मलाई लागेको थियो कि अध्यक्ष उपेन्द्र यादवजीले हिजो (असार २९) को बैठकमा चारजना मन्त्रीको कामको विषयमा ब्रिफिङ गर्नु हुन्छ होला । कुनै पनि व्यक्ति सार्वजनिक पदमा जाँदा त्यसको समीक्षा हुनु आवश्यक हुन्छ । उसले त्यहाँ गएर के के ग¥यो, त्यो कुरा जनता समक्ष आउनु पर्छ । म मन्त्रीमा बहाली हुँदा देशभरका सडकको अवस्था जर्जर थियो । १० वर्ष पुराना सडकहरुको अवस्था जर्जर भएको थियो, त्यसमा पक्की सडक बनाउने काम अगाडि बढेको छ । सिन्धुली सडकलाई हेर्नुस्, वीरगञ्जको हाइ–वे हेर्नुस् ।अध्यक्षज्यू, जनताको काम हुनैपर्छ भनेर अरोरात्र खटेर कामहरुलाई अगाडि बढाएको थिएँ । धेरै कामले पूर्णता पनि पाएका छन्, केही कामको पूर्णता हुन बाँकी छ । चालु आर्थिक वर्षमा राष्ट्रिय राजमार्गका लागि ४५ करोड रुपैयाँमात्र बजेट थियो । अध्यक्ष (उपेन्द्र यादव) जी, तपाईले यो कुरा थाहा पाउन एकदमै जरुरी छ किनभने तपाई चुनावी भाषणमा जानुहुन्छ । यसपटकको बजेटमा मैले एक अर्ब ४५ करोड रुपँयाँ राखेको छु । मन्त्रालयमा मैले रेडबुक पल्टाएर हेर्दा मधेसको विकासको अवस्था जर्जर थियो । थुप्रै सडकमा धुलो उडिरहेको थयो । मधेसका विभिन्न ठाउँमा फोर लाइनको सडक बनाउन बजेट राखेको छु ।
चन्द्रपुर–गौरमा ४० किलोमिटरको फोर लाइन सडक बनाउन प्रमाणीकरण गरेर बजेट राखेको छु । यसलाई तपाईहरु चुनावमा भाषण बनाउनु होला । त्यस्तै, नवलपुर–मलंगवा–सोनवर्षा ३० किलोमिटर रोडका लागि मैले १५ करोड रुपैयाँ बजेट राखेर योजनालाई अगाडि बढाएको छु । त्यहाँ वर्षौँदेखि बजेट थिएन । सिरहा–माडर सडकलाई फोर लाइनको बनाउनका लागि ३० करोड रुपैयाँ बजेट राखेर त्यो योजनालाई पनि अगाडि बढाएको छु । रुपनी–राजविराज जहाँ अध्यक्ष (उपेन्द्र) जीको क्षेत्र हो, त्यहाँ त्यो सडकका लागि फोर लाइन बनाउन अध्यक्षजीबाटै शिलान्यास गराएर अगाडि बढाएको छु ।
सहायक राजमार्गका लागि विगतमा चार अर्ब ५१ करोड रुपैयाँ बजेट छुट्याइन्थ्यो । मैले त्यसलाई पाँच अर्ब २८ करोड रुपैयाँ बनाएको छु । पहिले सहायक राजमार्गमा २२८ वटा सडकमात्र थियो । मैले ८०३ पु¥याएको छु । मैले के खराबी गरेको छु ? के यो काम खराब हो ? मैले दिनरात काम गरेको छु । मलाई प्रेसर थिएन, प्रेसर भयो अध्यक्षजी । कहाँ २२८ सहायक राजमार्ग, कहाँ ८०३ सहायक राजमार्ग ! यतिको फरक परेको छ । यसलाई तपाईहरुले चुनावमा प्रचार गर्नुहोला ।
मधेस प्रदेशमा यसअघि भौतिकमा ३० करोडको मात्र बजेट हुन्थ्यो । मैले त्यसलाई बढाएर एक अर्ब ५० करोड पु¥याएको छु । विगतमा एकसय किलोमिटर सडक कालोपत्र गर्ने योजना हुन्थ्यो, मैले त्यसलाई १५ सय किलोमिटर पु¥याएको छु । हुलाकी सडक निर्माण द्रुत गतिमा अगाडि बढेको छ । अध्यक्षज्यूको समक्ष माननीय सांसदहरुको निकै गुनासो जाने गरेको छ तर म मन्त्री भएपछि आफूले गरेको कामको बारेमा हरेक १५ दिनमा अधयक्षज्यूलाई ब्रिफिङ गर्थेँ । मैले यो यो काम गरेँ, फलानो काम अगाडि बढेको छ, फलानो काममा बाधा भइरहेको छ लगायत हरेक कुरा मैले अधयक्षज्यूलाई जानकारी गराउँदै आइरहेको थिएँ ।
