रमेश कुमार यादव, रौतहट
शुक्रवारको दिन धुमधामको साथ मनाईएको विश्वकर्मा पूजाको भोलिपल्ट शनिवारको दिन आफ्नो नजिकको विभिन्न पोखरी, नहर, खोला तथा अन्य जलाशयमा मूर्ति विसर्जन गरिएको छ । शुक्रवार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतिकका रूपमा पूजा गरिएको थियो । साथै, कतिपयले विश्वकर्माको मूर्ति बनाएर पूजा गरेका थिए । पूजाको दिन मूर्ति घरमै राखेर भोलिपल्ट खोला नदीमा विसर्जन गर्ने चलन अनुरूप रौतहटको विभिन्न जलाशयमा शनिवार मूर्ति विसर्जन गरिएको हो । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गरिँदै आएको छ । यस दिनलाई विश्वकर्मा जयन्ती पनि भन्ने गरिन्छ । मुर्ति बिसर्जन गर्ने क्रममा होहल्ला तथा झै–झगडा हुन नदिनको लागी बिभिन्न ठाउँमा प्रहरीको निगरानी बढाईएको थियो । डिजेमा बिभिन्न किसिमका अनर्गल भोजपुरी गितको कारण झै झगडा भएपछि यस्ता कार्यलाई नियन्त्रणमा लिनको लागी जिल्ला प्रहरी कार्यालय रौतहटको एसपि बिनोद घिमिरेको मातहातमा रहेका प्रहरीलाई निगरानी बढाउन निर्देशन समेत दिईएको थिए । बिश्वकर्मा पुजाको दिन उपयोगमा आउने विभिन्न औजारका सामानलाई पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने जस्ता आस्था लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै तयार पारेको विश्वास गरिने गरिन्छ ।