्ञानहरूमा महाभारत युद्धको समयमा नेपालका राजा जितेदास्ती थिए भन्ने उल्लेख पाइन्छ । जितेदास्तीलाई लिच्छवि राजा भनिएको पाइन्छ । लिच्छवि शासनकालीन नेपालका राजाहरूमा जितेदास्तीको नाम उल्लेख भएको पाइएको छैन । महाभारत युद्धमा जितेदास्तीले पाण्डवको पक्षबाट युद्ध लडेको पनि उल्लेख पाइन्छ । जितेदास्ती यदि नेपालका राजा थिए भने नेपाल उपत्यकानजिकको कुनै सानो राज्यको राजा हुनुपर्छ वा नेपालका राजाको सामन्त हुनुपर्छ अथवा राजाको खलकका हुनुपर्छ । यो पनि सम्भव छ कि कुनै पहाडी राज्यको राजा हुनुपर्छ । किरात राजाको रूपमा जितेदास्तीको नाम उल्लेख भएको पनि पाइन्छ । एक ठाउँमा उल्लेख भएअनुसार जितेदास्तीको शासनकाल इ.पू.४४०–४१५ रहेको थियो । उनलाई सातौँ किराती राजा भनिएको छ । ग्रेटर नेपाल कम्पेन (न्च्भ्ब्त्भ्च् ल्भ्एब्ी ऋब्ःएब्क्ष्न्ल्) भन्ने वेभसाइटले उल्लेख गरेको छ –“जितेदास्तीको पालामा गौतम बुद्धले नेपाल खाल्डोको भ्रमण गरेको इतिहासमा उल्लेख छ । आफ्ना शिष्यहरूसँग आएका बुद्धले स्वयम्भु, गुहेश्वरी आदि स्थानमा प्रवचन दिएको बताइन्छ । साथसाथै जितेदास्तीले महाभारत युद्धमा पनि पाण्डवहरूका साथ लागेर युद्ध गरेको किंवदन्ती छ ।”
जितेदास्ती र महाभारतको सन्दर्भ आफैमा विवादास्पद रहेको छ ।
कतिपयले महाभारत युद्ध हुँदा यलम्बर नेपालका राजा थिए र यलम्बर किरातका प्रथम राजा हुन् भन्ने विश्वास गरिन्छ । किराती सरदार यलम्बरले महाभारतमा कौरवको पक्षबाट युद्ध लड्न गएका थिए र कृष्णबाट मारिएका थिए भन्ने भनाइ पनि पाइन्छ । युद्ध सकिएपछि यलम्बरको टाउको आकाशमार्ग भएर काठमाडौँ आएको र सोही टोउकोलाई आकाश भैरवको रूपमा किरातीहरूले पूजा गर्न थालेको किंवन्दती पनि पाइन्छ ।
महाभारत युद्धमा राजा विराटले पाण्डवको पक्षबाट लडेको त सर्वविदित नै छ । राजा विराटका पुत्र उत्तर पनि पाण्डवकै पक्षबाट लडेर वीरगति प्राप्त गरेका थिए ।
त्यस समयमा अर्का किराती राजा हुमतिले पनि महाभारत युद्धमा कौरवको पक्षबाट भाग लिएको उल्लेख पाइन्छ । हुमती सम्भवतः कोसी आसपासको पहाडी क्षेत्रका राजा थिए । विराट पाण्डव र हुमति कौरव पक्षबाट महाभारत युद्धमा भाग लिनु एउटा संयोग देखिन्छ । हुन सक्छ, हुमतिको कौरव पक्षसित कुनै विशेष निकटता थियो । अर्जुनपुत्र घटोत्कच र घटोत्कचपुत्र बर्बरिकले पनि महाभारत युद्धमा भाग लिएका थिए । घटोत्कचको भूमिका महाभारतमा अद्वितीय रहेको छ । बर्बरिक एक्लैले महाभारत युद्ध एक छिनमै समाप्त पार्ने सामथ्र्य राखेको उल्लेख पाइन्छ । यहाँ महाभारत युद्धमा सहभागी भनिएका पात्रहरू यलम्बर, जितेदास्ती, हुमति, विराट, घटोत्कच, बर्बरिकको सन्दर्भ किन ल्याइएको हो भने यी पात्रहरू कुरुक्षेत्रतर्फ प्रस्थान गर्दा रौतहटको धरतीको उपयोग गरेका थिए कि ? तत्कालीन अवस्थामा यो भूमि कहाँबाट शासित थियो ? महाभारतको समयमा यस क्षेत्रका शासक को थिए भनेर मन्थन गर्न सजिलो हुन्छ ।
भगवान महावीरको जन्म बज्जिकुलमा भएको इतिहास प्रसिद्ध छ । भगवान महावीरको जन्म इ.पू. ५९९ मा वैशाली जिल्लाको कुंडलपुर (कुंडग्राम) मा भएको थियो । यहाँ वैशाली त्यत्तिवेलाको समृद्ध राज्य रहेको पहिले पनि उल्लेख भइसकेको छ । हिन्दी भाषाको वैशाली विकिडिडियामा के उल्लेख पाइन्छ भने महाभारत कालसम्म इक्ष्वाकुवंशीय राजाको शासन वैशालीमा रहेको थियो । विद्वान् पाठकहरू ! अहिले रौतहटको भूमि कहाँ छ भनेर खोज्नु जरुरी छ ।