मन्त्री छाड्नुभन्दा एक दिन पहिले पनि अध्यक्षज्यूलाई मैले आफूले गरेको कामको बारेमा जानकारी गराएको थिएँ । सहायक राजमार्ग अर्थ मन्त्रालयले प्रदेशलाई दिन खोजेको थियो । मैले त्यसमा अडान लिएँ । अध्यक्षज्यूसहित प्रचण्डलगायतका नेताहरुको बीचमा मैले यो कुरा राखेर त्यसलाई रोक्न लगाएको थिएँ । राजमार्ग निर्माण गर्ने हैसियत प्रदेश सरकारको छैन । मलाई माधवकुमार नेपालबाट दबाब थियो, प्रधानमन्त्री देउवाबाट दबाब थियो । मलाई प्रचण्डबाट दबाब थियो तर मैले यो कुरा अध्यक्षजीलाई कहिल्यै पनि भनेको थिइनँ । पाँच वर्षमा प्रदेश सरकारले के ग¥यो, त्यसको हिसाब छैन । त्यहाँका मन्त्री, सांसदले के के गर्नुभयो त्यसको कुनै हिसाब छैन तर मैले हरेक सांसदको मन राख्नका लागि केही केही योजना सबैको राखेको छु ।
जुनजुन सांसद तथा नेता मेरो सम्पर्कमा आउनुभयो, ती सबैका लागि केही न केही योजना मैले राखेको छु । यदि सबै सडक बने भने इतिहासमा यस्तो कहिल्यै भएको थिएन र भविष्यमा पनि यस्तो हुँदैन । माननीय रामबाबु यादव, प्रमोद साह, रामसहाय यादवलगायत प्रदीप यादव, हरिनारायण रौनियार जति सांसदहरु हुनुहुन्छ मैले सबैका लागि केही केही योजना राखेको छु । बारामा १५ देखि २५ वटा सडक योजना राखेको छु । रौतहटमा पनि २० भन्दा बढी योजना राखेको छु । पर्सामा पनि प्रदीप यादव र रौनियारजीले भनेको अनुसार योजना राखिदिएको छु ।
मेरो कामको एमाले र काँग्रेसका नेताहरुले प्रशंसा गरिरहेका थिए । म निकै प्रफुल्लित थिएँ । अझै काम गर्ने हौसला बढिरहेको थियो । सर्लाहीका अशोक यादवले आफ्नो प्रदेशमा के के गर्नुभयो, आफ्नो क्षेत्रमा के के गर्नुभयो थाहा छैन तर उहाँले भनेअनुसार पनि योजनाहरु राखिदिएको छु । उहाँले ललितपुरमा घर किन्नुभएको छ । त्यो घर नजिक सडक थिएन । मलाई उहाँले भन्न आउनु भयो । मैले त्यहाँ घरनजिकबाट सकड बनाउन लगाइदिएँ । तैपनि उहाँले मलाई यस्तो गाली गर्नुभयो, त्यो जीवनमा मैले कहिल्यै बिर्सिन्न ।
मैले सांसद हरि रौनियारको एउटा पुललाई ब्ल्याक लिस्टमा राखेको छु । उहाँ यहीँ हुनुहुन्छ । उहाँलाई तकलिफ भएको होला । तर तकलिफ नगर्नु होला । जनताका लागि यो सबै गर्नुप¥यो । कमला पुल मधेसको लाइफलाइन हो । त्यो अहिले भत्किएको छ । त्यो पुल यदि बनेन भने त्यसको सबै दोष रौनियारलाई नै जान्छ ।
अध्यक्षजी (उपेन्द्र यादव) को क्षेत्रमा त मैले गल्लीगल्लीमा सडक बनाईदिएको छु । प्रदेशमा सोही क्षेत्रका मन्त्री पनि छन् । उपेन्द्र यादवले नै मन्त्री बनाउनु भएको छ तर उहाँले एउटा पनि सडक उपेन्द्र यादवबाट शिलान्यास गराउन सक्नुभएको छैन ।
स्थानीय चुनाव
स्थानीय चुनावको समीक्षा अवश्य हुनुपर्छ । अहिले समीक्षा भएन भने आउने चुनावमा जसले अन्तर्घात ग¥यो, त्यसमाथि अर्को अन्तर्घात हुनसक्छ । त्यसैले अहिले नै त्यसको समीक्षा हुनु जरुरी छ । टिकट वितरणमा मैले धाँधली गरेको आरोप पनि लाग्यो । एकजना केन्द्रीय सदस्यले त यतिसम्म भन्नुभयो कि यही सब गरेर रेणु यादवको गुजारा चल्छ । मलाई निकै दुःख लागेको थियो । टिकट वितरण गर्ने सर्कुलरमा नै लेखिएको थियो– जहाँ विवाद हुन्छ, त्यो विवाद एक तह माथिकाले टुङ्गो लगाउनेछ । तर त्यो अनुसार भएन ।
जो केन्द्रीय सदस्य हुनुहुन्छ, कसैले पनि आफ्नो गाउँमा टिकट वितरण गर्न पाएनन् । स्थानीय नेता तथा केन्द्रीय सदस्यसँगको सल्लाहमा टिकट वितरण गर्ने सहमति थियो तर त्यस्तो कहीँ भएन ।
मैले एकदिन पहिले टिकट लिएर बर्दिवास गएँ । त्यहाँ जिल्ला तथा प्रदेशका थुप्रै साथीलाई खबर गरेर बोलाएका थिए । मैले धेरैजनालाई फोन गरेर सोधेँ, टिकट लिएर कहाँ आउने ? कसैले पार्टी कार्यालयमा आउन भने, कसैले घरमै आउन भने । कृषि मन्त्री विजय यादव, अर्थ मन्त्री शैलेन्द्र साहसँग भेट भयो । मैले भनेँ– टिकट आइसकेको छ, त्यसलाई कसरी वितरण गर्ने ? कुन जिल्लाबाट सुरु गर्ने ?
जहाँ जहाँ समस्या छैन त्यहाँ त्यहाँ वितरण गर्दै जाउँ पनि भनेँ । उहाँहरुले मसँग टिकट छैन भने कसरी वितरण गर्ने भन्नुभयो । उहाँहरुको चाहना थियो कि टिकट हातमै आओस् । उहाँहरुको योजना नै थियो कि टिकट आफ्नो हातमा लिने ।
मैले अध्यक्षजीलाई फोन गरेर भनेँ– उहाँहरुले टिकट वितरण गर्न मान्नु भएको छैन, म के गरौैं ? अध्यक्षजीले पनि सहमति बनाएर वितरण गर्ने प्रयास गर्नुस् भन्नुभयो ।
मैले जिल्लाका अध्यक्षहरुलाई फोन गरेर बोलाएँ । जनकपुरमा कार्यकारिणी समितिको बैठक बस्यो । मैले रौतहटबाट टिकट वितरण सुरु गरेँ । नेताहरुले आ–आफ्नो तरिकाले टिकट बुझ्न थाले । सकभर भर्पाइ लिएर टिकट दिइरहेका थिए । टिकट वितरणमा निकै विवाद भइरहेको थियो । महोत्तरी, सर्लाहीलगायतका जिल्लाको टिकट वितरण भयो । धनुषामा अध्यक्षजीले भनेको आधारमै टिकट वितरण गरेको थिएँ । केही टिकट बाँकी रह्यो, त्यो टिकट पशुपति यादवको हातमा दिइसकेको थिएँ ।
सिरहामा टिकट वितरण गर्न गएँ । त्यहाँ शत्रुधन कोइरी, राजु गुप्ता, सुरेश मण्डल हुनुहुन्थ्यो । त्यहाँ विजय यादव र राजकिशोर यादव थिएनन् । मैले जिल्ला अध्यक्षलाई टिकट दिएँ । राजकिशोरले ३०० टिकट माग गर्नुभएको थियो तर दिइएन । राजकिशोर हामीसँग रहे पनि नरहे पनि उहाँमाथि निकै अन्याय भएको हो । विजय यादवले ३० वटा टिकट लिएर जानु भयो । केही खोसाखोस नै भयो त्यहाँ ।
सप्तरीको सबै टिकट शैलेन्द्र साह र शम्भु झाले लिनुभएको थियो । मैले सप्तरीका तीन टिकटमात्र लिएर दिएको थिएँ । अध्यक्षजीले निर्देशन दिएअनुसार नै सबै टिकट वितरण गरेँ । तर ममाथि टिकट बेचेको आरोप लगाईयो । मैले टिकट बेचेर खाने अवस्था छैन । मेरो यस्तो अवस्था छ कि पाँच पुस्ता बसेर खाए पनि पुग्छ । टिकट बेचेर खाने मेरो दिन आएको छैन । पार्टीमा भएका कतिपय नेताहरुका कसैको भतिजा, कसैको बुहारी, कसैको भाइ कमल छापबाट चुनाव लडेका थिए र ती नेताहरुले छाता छापका लागि भोट मागेको थिएनन् । मैले पार्टीप्रति बफादार भएर टिकट वितरण गरेको छु ।
कसले फोड्यो पार्टी ?
