राजिव शाह– सर्लाही,श्रावण २२ गते ।
सर्लाहीको लालबन्दीमा शुक्रबार पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २५ जना भन्दा बढी घाईते भएका छन् । फुटबल खेल्नका लागि खेलाडी बोकेर परवानिपुरतर्फ हिँडेको प्रदेश–२–०३००१ च ०८४६ नम्वरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६ स्थित फुटबल चौर अगाडि दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा लालबन्दी नगरपालिका–९ बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । दाहालको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते भएका अन्य ६ जनालाई थप उपचारका लागि वीरगन्ज र भरतपुर रेफर गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । सामान्य घाईते २२ जनाको लालबन्दीको गढिमाई र मोडेल अस्पतालमा उपचार भइरहेको छ ।