पवन उपाध्याय
मंसिर ११, रौतहट
‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान रौतहटमा सोमबार अर्थात् नोभेम्बर २५ बाट सुरु भएको छ । अभियानको मुख्य उद्देश्य लैंगिक हिंसा विरुद्ध जनचेतना फैलाउनु, हिंसा पीडितहरूलाई न्यायमा पहुँच दिलाउनु, तथा समाजमा रहेका भेदभावपूर्ण नीतिहरू अन्त्य गर्दै लैंगिक समानता कायम गर्नु रहेको छ ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा जिल्ला प्रहरी कार्यालय रौतहट महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (लैङ्किक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समिति)को आयोजना र विभिन्न सामाजिक संस्थाहरूको सहकार्यमा यस अभियानको शुभारम्भ भएको हो । यस कार्यक्रमलाई इस्लामिक रिलिफ नेपाल, इस्लामिक रिलिफ क्यानडा, आशिष सामाजिक सेवा नेपाल, आरडिसी नेपाल, र गरुडा नगरपालिकाको संयुक्त पहलमा सम्पन्न गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले महिलामाथि हुने हिंसालाई अन्त्य गर्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनु भएको थिए ।
उहाँले नेपालको संविधानले महिलाका हक अधिकार सुनिश्चित गरे पनि अझैपनि महिला हिंसामा कमी आउन नसकेको तर्फ चिन्ता व्यक्त गर्नु भएको थियो । “संविधानले महिला अधिकारका लागि छुट्टै व्यवस्था गरेको भए पनि समाजमा भएका पुराना सोच र प्रवृत्तिहरू परिवर्तन नगरेसम्म वास्तविक परिवर्तन सम्भव छैन,“ नगर प्रमुख जैसवालले भन्नुभयो । कार्यक्रमका सहभागीहरूले हिंसा पीडित महिलाहरूले न्यायमा सहज पहुँच पाउन नसकेको उल्लेख गर्दै न्यायिक प्रक्रियामा सुधार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
सहभागीहरूले नेपालको संविधान २०७२ को धारा ३८ अनुसार महिलाको हक कार्यान्वयन गर्न राज्यले ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई रोक्न, हिंसामा परेका महिलालाई न्याय दिलाउन, र सामाजिक रूपान्तरणका लागि समुदायस्तरबाटै सचेतना फैलाउनुपर्ने आवश्यकता औँल्यार्ईएको थियो । साथै, हिंसाका पीडितहरूलाई सहयोग पु¥याउनका लागि स्थानीय प्रशासन, गैरसरकारी संस्था, र सामुदायिक संगठनहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिईएको थियो ।
१६ दिने अभियानको क्रममा विशेष रूपमा निम्न मागहरूलाई अगाडि सारिएको छ ः भेदभावपूर्ण नीतिहरू खारेज गर्नुपर्नेः सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास, र मूल्यमान्यताहरू तत्काल खारेज गर्नुपर्ने । कानुनको प्रभावकारी कार्यान्वयनः महिलाका हक अधिकार सुनिश्चित गर्न संविधान र कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने । सामाजिक रूपान्तरणः लैंगिक समानताका लागि समुदाय स्तरदेखि राष्ट्रिय तहसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने । अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्नुपर्नेः राज्यले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताहरू पूरा गर्नुपर्ने ।
१६ दिने अभियान अन्तर्गत रौतहटमा विभिन्न जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, र सचेतना ¥यालीहरू आयोजना गरिने जनाइएको छ । महिलामाथिको हिंसा अन्त्य गर्न समुदायमा सकारात्मक सोच र व्यवहार परिवर्तन गराउन अभियानका गतिविधिहरूले ठोस प्रभाव पार्ने अपेक्षा गरिएको छ । कार्यक्रममा विभिन्न वक्ताहरूले नेपालको संविधान २०७२ को
धारा ३८ अन्तर्गत महिलाको हकको प्रभावकारी कार्यान्वयनमा जोड दिने कुरा गरेका थिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय गरुडा डिएसपि राजन कार्की, जिल्ला प्रहरी कार्यालय रौतहट महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको ईन्चार्ज प्रहरी नायब निरिक्षक दिपिका ओझा, गरुडा नगरपालिकाको वार्ड नं.३ का वडाअध्यक्ष अम्बिका सहनी, बिनोद श्रेष्ठ, कोपिला तिमिल्सिना, सुनिल कुमार जैसवाल लगायत सयकडौंको उपस्थिती रहेको थियो । यो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीप (CWGL) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो ।
त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३३ वर्ष भइसकेको छ । लैंगिक हिंसाविरुद्धको यो अभियानलाई सफल पार्न सबै क्षेत्र र तहबाट सहकार्य हुनुपर्नेमा जोड दिँदै कार्यक्रम समापन गरिएको थियो ।