वर्तमानकाल सम्वादाता
रौतहट,१० कार्तिक। रौतहटको गरुडा नगरपालिकामा भएको गरुडा प्रिमियर लिग मेयर कप सिजन ३ को बिजेता गेडहीगुठी भएको छ।
गरुडा नगरपालिकाको सहयोगमा युथ क्लब अफ रौतहटको आयोजनामा शनिबार सम्पन्न लिगको फाइनलमा गेडही गुठीले जिंगडियामाथि ७५ रनको जित निकाल्दै उपाधि उचालेको हो । निर्धारित २० ओभर खेल्दै गेडही गुठीले दिएको २१७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जिंगडिया निर्धारित ओभर नै खेले पनि १४२ रनमा अलआउट भएका थिए। गरुडाको चिनीमिलस्थित क्रिकेट मैदानमा भएको फाइनलमा वडा–२ गेडही गुठीले ब्याटिङ र बलिङ राम्रो प्रदर्शन गरेपछि उपाधि आफ्नो बनाएका थिए। फाइनलमा एक समय गेडही गुठी ६४/८ को नाजुक स्थितिमा थियो ।
धीरज सहनी र मनोज सहनीको जोडीले बलियो साझेदारी गर्दै गेडहीलाई बलियो योगफलतर्फ अग्रसर गराएका हुन् । लिगमा नगरपालिकाका वडास्तरीय ९ र आयोजकको एक गरी कुल १० टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रिमियर लिग विजेता गेडही गुठीले ८१ हजार र जिंगडियाले ४१ हजार रुपैयाँ नगदका साथै कप र अन्य पुरस्कार प्राप्त गरे ।आफ्नो वडाको टिम जितेकोमा खुसी व्यक्त गर्दै वडा नम्बर २ गेडही गुठीका वडाध्यक्ष कृष्णनन्दन सहनीले विजेतालाई थप एक लाख पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरे। गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले विजेतालाई पुरस्कृत गरेका थिए।
सो अवसरमा उनले गरुडा मेयर कप एउटा राम्रो प्रतियोगिताका रूपमा स्थापित हुन पुगेको उल्लेख गर्दै नगरभित्रका खेलाडीले आफ्नो प्रतिभा तिखार्ने राम्रो अवसर पाएको बताए। नगर प्रमुख जैसवालले खेलाडीहरूले देखाएको अनुशासन प्रशंसनीय भएको उल्लेख गर्दै प्रतियोगिताको फाइनलमा दर्शकको उत्साहपूर्ण सहभागिताले आफूलाई पनि हौसला मिलेको अभिव्यक्ति दिए । साथै उनले गरुडमा नगरस्तरीय खेलमैदान निर्माणका लागि आफूले जग्गा खोजिरहेको र छिट्टै सुखद समाचार आउने संकेत रहेको बताएका थिए । कार्यक्रममा आयोजक युथ क्लव अफ रौतहटको अध्यक्ष पिन्टु शर्माको अध्यक्षतामा सभ्य मर्यादित रहित खेल सम्पन्न भएको शर्माले जानकारी दिए ।