कोरोनाको कहर चलिरहेको छ । यसलाई केही मत्थर पार्न र कोरोना संक्रमणको चेनलाई तोड्न विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । अहिलेको निषेधाज्ञा जनताको स्वास्थ्यको लागि हो । यही कुरा बुझ्न नसकेर हो कि बिना काम मानिस घरबाट निस्किरहेका छन् । मास्कको प्रयोग पनि गरिरहेका छैनन् । भौतिक दुरी पनि अपनाइरहेका छैनन् । आखिर किन यस्तो भइरहेको छ ? कसका लागि उल्लंघन भइरहेको छ ? कतिपय मानिस त कस्ता छन् भने निषेधाज्ञा कस्तो छ ? भनी हेर्नको लागि सडकमा निस्कन्छन् । अझ पुलिसले मलाई देख्दै देखेन वा देखेर पनि मलाई केही पनि गरेन भन्छन् । म त पुलिसको नजिकैबाट आएँ पनि भन्छन् । मानौ पुलिस नै निषेधाज्ञा हो वा निषेधाज्ञामा बाहिर निस्केर पुरुषार्थ गरेका हौँ । अलिकति दिल्ली, मुम्बई, लखनऊतिरको अवस्थालाई हेरौँ । हाम्रोभन्दा पक्कै शिक्षित र विकसित मानिसहरु छन् । मलाई केही हुँदैन भनेका पनि होलान् तर अहिले अवस्था कस्तो छ ? हाम्रै देशको राजधानी काठमाडौँ र विस्तारै वीरगंजलाई पनि हेरौँ । दिनदिनै अवस्था गम्भीर बनिरहेको छ । तर पनि यता प्रदेश दुईको गाउँ र देहातका मानिस बजार निस्कन छाडेका छैनन् । घरबाट बाहिर निस्कन छाडेका छैनन् । के पुलिसले लाठी चार्ज गरेपछि बल्ल चेत खुल्छ ? प्रहरीले लाठी चार्ज गरेपछि प्रहरीले अत्याचार ग¥यो भन्न थालिहाल्छन् । अहिलेको समयमा त बिना काम घरबाट बाहिर ननिस्कनको लागि निषेधाज्ञा हो । सम्भव भएसम्म बाहिर ननिक्लौँ । निषेधाज्ञामा बाहिर निस्केर आफूलाई, आफ्नो परिवारलाई र आफ्नो समाजलाई जोखिममा पारेका छौँ । चेतना होओस्, यदि अहिलेजस्तै निषेधाज्ञाको उल्लंघन भइरहन्छ भने प्रहरी र प्रशासनले कडाइ गर्न बेर लाग्दैन ।