काठमाडौँ, २३ श्रावण। भारतको उत्तराखण्ड राज्यमा शुक्रबार राति परेको भारि वर्षापछि आएको ‘क्लाउड ब्रस्ट’का कारण भीषण बाढी र पहिरोमा परी जाजरकोटका पाँच जनाको मृत्यु भएको छ। मृतकहरु जाजरकोटको कुशे गाउँपालिका–२, डोग्री तिमिल्धाराका एउटै परिवारका सदस्य भएको बताईएको छ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार ज्यान गुमाउनेहरूमा ४२ वर्षीय कर्णबहादुर सिंह, ४५ वर्षीय मानबहादुर सिंह, ४० वर्षीय रामबहादुर सिंह, १७ वर्षीय रबिन सिंह र ३५ वर्षीय निमबहादुर सिंह रहेका छन्।
बस्नेतका अनुसार घटनाबारे जानकारी मृतक मानबहादुर सिंहका छोरा नवीन सिंहबाट प्राप्त भएको हो। बाढी आएको समयमा नवीन केही पर क्यारेमबोर्ड खेलिरहेका थिए। बाढी आएपछि उनी र खेलमा संलग्न अन्य व्यक्तिहरू भागेर ज्यान जोगाउन सफल भए। पछि फर्केर हेर्दा बजार पूरै बगाइसकेको र घर तथा मानिस दुवै बगाएको देखिएको थियो।
धान रोपाइँ सकेपछि असार–श्रावणमा रोजगारीका लागि उत्तराखण्ड गएका उनीहरू वर्षाको कारण काम रोकिएपछि बजार गएका थिए। अझै केही व्यक्ति बेपत्ता छन् र उद्धार तथा खोजीका लागि कूटनीतिक पहल आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ।
उनका अनुसार घटना भएको क्षेत्रमा भारतीय प्रशासनले इन्टरनेट सेवा बन्द गरिएकाले सम्पर्क गर्न कठिनाइ भइरहेको छ। उक्त पहिरोमा परेर यहि गाउँका अन्य केहि परेको आशंका समेत गरिएको छ। पालिकाले हिजो एक शोक बिज्ञप्ति जारि गर्दै १३ जना भन्दा बढी उक्त पहिरोमा परि बेपत्ता भएको जनाएको थियो।


