वर्तमानकाल सम्वाददाता
कार्तिक १०, रौतहट
रौतहटको देवाही गोनाही नगरपालिकामा भएको बिध्यार्थीहरूद्वारा गरिएको तोडफोडको घटनामा संलग्न रहेका योजनाकारमध्ये एक जना पक्राउ परेका छन्। करिब एक महिना अघि निजि स्वार्थका कारण नगरपालिकामा विद्यार्थीहरूलाई उचालेर नगरपालिकामा तोडफोड गराउनमा समलग्न योजनाकार पक्राउ परेका छन्। यस घटनामा जयकिसान उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय साहलाई सरुवा (स्थानान्तरण)गर्नको लागि विद्यार्थीहरूलाई उक्साइ नगरपालिकाको कार्यालयमा तोडफोड गर्न लगाइएको आरोप लागेको छ।
करिब एक महिना पहिले भएको यस घटनामा संलग्न रहेको आरोपमा १० जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दामा फरार रहेका देवाही गोनाही नगरपालिका वडा नं. ९ निवासी राजेश साह तेलीलाई शुक्रबार राति इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी टोलीले निजकै घरमा छापा मारि पक्राउ गरेको हो। पक्राउ परेका राजेश साह तेली नेपाली साह तेलीका छोरा हुन्।
प्रहरी नायब उपरीक्षक (डिएसपी)राजन कार्कीका अनुसार पक्राउ परेका साहलाई हाल इलाका प्रहरी कार्यालय गरूडामा राखिएको छ। सो घटनाको अनुसन्धानका लागि अन्य संलग्नहरूमाथि पनि निगरानी बढाइएको र कानूनी प्रक्रिया अगाडि बढाइने जानकारी दिइएको छ।
आफ्नो निजि स्वार्थ साधन विद्यार्थीहरूलाई प्रयोग गरी नगरपालिकामा तोडफोड गराउने प्रयासका कारण नगरपालिकामा अन्यौलता सिर्जना भएको थियो। सरुवासँग असन्तुष्ट पक्षले कानूनी बाटो नअपनाई यस्तो हिंसात्मक गतिविधि गरेको स्थानीयहरूले बताए। यो घटनाले विद्यालय र समुदायमा अशान्ति फैलाएको छ भने यस्ता गतिविधिहरू दोहोरिन नदिन स्थानीय प्रशासन सचेत रहेको जनाएको छ। पक्राउ परेका अभियुक्त राजेश साह तेलीलाई कानूनी कारबाही अगाडि बढाइने र दोषी ठहर भए कडा सजाय हुने जनाइएको छ।