रमेश कुमार यादब
मंसिर ११, रौतहट
रौतहट जिल्लाको राजदेवी नगरपालिका–२ हजमिनियामा अवस्थित श्री रामनरेश लक्ष्मण माध्यमिक विद्यालयमा शैक्षिक सामग्री
वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । मधेशी दलित गैर सरकारी संस्था महासंघ रौतहटको पहल र लेटर डे सैंट च्यारिटी संस्थाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत १ कक्षा देखि १० कक्षासम्मका ७८६ छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्कुल ब्याग, नोटबुक, हाईजेनिक किट, स्वास्थ्य किट, साथै १०० वटा डेस्क र बेन्च हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजित विशेष समारोहका बीच नगर प्रमुख
भिखारी प्रसाद यादव, लेटर डे सैंट च्यारिटीका निर्देशक रिचार्ड नुफर र उनकी श्रीमती लोरी नुफरले विद्यालयका प्रधानाध्यापक संजय प्रसाद यादवलाई सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको अध्यक्षता मधेशी दलित गैरसरकारी संस्था महासंघका सल्लाहकार एवं कार्यक्रम अध्यक्ष कमल देव हजराले गरेका थिए । प्रमुख अतिथि नगर प्रमुख भिखारी प्रसाद यादवले सामग्री वितरणमा सहयोग गर्ने अमेरिकी पाहुनाहरू रिचार्ड नुफर र उनकी श्रीमती लोरी नुफरलाई विशेष धन्यवाद व्यक्त गरेका थिए । वहाँले भने यस विद्यालयलाई प्राप्त सहयोगले यहाँका विद्यार्थीहरुका लागि ठूलो योगदान पुर्याउने छ ।
उनले यस विद्यालयलाई जस्तै नगरभित्र रहेका अन्य २० विद्यालयलाई पनि सहयोग गर्न आग्रह गर्दै शिक्षालाई आफ्नो कार्यकालको उच्च प्राथमिकतामा राखेको बताएका थिए । शिक्षा क्षेत्र भएको कुनै कमि कमजोरीलाई आफ्नो स्विकार्य हुने छैन बताउनु भएको थियो । साथै यस प्रकारको सहयोग गराउने सहयोगी हाथलाई बिशेष धन्यबाद दिएका थिए र अगामी दिनहरुमा पनि सहयोग गर्ने हो भनि आशाबादी रहेको नगर प्रमुख यादबले बताउनु भएको थियो । त्यसतै कार्यक्रमका बिशिष्ट अतिथि रिचार्ड नुफरले शिक्षाको महत्वलाई जोड दिँदै सहयोग गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताए ।
उनले यस प्रकारका सहकार्यले विद्यार्थीहरूको भविष्य उज्जवल बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए । शिक्षा हाम्रोसंग हासिल गरी राम्रो मान्छे बन्ने प्रेरित गरेका थिए । त्यसैगरी, मधेशी दलित गैरसरकारी संस्था महासंघ रौतहट शाखाका अध्यक्ष उदयनारायण रामले यो विद्यालयबाट आफूले शिक्षा हासिल गरेको स्मरण गर्दै विद्यालयलाई सहयोग गर्न पाउँदा गर्व महसुस भएको बताए।
उनले विद्यालयको शैक्षिक स्तर उकास्न थप योगदान पुर्याउने प्रतिबद्धता जनाए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक संजय प्रसाद यादवले सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले भने, “विद्यार्थीहरुको पठनपाठनमा सुधार ल्याउन यो सहयोगले ठूलो महत्त्व राख्छ। नयाँ डेस्क र बेन्चले पठनपाठनको वातावरणलाई थप सुधार गर्नेछ ।“ बिधालयमा भएका कमिकमजोरीलाई थप सुधार गरी सहज बनाई दिन प्रधानाध्यापक यादबले नगर प्रमुख यादबलाई आग्रह समेत गर्नु भएका थिए ।
कार्यक्रममा उपप्रमुख राजकुमारी देवी साह, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, नरेन्द्र पासवान, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीहरू, राष्टिूय कार्यक्रम संयोजक ई. नितिन प्रियदर्शी, राष्ट्रिय उपाध्यक्ष अरुण कुमार मण्डल, महासचिव अनिल कुमार हजरा र कोषाध्यक्ष गिता पासवान जस्ता प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी सबैले विद्यालयमा प्रदान गरिएको सहयोगले विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा
गरेका थिए । शिक्षा क्षेत्रलाई समृद्ध बनाउन यसप्रकारका कार्यक्रमले विद्यालयहरूमा आवश्यक स्रोत साधनको उपलब्धता सुनिश्चित गर्न भूमिका खेल्ने विश्वास लिइएको छ । साथै यस कार्यक्रमले शिक्षा क्षेत्रको विकासमा समुदायको भूमिका र अन्तर्राष्ट्रिय सहयोगको महत्त्व झल्काएको छ ।