उपेन्द्र गोले रौतहट । असार ३० गते
रौतहटको चन्द्रपुर नगरपालिकामा सौर्य विद्युत आयोजनाको तयारी सम्पन्न भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा ४ मेगावाट विद्युत् उत्पादन क्षमताको सौर्य विद्युत् आयोजना तयार भएको विद्युत् प्राधिकरण चन्द्रपुर शाखाका शाखा प्रमुख राजेश झाले बताउनु भयो । अपि पावर कम्पनी लिमिटेडले आयोजना सञ्चालनमा ल्याएकोमा आयोजनाले मंगलबारबाट नै ‘लाइन सप्लाई’ सुरु गरेको जनाएको छ । कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञा जारी रहेदा समेत तोकिएको ४ महिनामा आयोजना तयार गरेको कम्पनीले दावी गरेको छ । आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत ३ किलोमिटर दूरीमा रहेको चन्द्रनिगाहपुर सबस्टेसनमा जोडिएको छ । कम्पनीले चन्द्रपुरको वडा नम्बर ५ स्थित १२ बिघा क्षेत्रफलमा ४ सय वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल राखेर विद्युत् उत्पादन गरेको छ । सो आयोजनाले वार्षिक ६९।२५ घण्टा विद्युत् उत्पादन गर्ने जनाएको छ । मासिक ५ लाख युनिटसम्म विद्युत् उत्पादन हुने कुशल प्रोजेक्ट नेपाल प्रालिका प्रबन्ध निर्देशक सन्दीप अग्रवालले बताउनु भयो । आयोजनाले चाँदी नदी क्षेत्रनजिक प्लान्ट राखेर बजार क्षेत्र हुँदै सबस्टेसनमा लाइन जडान गरेको छ । जाडो महिनामा घाम नलाग्ने भएकाले विद्युत उत्पादन घट्ने विद्युत प्राधिकरण चन्द्रपुर शाखाको भनाई रहेको छ । पिक आवर वा ग्रिड फेल भएमा पनि चन्द्रपुर नगरपालिकालाई विद्युत् आपूर्तिमा समस्या नहुने विद्युत प्राधिकरण चन्द्रपुरका शाखा प्रमुख राजेश झाले बताउनु भयो ।