जनकपुर,२० वैशाख। हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले जनाएको छ ।
निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनर्निर्माण सम्पन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएकोमा उक्त निर्माण कम्पनीले महिनादिन अघिदेखि काम ठप्प गरेपछि ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए ।
यसअघि निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनसम्म पुगेको थियो । पुल निर्माणको क्रममा पुलको दुईवटा पाएर भासिएपछि निर्माण कम्पनीले बीमाबापतको रकम दाबी गरेको थियो । हाल उक्त मुद्दा अदालतमा विचाराधीन भएकाले निर्माण सम्झौता र कारबाही प्रक्रिया के हुने भन्नेबारेमा निर्देशनालयले कानुनी परामर्श गरिरहेको प्रमुख महतोले बताए ।
पुल निर्माणको अन्तिम चरणमा रहेको बेला बाढीले क्षति गरेपछि कम्पनीले क्षतिबापत बीमाबाट पाउनुपर्ने आठ करोड रकम नपाएपछि आफूहरू अदालत जानुपरेको निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ का साइट इञ्चार्ज सुदीप थापाले बताए । उक्त रकम प्राप्त नगर्दा आर्थिक अभावले पुल निर्माणको बाँकी काम रोक्नुपरेको उनले जानकारी दिए ।
२०६८ सालमा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो । तर, पटक–पटक म्याद थपेर १३ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै छ ।‘‘पप्पु कन्ट्रक्सन’ले तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम ‘लुम्बिनी बिल्डर्स’ले गर्दै आएको थियो । यसबीचमा अन्तिमपटकका लागि २०८२ साल असारसम्मको थपिएको म्याद पनि त्यत्तिकै गुज्रिएको छ ।
स्थानीयले वर्षौँदेखि कमलामा काम चलाउ काठेपुल बनाएर आवतजावत गरिरहे पनि वर्षायाममा भने सोही पुल बगाएर सधैँ सास्ती भोग्नुपरेको छ ।
तराई–मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी सडक मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो ।