ओम प्रकाश यादव
गरुडा समाचारदाता रौतहट ।
तराई मधेशका जिल्लाहरुमा यतिखेर रासायनिक मलको चरम अभाव भएको छ ।
किसानले आफना खेतमा लगाएको धानबालीलाई हुर्काउन अहिले युरिया मलको आवश्यक्ता छ तर सरकारले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसक्दा रौतहटमा यतिखेर मलको हाहाकार नै मच्चिएको छ ।
जिल्लाको ग्रामीण क्षेत्र देखी लिएर शहरी क्षेत्रका शहर बजारहरुमा समेत युरिया मलको चर्को अभाव भएको छ जसका कारण रौतहटेली किसान समस्यामा परेका छन ।
धानबालीको मुख्य सिजनमै आएर मलको अभाव हुँदा रौतहटका किसान चिन्तित भएका छन ।
सरकारले पर्याप्त मात्रामा युरिया मलको व्यवस्था नगर्दा जिल्लाका किसान मलको चर्को अभाव झेल्न बाध्य छन् । कतिपय स्थानमा लुकाइछिपाइ राखिएको मलका लागि किसान चर्को घाम र वर्षाको वास्ता नगरी दिनभर लाइनमा बस्न विवश छन्। यति दुःख सहेर पनि रित्तो हात फर्किनुपर्ने नियति हटेको छैन ।
किसानका लागि यो नयाँ समस्या भने होइन । नेपालमा बर्सेनि धानबालीका समयमा युरिया मलको चर्को अभाव हुन्छ ।
कृषि प्रधान मुलुकमा यसभन्दा लज्जास्पद विषय हुनै हुनै सक्दैन । खेतीका लागि किसानलाई चाहिने सामान्य मलसम्म उपलब्ध नहुनु कृषि प्रधान मुलुकका लागि दुर्भाग्य हो । बर्सेनि बर्खे धानबालीको समयमा युरिया मलको चर्को अभाव हुँदा पनि यसतर्फ सम्बन्धित निकायको ध्यान नपुग्नु अझ दुःखद् पक्ष हो ।
मागको अनुपातमा अत्यन्त कम मल ल्याएर कनिका छरेजस्तो छरेर मलको हाहाकार मच्चाउन सरकार स्वयं लागिपरेको किसानहरूको गुनासो छ । पर्याप्त मात्रामा मलको आपूर्ति हुन नसकेपछि उपलब्ध मलमा नै लुछाचुँडी गर्न किसानहरू बाध्य हुनुपरेको छ ।
कृषिप्रधान देश नेपालमा धान लगाउने मुख्य समयमा नै रासायनिक मल नपाएपछि किसान नराम्ररी पिरोलिएका छन् । तर, सरकारले किसानको यो अवस्थाप्रति मूकदर्शक बन्नु र मल आपूर्तिलाई सहज बनाउनेतर्फ कुनै ठोस र प्रभावकारी प्रयाससमेत गर्न नसकेको पाइएको छ । खेतीको मुख्य सिजनमा प्रत्येक वर्ष नेपाली किसानले मलको अभाव झेलिरहेका हुन्छन ।
सरकारले कृषि र किसानलाई मुख्य प्राथमिकतामा राखेको भने पनि यी दुवै क्षेत्र जहिले पनि राज्यद्वारा अपहेलित र उपेक्षित भएको गुनासो किसानको छ ।
यसैविच सरकारले किसानलाई अनुदानमा सर्वसुलभ एवं कम मुल्यमा मल खाद्य उपलब्ध गराउने जिम्मा प्रत्येक स्थानीय तहलाई दिएको छ ।
स्थानीय तहले वडाहरुमा सहकारी संस्थाहरु मार्फत किसानलाई सरकारले तोकेको मुल्यमा मल उपलब्ध गराउन जिम्मा दिएको छ । तर सर्वसुल्भ दररेटमा मलखाद्य उपलब्ध गराउने जिम्मा पाएका संस्थाहरुले बढी पैसा कमाउने लोभमा किसानलाई सो मलखाद्य नदिइ व्यापारीसँग विक्रि गरिरहेको पाइएको छ ।
सरकारले अनुदानित मल वितरणका लागि सहकारी संस्थालाई जिम्मेवारी दिएको छ । तर, संस्थाका अधिकांश पदाधिकारी राजनीतिक दलका कार्यकर्ता छन्। यस्ता पदाधिकारीले मल आपूर्ति गरी आफ्ना नजिककालाई जति पनि दिने र अन्यलाई निकै महँगो मूल्यमा उपलब्ध गराउने आरोपसमेत बेलाबखतमा लाग्दै आएको छ ।
दुःखको कुरा सहकारी संस्थाले मल बिक्रीका लागि व्यापारीलाई जिम्मेवारी दिन्छन् । व्यापारीले मनपरी मूल्य तोक्ने गरेका छन् । कालोबजारीका कारण किसान थप मर्कामा परेका छन् । बर्सेनि दोहोरिने यस्ता घटनालाई नियन्त्रण गर्न सरकार संवेदनशील हुनु आवश्यक छ ।
सरकारले प्रति बोरा युरिया मलको मुल्य ९ सय ५० रुपैया तोकेको छ तर सहकारीले व्यापारीसँग मिलेर प्रति बोरा ५० देखी सय रुपैया नाफा लिएर बेचिरहेको किसानहरुले गुनासो गरेका छन ।
किसानलाई दिनुपर्ने मलखाद्य किसानलाई नदिइ बढी पैसा कमाउने लोभमा डिलरले पलसवालालाई दिने गरेको माधोपुरका किसान रामकल्याण रायले बताए ।
किसानसँग मल विक्रि गर्दा सरकारले तोकेको दरमै विक्रि गर्नुपर्ने भएको हुँदा त्यसमा बढी नाफा नहुने भएकोले नै किसानलाई मल दिन आनाकानी गर्ने गरेको किसान यादवको गुनासो छ ।
व्यापारीले सहकारी संस्थासँग सस्तोमा खरिद गरेको मलखाद्य किसानसँग बढी मुल्यमा बेच्ने गरेको किसानको गुनासो छ ।
सहकारीकोे युरिया मल व्यापारीले १२ देखी १३ सयमा विक्रि गर्ने गरेको किसानहरुले बताएका छन ।
धानबालीमा युरिया मल छर्न अहिले अति आवश्यक रहेकोले जति महंगोमा दिए पनि मलखाद्य खरिद गर्नुपर्ने बाध्यता रहेको कटहरिया नगरपालिका खत्वहीयाका किसान हरिशंकर जयसवालले बताए ।
एक त सरकारले सहकारीलाई सातामा एक पटक मात्र मुस्किलले ४० देखी ६० बोरासम्म मात्र युरिया मल दिने गरेको छ तर त्यो पनि किसानले पाउन सकिरहेको छैन जसका कारण यहाँका लाखौ किसान मलको अभावमा छटपटाइ रहेका छन ।
व्यापारीले आफना मनपर्दी तरिकाले युरिया मल विक्रि गरिरहेको भएपनि सम्बन्धित निकायले यसप्रति कुनै ध्यान दिएको छैन ।
डिलरवालाको बदमासीको कारण यहाँका किसानहरु मलखाद्य पाउनबाट बञ्चित भएका छन ।
किसानले पर्याप्त मात्रामा मलखाद्य उपलब्ध गराउन सरकारसँग माग गरेका छन ।