तपाईँहरुले हिजो बाबुराम र महेन्द्र राय यादवको बारेमा निकै आलोचना गर्नुभयो । के उहाँ दुई जनाले मात्र पार्टी विभाजन गर्नुभएको हो त ? पार्टी फुटाउनका लागि गरिएको हस्ताक्षरको फोटोकपी मसँग छ । पार्टी फोड्नका लागि क–कसले हस्ताक्षर गरेका थिए, त्यसको हस्ताक्षर मसँग छ । त्यसमा ६ जनाले हस्ताक्षर गरेका छन् । केही नेता आफूलाई तेजतर्रार देखाएर केही महिला सांसदलाई बलिको बोका बनाइएको छ । अध्यक्षजी ! अहिले जसरी घुर्की देखाएपछि मन्त्रीहरु परिवर्तन भयो, के त्यसैगरी फेरि परिवर्तन गर्नुहुन्छ त ? ६ जनाले हस्ताक्षर गरेका छन् तर तपाईहरुले सिर्फ बाबुराम र महेन्द्र रायलाई आरोप लगाउनु भएको छ । म यो हस्ताक्षर लिएर चुनावमा जान्छु ।
संसदमा विधेयक पेस गर्ने कुरा थियो । मन्त्री फिर्ता भएको दिन आठ बजे मलाई अध्यक्षजीको फोन आउँछ कि तपाईलाई सरकारबाट फिर्ता बोलाइएको छ । तपाईहरुलाई जब मन लाग्यो मन्त्री पठाइदिने, जब मन लाग्यो फिर्ता बोलाइदिने ! यस्तो कहीँ हुन्छ ? के हामी पार्टीको हरवा चरवा हो ? पार्टी क–कसले फोरिरहेका थिए, त्यसको विश्लेषण किन भएन ? पार्टीले मलाई सरकारबाट फिर्ता बोलाएको छ, त्यसमा मलाई रत्तिभर दुःख छैन । तर विधि मिलेन । समावेसीको कुरा तपाईले गर्ने तर महिलालाई मन्त्रीबाट फिर्ता बोलाउनुभयो, त्यहाँ महिला नै किन राख्नु भएन ?
तपाई सरकारबाट मन्त्री फिर्ता बोलाउँदा तीन जनालाई मात्र किन ? चारै जनालाई किन फिर्ता बोलाउनु भएन ? कहिले बाबुरामको मान्छे मन्त्री र राजदूत बन्छन्, कहिले अशोक राईका मान्छे मन्त्री र राजदूत बन्छन् तर के मधेसीले यहाँ भोटमात्र दिन आएको हो त ? राजेन्द्र श्रेष्ठको वुद्धि विवेकमाथि कुनै प्रश्न उठाउदिनँ, उहाँ निकै वुद्धिमान हुनुहुन्छ । संघीयतलाई बचाउनु थियो, त्यही भएर उहाँलाई मन्त्रीबाट फिर्ता नबोलाएको अध्यक्षजीले प्रतिकृया दिनुभएको थियो । मलाई खुशी लाग्यो, कमसे कम एकजना विद्वान त हाम्रो पार्टीमा छन् । उहाँले संघीयता बचाउन बहस गर्नुहुन्छ, हामी मधेसी सबै थपडी बजाएर बस्छौं ।
तपाई (उपेन्द्र यादव)ले आफूलाई लाई के सम्झनु भएको छ ? मधेसमा विभेदको पाठ पढाएर मधेसलाई बलिको बोका कहिलेसम्म बनाउनु हुन्छ ? कतिपयलाई लागेको होला, रेणु यादव मन्त्रीबाट हटेको कारण बौखलाहटमा यस्तो बोलिरहेकी छ तर होइन, म तीन पटक मन्त्री भइसकेको छु । यही पार्टीबाट दुई पटक मन्त्री बनेको छु । कसैको दाया, मायाले होइन, आफ्नो बलबुताले बनेको हुँ । पार्टीले मलाई मन्त्री बनाएकोमा म पार्टीप्रति अभारी छु । बिना जानकारी मन्त्री फिर्ता बोलाउनु हुन्छ, के मधेसीलाई नालायक बनाउनका लागि ६ महिनाका लागि मन्त्री बनाउनु भएको थियो ? के तपाईको नजरमा मधेसी नालायक हुन् ? तपाईले चारै जनालाई मन्त्रीबाट किन फिर्ता बोलाउनु भएन ? त्यसको जवाफ तपाईले दिनुपर्छ अध्यक्षज्यू ।
(जसपाले मन्त्रीबाट हटाइसकेपछि वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकको बन्दसत्रमा रेणु यादवले राखेको विचारको सम्पादित अंश ।)