विस्तारै कोरोनाको संक्रमण कम हुँदै गइरहेको छ । कोरोनाको संक्रमण र कोरोनाबाट मृत्यु दुवै कम हुँदै गएको छ । यसले गर्दा जीवनमा फेरि आशा पलाउन थालेको छ । अब विस्तारै त्रासको वातावरण कम हुँदै गएको छ । त्रासको वातावरण कम हुँदै गएसँगै सबैतिर आशाको सञ्चार हुन थालेको छ । सबैतिर आशा पलाउन थालेसँगै सतर्कता पनि कम हुन थालेको छ । अहिले त्रास कम भएको हो तर सतर्कता कम नगरेको राम्रो । कोरोनाको संक्रमण पूर्ण रुपमा हटेको छैन । कम संख्यामा भए पनि दिनहु संक्रमण भइरहेको छ । अहिलेसम्म कुनै पनि जिल्ला संक्रमणमुक्त हुन सकेको छैन । प्रदेशका कुनै पनि स्थानीय तहले पूर्ण संक्रमणमुक्त घोषणा गर्न सकेको छैन । अब विस्तारै केही स्थानीय तहल कोरोनामुक्त हुँदै गएको घोषणा गर्दै जालान् तर एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक जिल्लाबाट अर्को जिल्ला र एक देशबाट अर्को देशमा मानिसको आवतजावत भइरहने सन्दर्भमा कतै कोरोना संक्रमण भइरहेको अवस्था हुन्छ भने त्यहाँबाट कोरोना संक्रमण अन्यत्र नपुग्ला भन्न सकिन्न । कोरोनाको संक्रमण एक मानवबाट अर्को मानवमा हुने भएकोले अझै केही महिना सतर्कता अपनाउनु अत्यन्त आवश्यक छ भन्ने हामीलाई लागेको छ । कोरोनाको लहर विस्तारै कम हुँदै जाँदा जनजीवनलाई विस्तारै लयमा आउनुलाई स्वाभाविक मान्नु पर्दछ । कोरोनाविरुद्धको खोप अझै पनि सबैले लगाइ नसकेको वर्तमान परिस्थितिमा लयमा फर्किदै गरेको जनजीवनमा निरन्तर सतर्कताको आवश्यकता रहेको छ । कोरोनाबाट हाम्रो समाज पूर्ण रुपमा मुक्त नहुन्जेल कोरोनाको समयमा आवश्यक सतर्कता अपनाएर नै जीवनलाई सुचारु बनाउनु पर्छ । कोरोनाको संक्रमण तथा भयावहता विस्तारै कम हुँदै जाँदा जनजीवन लयमा आउनुपर्छ तर सतर्कता भने पूर्ण आवश्यक रहेको छ ।