प्रा.डा. माधवप्रसाद पोखरेलले २०७७ असार १३ शनिवारको नयाँ पत्रिकाको झन् नयाँमा नेपालमा आर्य गणको इतिहास शीर्षक लेखमा यसरी भनेका छन् – “ … उनीहरूको निष्कर्ष के छ भने, ऋग्वेदमा वर्णन गरिएको भारत युद्ध अथवा दाशराजयुद्ध (दश ओटा राजाहरूको लडाइँ) उत्तर भारतकै दश ओटा राज्यहरू (तुर्वस, अंगका आनव, पाञ्चाल, हस्तिनापुर, कान्यकुब्ज र काशीका पौरव अनि सूर्यवंशीय कोशल, विदेह र वैशाली) भिडेको युछ अर्थात्, महाभारत युद्ध नै हो । ऋग्वेद ती ठाउँ र त्यहाँका पात्र र घटनाहरूको उल्लेख मात्र छ भने पुराणहरू (रामायण, महाभारत, वायु, विष्णु, मत्स्य, ब्रह्माण्ड, मार्कण्डेय र भविष्य पुराणका साथै भागवत र अग्नि पुराण) मा ती घटनाहरू सिंगै कथाहरूका रूपमा आएका छन् ।”
(डा. पोरखरेलले एउटा घतलाग्दो प्रसंग उल्लेख गरेका छन् –“जाति मिश्रण स्वाभाविक र अनिवार्य ऐतिहासिक प्रक्रिया हो । तिब्बती राजवंश लिच्छविहरूको सन्तान हो (रोरिख, १९४९, द ब्लु एनल्स, ३०) । लिच्छविहरूको गणराज्य त उत्तरी बिहारको वैशाली हो । नेपालका लिच्छविहरू पनि वैशालीबाट विस्थापित भएरै आएका हुन् । गण्डकीदेखि कोसीसम्म विदेह र गण्डकी पश्चिम कोसल थिए ।) शीतल गिरीले प्रसंगवशमा रौतहटको आबादी इ.पूं १००० तिरको भएको अनुमान गरेका छन् भन्ने कुरा पनि पहिले नै आइसकेको छ ।
डा. पोखरेलको आलेखमा महाभारत युद्ध काल इ.पू. ११५० हुनुपर्ने बताइएको छ । महाभारत युद्धमा यस क्षेत्रका राजाको सहभागिता रहेको उल्लेख भइसकेपछि यस क्षेत्रमा मानिसको इ.पू. ११५०भन्दा कैयौँ शताब्दीपूर्व नै भएको हुनुपर्छ भन्ने अनुमान लगाउन कुनै कठिनाइ हुँदैन । अझ यदि रामायणको समय र सन्दर्भलाई विचार गर्ने हो भने यस क्षेत्रमा मानव बसोबास कैयौँ शताब्दीपूर्व नै भएको हुनुपर्छ भन्ने अनुमान लगाउन कुनै कठिनाइ हुँदैन । अहिलेसम्मको तथ्यअनुसार वैशाली नै बज्जिहरूको केन्द्र हो । राजा विशालको नाममा वैशाली राज्य स्थापना भएको भन्ने कुरा वाल्मीकीय रामायणमा पनि उल्लेख गरिएको छ । यसै आलेखमा वैशालीका राजा इक्ष्वाकु वंशकै भएको पनि प्रसंग आइसकेको छ । यो तथ्यलाई पौराणिक तथ्य मान्न सकिन्छ । डा. पोखरेलको आलेखमाथि प्रतिक्रिया दिँदै केदार वाशिष्ठले एउटा तथ्य उज्जागर गरेका छन् – “ … लिच्छविहरू इरानी मूलका निसिबि हुन् । उनीहरूको हिँडेको ठाउँ निसिबिस् थियो । मनुस्मृतिमा लिच्छविहरूलाई निच्छवि भनिएको छ । उनीहरू वैशालीबाट आएका हुन् तर त्यसअघि पञ्जाबमा बसेर त्यहाँबाट लखेटिएर वैशालीमा आएका हुन् । …” हिन्दी भाषाको वेबदुनिया (ध्भ्द्यम्ग्ल्ष्थ्ब्)ले महाभारत कालका प्राचीन सहर तथा गाउँको विषयमा जानकारी दिँदै लेखेको छ – बज्जिः जिला दरभंगा और मुजफ्फरपुर, राजधानी मिथला, जनकपुरी और वैशाली ।
यी सबै तथ्य तथा कथ्यहरूले रौतहटको भूमि अतिप्राचीन रहेको स्पष्ट छ । यहाँ मानवको बसोबास अतिप्राचीनकाल वा प्रागैतिहासिकमा थियो भन्ने स्पष्ट हुन्छ । हिन्दु युगअनुसार यदि अनुमान लगाउने हो भने यस क्षेत्रमा ऋग्वेदभन्दा पहिले नै सत्ययुगमा नै मानिसको बसोबास थियो भन्ने स्पष्ट हुन आउँछ ।