८ मंसिर, वीरगञ्ज । हरवाचरवा ‘बाध्यकारी बधुवा श्रमिक’ले पाँच बुँदे मागसहित प्रदेश नं २ का २४ वटा पालिकामा ज्ञापन पत्र बुझाएका छन् । वीरगञ्ज महानगरपालिकासहित २४ वटा पालिकामा गठन भएका हरवाचरवा अधिकार मञ्चले ज्ञापनपत्र बुझाएका हुन् ।महोत्तरी र सर्लाही बाहेक प्रदेश नं २ का ६ जिल्लाको चार/चारवटा पालिकामा मञ्च गठन भएको छ । सोही मञ्चले आ-आफ्नो पालिकामा ज्ञापनपत्र बुझाएको वृजलाल पासवानले जानकारी दिए ।‘ग्रामीण क्षेत्रमा जमीनदारले अझै पनि हरवाचरवा राख्ने चलन छ । बिहान बेलुका जुनसुकै समयमा काममा बोलाउँछन्, घर तथा खेतीको असीमित काम गर्नुपर्छ’ उनले भने, ‘तर उनीहरूलाई थोरै जमीनमा खेती गर्न दिइन्छ वा एकपटक ऋण दिइएको हुन्छ ।’अझैसम्म दास प्रथाको अवशेषको रुपमा कृषि बधुवा श्रमिकहरू हरवाचरवाको रुपमा रहेको ज्ञापनपत्रमा उल्लेख छ । उनीहरूले हरवाचरवाहरूको नागरिकता, जन्मदर्ता, सामाजिक सुरक्षा भत्तालगायतका सवालहरू सहज ढंगले सम्बोधन गरिदिन, पहिचान, प्रमाणीकरण र परिचयपत्र वितरणका लागि पहल गर्न, हरवाचरवा भूमिहीन भएकोले गर्दा भूमिमाथि उनीहरूको स्वामित्व कायम गराउन, हरवाचरवाको आयआर्जन प्रबर्द्धन गर्नका लागि जीविकोपार्जन सिप विकास तालिममा उनीहरूको पहुँच कायम गरिदिन र नेपाल सरकारको नीति अनुसार ‘समान कामको समान ज्याला’ कायम गर्दै श्रम शोषणको अन्त्य गर्न माग गरेको छ ।नेपालको पूर्वी तराईका जिल्लामा हरवाचरवा जस्तो कु-प्रथा कायम रहेको सरोकारवाला बताउँछन् । हरवा चरवा अधिकार मञ्चले गरेको एक अध्ययन अनुसार सिराहा, सप्तरी, धनुषा र सुनसरी जिल्लामा मात्रै एक लाखको हाराहारीमा जनसंख्या छ । पछिल्लो एक वर्षदेखि मञ्चले प्रदेश नं २ को ८ वटै जिल्लामा मञ्च गठन गर्नेलगायत क्रियाकलाप सञ्चालन गरिरहेको छ ।मञ्चका महासचिव लगेन्द्र सदाले सुदूरपश्चिमको कमलरी प्रथा मुक्त गर्ने सरकारले पूर्वको हरवा चरवा प्रथालाई बेवास्ता गरेको बताए । ‘छोराछोरीले गाई भैंसी, बाख्रा चराउने, बुवाले जोत्ने, मल बीउ हाल्नेलगायत खेतीपाती सम्हाल्ने, आमाले घरको काम सघाउनुपर्ने । साहुको काम नसकेसम्म ज्याला मजदुरीका लागि जान पनि नदिने गरिन्छ’ महासचिव सदाले भने, ‘ट्याक्टरले खेत जोत्छन् भने पनि छोरालाई ट्याक्टर चलाउन लगाउँछन् । यस्तो कु-प्रथाको अन्त्य गराउन राज्यको कुनै भूमिका देखिएको छैन ।’हरवाचरवा को हो ? भनेर पहिचान दिलाउन राज्यले छुट्टै गणना गर्नुपर्ने माग उनको छ ।
नागरिकता र भूमि दिलाउन हरवाचरवाको माग
2 Min Read