नेपालको मुख्य द्वार भनेर चिनिने शहरको नाम हो बिरगंज । प्रदेश २ को एक मात्र महानगरपालिका हो बिरगंज । श्री ३ सरकार वीर शमशेर जङ्गबहादुर राणाको प्रधानमन्त्री काल वि.स. १९४२ — १९५८ सालमा पर्सा जिल्लाको अलौ भने स्थानबाट गहवा गाँउमा सदरमुकाम सारिएपछि त्यही गहवा गाउँलाई नै उनै श्री ३ सरकार वीर शमशेर जङ्गबहादुर राणा प्रधानमन्त्रीको नामबाट यो शहरको नाम वीरगंज नामाकरण गरिएको हो । आयात निर्यातको हिसाबले भारत लगायत अन्य मुलुकहरूबाट आवश्यक सर–सामान आयात गर्न होस कि नेपालमा बनेको सर–सामान भूमार्गबाट भारत लगायत अन्य मुलुकहरूमा निकासी गर्ने मुख्य नाका भनेको नै विरगंज हो । नेपालको आर्थिक शहर भने पनि यही विरगंज नै हो । यो वीरगंज देशको मुख्य औद्योगिक कोरीडोर पनि हो । यो शहर नेपालको पूर्वदेखि पश्चिमको मध्य भागमा पर्दछ भने उत्तरबाट हेर्दा दक्षिणको सिमानामा अवस्थित छ । यसको पारिपट्टी भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको रक्सौल शहर पर्दछ ।
यो वीरगंज शहर करिब १५० वर्ष पहिले एउटा जंगल थियो । यसको प्रमाण स्वरुप आज पनि बिरगंजको उत्तर–पूर्वमा रहेको भिसवा स्थान हो । मेरो एसएलसीपछिको पढाइ लेखाइ देशको राजधानी शहर काठमाडौंबाट भएकोले विद्यार्थी कालमा वीरगंजबाट त्यति परिचित हुने मौका पाएको छैन् । यता आएर करिब सोरह सत्र वर्षदेखि वीरगंज आवागछ हुन थालेको भए पनि भिसवा होटेलको नामबाट मात्र परिचित हुदै आएको छु ।
कुरा २०७८ साल आषाढ २० गते आइतबारको हो । हामी चार जना साथी दुईवटा बाइकमा सवार भएर फरक समयमा फरक बाटोबाट वीरगंजको यातायात कार्यालय पुग्ने गन्तब्य हुन्छ । हाम्रो साझा उदेश्य भनेको आफ्नो सवारी साधनको वार्षिक नेपाल सरकारले निर्धारण गरेको कर तिर्ने । एउटा बच्चेलाल सरको बाईकमा सर र बिन्दा सर जो चन्द्रपुर, पथलहिया, सिमरा हुदै यातायात कार्यालय करिब साढे दश बजे पुग्नु हुन्छ । अर्को बाईकमा म र सञ्जय साह “मित्र” सर जयनगर, मौलापुरबाट सिधाको बाटो रौतहट बाराको सिमाना छुट्टयाउने नदी अडुवाको बाढीले बगाएको हुनाले हामी मौलापुरबाट बंकुल बजारबाट बम नहरको बाटो हुदै सिम्रौनगढ भएर बरियारपुर हुदै खाना खाने ठाउँ कलैया बजारमा “मित्र” सरको ससुराली करिब एक घण्टा ढिलो पुग्छौं । ससुराली घरमा मिठो खानाको साथमा हाम्रो अथिति सत्कार हुन्छ । हामी भने खाना खाने वितिकै अर्को जोडी साथी यातायात कार्यालय पुगिसकेकोले हामी पनि हतार हतारमै खानापछि दौडिन्छौं ।
वीरगंज यातायात कार्यालयमा बच्चेलाल सरसँग हाम्रो जोडी श्रीकुष्ण र मित्रको भेट हुन्छ । सरले पहिले नै कर तिर्ने प्रतिनिधि खोजिसकेकोले हामीलाई सजिलो हुन्छ । हामी आफ्नो सवारी धनी प्रमाण पत्र र लाग्ने शुल्क जम्मा गरि आफ्नो लैपटपको बैट्री किन्न बजारतिर जन्छौं । बैट्री किनेपछि बच्चेलाल सर यातायातमा पुगेर आफ्नो ब्लुबुक लिएर सिमरामा कुरिबसेको साथी बिन्दा सरलाई लिन हिड्नु हुन्छ । यता म र मित्र सर वरिष्ठ सम्पादक सर जगदीश शर्माजीको वीरगंजबाट प्रकाशित हुने प्रतीक दैनिकको कार्यालयमा पुग्छौं । प्रतीक दैनिकको कार्यालयमा टनटलापुरको घामले तातो शरीरलाई चिसो ताजा पानी र मिठो चियाले विकास सरले हाम्रो स्वागत हुन्छ । भलाखुसारीको अन्तमा जगदीश सर वर्षापछि चार पाँच दिन गरूडा बस्ने गरी आउने भनेर हामी छृटिन्छौं । हामी यातायात पुग्दा हाम्रो काम भइसकेकोले हामी मेरो भाई वीरगंज महानगरपालिकाको इन्जिनियर प्रविणको कोठा जो भिसवामा छ । त्यहाँ पुगेर घरको केही कोसेली आरभ बाबुलाई दिएर हिड्छौं ।
