जनता समाजवादी पार्टीका मुख्य नेतृत्वकर्ताहरुमा अब दुई समूह आधिकारिकजस्तै हुने भएको छ । निर्वाचन आयोगले जसपाका संस्थापक केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई कार्यालयमा नै बोलाएर हस्ताक्षर गर्न लगाउँदा दुई तिहाईभन्दा बढीले उपेन्द्र यादव अध्यक्ष रहेको समूहमा समर्थन जनाएका छन् । पहिलेदेखि लगभग समान मानिएको वा अलिकति मात्र कमजोर होला भन्ने अनुमान गरिएको पहिलेको राजपातिरको महन्थ ठाकुरको पक्ष अपेक्षाभन्दा बढी कमजोर देखिएको छ । पार्टीको केन्द्रीय समितिमा एक तिहाईभन्दा पनि कम सदस्य आफ्नो पक्षमा रहेको साबित गराउन ठाकुर पक्ष सक्षम देखिएको छ । निर्वाचन आयोगमा दुई खेमामा औपचारिक रुपमा जसपाका सदस्यहरु विभाजित भएपछि निर्वाचन आयोगले अध्यक्ष यादव पक्षलाई जसपाको आधिकारिक पक्ष भएको निर्णय दिएको छ । तत्कालीन दुई पार्टीबीच हतारमा गरिएको एकता अहिले फुर्सदमा फुटेको छ । दुई पार्टीबीचको एकता प्रक्रिया पूरा नहुँदै दुई हुन पुगेको छ । यद्यपि ठाकुर पक्षमा रहेका साँसदहरुको पद पनि धरापमा रहेको विश्लेषण गरिएको छ । पार्टी एकीकरण भएपछि अर्को पार्टी बन्दा वा बनाउँदा पद स्वतः रिक्त हुने प्रावधानको कारण पनि केही साँसदले पद जोगाउन र सम्भव भए मन्त्री पद पाउन पहिलेदेखि ठाकुरतिरबाट गुट बदलेर यादवतिर गएको अनुमान गरिएको छ । कतिपयले निष्ठा र सिद्धान्तको एकता हुन बाँकी रहेकोले दुई पार्टीबीच एकता हुन नसकेको हो । कतिपयले दुई प्रमुख नेताबीच अहमको वा व्यक्तित्वको टकरावको कारण एकता स्थायी हुन नसकेको विश्लेषण गरिएको छ । यस्ता विश्लेषणहरु आफ्नो ठाउँमा हुनु अस्वाभाविक होइन तर अबको समयमा यस फुटको असर कस्तो देखिएला ? यस विषयमा पनि बहस हुन थालेको छ । अब मधेसको राजनीतिमा के होला ? काँग्रेस र जसपा मिलेर आगामी चुनाव लड्ला ? एमालेसित कसको चुनावी तालमेल होला ? महन्थ ठाकुरतिर लागेकाहरुको राजनैतिक भविष्य के होला ? के महन्थ ठाकुरको नेतृत्वमा मधेसमा एकचोटि फेरि मधेसीको अधिकारको पक्षमा बलियो आवाज उठ्ला ? के वैकल्पिक शक्तिको उदय होला ? प्रदेश दुई सरकारसित जुन असन्तुष्टि, असन्तोष र आक्रोश रहेको छ त्यसको फाइदा ठाकुर नेतृत्वको नवदलले उठाउन सक्ला ? पहिलेको सद्भावना पार्टीका जुन नेताहरु गुमनाम भएका छन्, वा पारिएका छन्, तिनीहरु अब फेरि ठाकुरको नवदलको उदयसँगै सक्रिय होलान ? सबैतिर चासोको विषय भएको छ ।