राैशन कुमार चाैधरी ।
कार्तिक २४ गते, रौतहट ।
तराई मधेशमा निष्ठा पूर्वक मनाइने छठघाटकाे सजावटको काम सम्पन्न भएको छ । छठ आज रहेकोले यसको तयारी तिव्र पारिएको छ । छठको तयारी शुरु भएसँगै अहिले रौतहटको विभिन्न नदि किनार, नहर, पोखरी आदि ठाउँमा छठघाट निर्माणको काम सम्पन भएकाेछ ।
छठ पुजा गर्नका लागि जिल्लाको बागमति, लालबकैया, चाँदी लगाएतका नदि किनारका साथै पोखरी र नहरको छेउमा छठघाट अर्थात पुजास्थल निर्माण गर्ने काम तिव्र गतिमा भइरहेको देखिएको छ ।
अहिले जिल्लाको ठाउँ ठाउँमा छठ घाटहरुलाई सिंगारिने काम भइरहेको छ । यहाँ रहेको विभिन्न पोखरी, नदि, तलाउ, नहर आदिमा छठ पुजाको लागि सजावटको काममा युवाहरु जुटेको देखिन्छ ।
छठ पुजाका लागि जिल्लाका छठी घाटहरुमा अहिले सरसफाई, सजावट र व्यवस्थापनको काम तिव्र बनाइएको छ ।
बकैया नदिकाे कटहरिया , फत्तेपुर ,बागमति नदिको समनपुर, धर्मपुर, माधोपुर, रजवाडा, पिपरा लगाएत घाटमा छठघाट बनाउने काम भइरहेको छ भने माधोपुर, हरैया, जयनगर, गरुडा, विरनगरा, गौर लगाएतका गाउँमा रहेको पोखरी र तलाउको छेउमा छठघाटको सजावटको काम सम्पन भएकाेछ ।
एकातर्फ छठ घाटको सजावटको काम भइरहेको छ भने अर्को तर्फ यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरुको बजारहरुमा भिड लाग्न थालेको छ ।
छठ पर्वमा बाँस तथा माटोबाट बनेको सामानहरु शुद्ध मानिने गरेकोले यसको माग अहिले बजारमा बढेको छ ।
पहिले पहिले तराई मधेशमा मात्र मनाइने छठ पर्वको लोकप्रियता झन बढेको छ । अहिले यो पर्व विस्तार हुँदै पहाडी समुदायका व्यक्तिहरु समेत मनाउने गर्दछन् । विभिन्न भाकल पुरा गर्न छठ पर्व मनाइने गरिन्छ भने धेरैजनाले अरुलाई देखेर पनि मनाउने गर्दछन् ।
छठ पर्व निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ ।
कात्तिक शुक्ल पक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन अर्थात् दिनलाई नहाए खाए (नुहाउने खाने) दिन पनि भन्ने गरिन्छ ।
छठ पर्बको पहिलो दिन छठका व्रतालुले खोला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भइ बिहान र बेलुकी लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाने गर्छन ।
त्यस्तै छठको दोश्रो दिन अर्थात् पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन व्रतालु दिनभरि निर्जला व्रत बस्छन् र साँझपख नुहाएर चोखो हुँदै आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेली र सख्खरको खीर (रसीआव) तथा गहँुको रोटी प्रसादका रुपमा पकाउँछन् ।
छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ । आजकाे दिन ब्रतालु महिलाले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाई र दोस्रोदिन सप्तमीमा बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा सकिन्छ ।
छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिने गरिन्छ । अर्घ दिनका लागि ब्रतालुले गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गर्छन् । यस्तै मुला, गाजर, बेसारको हरियो बोट, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उँखु , बोडीलगायतका फलफूल पनि सूर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ ।
अत्यन्त कठिन र निष्ठापूर्वक मनाइने छठ पर्वमा सन्तान र परिवारको सुख शान्ति तथा रक्षाको कामना गर्दै छठी माता र सूर्य भवानको पूजा गरिन्छ । छठ व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने पनि धार्मीक जनविश्वास रही आएको छ ।
छठकाे यति खेर डिजे बाजा र माईकहरुमा बज्ने गरेको छठ गीतले पुरै तराई नै गुञ्जिएको छ ।