मित्र सर सम्झिनु हुन्छ कि यो भिसवा एरिया हुनु पर्छ त्यसमा म पनि सहमति जनाउँछु । मित्र सर सोध्नु हुन्छ “तपाई भिसवा हेर्नु भएको छ ?” म होइनमा शिर हल्लाउँछु । त्यसो भए यहाँले हर्नै पर्ने स्थान हो “भिसवा” । एक दुई मिनेटको बाइक यात्रापछि हामी भिसवा पुग्छौं । बाहिरबाट पर्खालले घेरिएको बिचको जंगल हो भिसवा । यहाँ चार कुनामा चारओटा बुद्धका फरक फरक व्यक्तिबाट फरक फरक समयमा बनाइएका मूर्तिहरू छन् । यो ठाउँ प्राकृतिकले अग्लो छ । यसको बिचमा आदि शक्ति जगदम्बाको मूर्ति सहितको सानो मन्दिर स्थापित छ । आधुनिक शहर वीरगंजको गर्मीको रापले पोलि रहेको मानव शरीरलाई शीतलता प्रदान गर्ने स्थान हो भिसवा । खासमा यो स्थान सिद्धार्थ गौतमका साथ उनका शिष्य भिक्षुहरू बसेको स्थान भएकोले यसलाई भिक्षुबास भनिएको हो । गौतम बुद्ध ज्ञान प्राप्ति पछि बैशालीबाट कपिलवस्तुको यात्राक्रममा आफ्नो शिष्यहरूका साथमा यो स्थानमा बास बसेकोले यसलाई भिक्षुबास भनियो । यहाँ अशोक सम्राट पनि व्यापारको सिलसिलामा मगधको राजधानी पाटलीपुत्रबाट कान्तिपुर हालको नेपालको राजधानी काठमाडौं र चिनको तिब्बतसँग व्यापार गर्ने क्रममा यहाँ बास बसेको कुरा सुनिन्छ । त्यस बेला अहिले.को जस्तो राजमार्ग थिएन । वागमति खोलाको किनार भएर वारीपारि गर्दै काठमाडौं पुगिन्थ्यो । अशोक सम्राटले आफ्नो छोरी चारुमतिको विवाह नेपालका राजकुमार देवपाल क्षत्रियसँग गरेका थिए । छोरीको विवाहपश्चात पनि मगधबाट नेपालको राजधानी काठमाडौं जाने आउने क्रममा यस ठाउँमा बास बसेको मान्यता पाइन्छ । पछि भिक्षुबासबाट अपभ्रंश भई भिसवा हुन पुगेको स्थान हो यो । यो स्थान अहिले शहरको बिचमा भएर पनि हरियो रुख विरुवाले गर्दा गर्मीमा पनि शीतल हुन्छ । यहाँ पर्यटकलाई बस्ने स्थानहरू पनि बनाइएका छन् । हामी करिब आधा घण्टाको बसाइँमा त्यहाँका प्राकुतिक सौन्दर्य जो बुद्धको साथमा आफ्नो मोबाइल कैमरामा मेरो भिसवाको पहिलो भ्रमणको स्मिृतिको लागि सुरक्षित गर्छु ।
यो. स्थान परिचयको लागि म मित्र सरलाई धन्यवाद दिदै हामी हाम्रो आफ्नो गन्तव्य घरतिर हिड्छौं ।
हामी कलैयामा त्यहाँको प्रसिद्ध खसीको सेकुवा खाजा खाएर घरतिर हिड्छौं । फर्किने क्रममा मित्र सरको पुरानो तर ताजा मित्र विद्यानन्दजी शीतलपुर निवासी जो फतुवा विजयपुर नगरपालिकाको नगरप्रमुखज्यूको स्वकीय सचिवमा कार्यरत हुनुहुन्छ वहाँसँग भेटने कुरा भएपछि हामी बारा जिल्लाको मलाहीबाट फतुवा विजयपपुर नगरपालिकाको कार्यालय रहेको रौतहटको विजयपुर बजार पुग्छौं । नगर प्रमुखज्यूको सचिवालयमा विद्यान्नदजी हाम्रो परिचय गराउनु हुन्छ । त्यहाँ हामी बज्जिका कक्षा एकको किताब किनिसकिएको र यस पालि कक्षा दुईको बज्जिका किताब किनि सामुदायिक विद्यालयमा अध्यापन गराउन अनुरोध गर्छौं जो स्वीकार्य हुन्छ । विद्यानन्द दाइले खाजा खुवाएपछि हामी छुट्टिन्छौं ।
घर फर्किने क्रममा मेरो भान्जा र मित्र सरको पुरानो साथी शीतलपुरको शिक्षक बिनोदजीसँग भेटघाट गरि हामी करिब साढे सात बजे बेलुकी घर पुगेर यात्रा विश्राम गर्छौं ।
कृष्णनगर, महम्मदपुर, गरूडा न.पा. ५, रौतहट ।