पहिले समाजमा हरुवा, चरुवा, कमैया आदि राख्ने एक किसिमको प्रथा नै थियो । अझ यसभन्दा पहिले दासप्रथा समाजमा प्रचलनमा रहेको थियो । राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले नेपालबाट दासप्रथाको उन्मुलन गरेका हुन् । देशमा प्रजातन्त्र आइसकेपछि हरुवा, चरुवा तथा कमैया प्रथा हटेका हुन् । कमैया प्रथा मुख्य गरी पश्चिम नेपालतिर विद्यमान थियो । आज मुक्त कमैया दिवस हो । कमैयाहरुलाई राज्यको तर्फबाट पूर्ण मुक्त भएको र आजदेखि कोही पनि कसैको कमैया नरहेको अर्थात् कमैया प्रथा नै देशमा नरहेको भनी घोषणा गरिएको दिवस हो यो । कमैयाहरुलाई स्वतन्त्र बनाइएको र देशको सम्मानित सामान्य नागरिकको दर्जा दिइएको आजको दिन निकै विशिष्ट रहेको छ ।
अहिलेको प्रदेश दुईमा कमैया प्रथा खासै प्रचलनमा रहेको देखिँदैन । हरुवा, चरुवा प्रथा पनि आफै उन्मूलन भइसकेको छ तर पश्चिममा कमैया प्रथाबाट देश औपचारिक रुपमा मुक्त भइसकेको भए पनि र हलिया तथा कमैयाहरु पनि औपचारिक रुपमा स्वतन्त्र भइसकेको भए पनि अझै केही काम राज्यले गर्न बाँकी रहेको बुझिन्छ । अझै पनि कतिपय कमैयाको राम्ररी व्यवस्थापन हुन सकेको छैन भन्ने सुनिन्छ । अहिलेको सरकारले यसबारे ठोस कार्य गर्ने अपेक्षा लिन सकिन्छ ।
प्रदेश दुईमा अब हरुवा, चरुवा, हलिया तथा कमैया जस्तो प्रथा नरहेको भए पनि आर्थिक रुपमा अति विपन्न परिवारहरु अझै पनि धेरै नै रहेका छन् । निकै कठिन गुजारा गरिरहेका मानिसहरु पनि रहेका छन् । यस प्रकारका अति विपन्न सीमान्तकृत नागरिकको लागि सरकारले आजको दिनमा विशेष कार्यक्रम ल्याएर समस्याको समाधान गर्ने प्रयास गर्नुपर्दछ । हरेक विपन्न मानिस पनि नागरिक नै भएकाले सम्मानपूर्ण जीवन बाँच्न पाउने आधार सम्पूर्ण सीमान्तकृत नागरिकले पाउने वातावरण सरकारले निर्माण गरिदिनु पर्छ । आखिरमा देशका सम्पूर्ण नागरिकले सरकारकै मुख ताक्ने न हो । मुक्त कमैयाहरुको अवस्थामा तात्विकरुपमा सुधार आउने किसिमको वातावरण सरकारले बनाइदिनु परेको छ ।