दिपेन्द्र जयसवाल,बारा साउन १७ गते ।
बिगत दुई महिना देखि बन्द रहेको शैक्षिक संस्थाहरू लाई बाराको कलैया उपमहानगरपालिकाले भोलि देखि भौतिक उपस्थितिमै पठनपाठन गराउन अनुमति दिएको छ । कलैया उपमहानगरपालिकाका उपसचिव प्रहलाद वर्णवालले एक सूचना जारी गर्दै स्वास्थ्यको मापदण्ड पालना गरेर उपमहानगर भित्रका बिधालयमा भौतिक उपस्थितिमा पठनपाठन को अनुमति दिएको जानकारी दिएका छन् । नगर शिक्षा समिति को साउन १५ गते बसेको बैठकले साउन १८ गते देखि सम्पूर्ण निजि तथा सामुदायिक बिधालय संचालन को अनुमति दिएको हो ।उपमहानगरले आधाराभूत बिधालयमा कक्षा ४ देखि ८ र माध्यमिक बिधालयमा कक्षा ८ देखि १२ सम्मको कक्षा मात्र संचालन को अनुमति दिएको छ । अन्य कक्षाको हकमा तत्कालको लागि बन्द नै राख्न उपमहानगर ले निर्देशन दिएको हो । विद्यालय संचालन गर्दा विद्यालयको कम्पाउन्ड , कक्षाकोठा , शौचालय , प्रयोगशाला लगायतका ठाउँहरु दैनिक रूपमा सेनिटाईज गर्नु पर्ने छ । एउटा बेन्चमा १ जना मात्र विद्यार्थीलाई राख्नु पर्ने त्यसको लागि कक्षाकोठा , डेस्कबेन्च अपुग भए २ सिफ्टमा कक्षा संचालन गर्नुपर्ने नगर शिक्षा समितिले निर्णय गरेको छ ।