रमेश कुमार यादब
चैत ०९ गते ।
शनिवार विहानको असिना पानी र हावाहुरीका कारण रौतहट जिल्लाका विभिन्न स्थानमा बालीनालीमा ठूलो नोक्सानी पुगेको छ। विशेष गरी बृन्दावन नगरपालिकाको वार्ड नं. २ धनगढि टोलमा असिना पानीले मकै सहित दलहन, तेलहन, लसुन, प्याज तथा अन्य तरकारी खेतीमा गम्भीर क्षति पु¥याएको छ।
अचानक मौसम परिवर्तनले किसान मारमा
शनिवार विहानको मौसम एक्कासी परिवर्तन भई चलेको हावाहुरीसँगै परेको असिना पानीले किसानको महिनौँको मेहनत एकै रातमा समाप्त गरेको छ। असिना पानीले मकैका कोपिला झारिदिएको, दलहन तथा तेलहन बाली भाँचिएको तथा लसुन र प्याज खेतमै कुहिने अवस्थामा पुगेको किसानहरूले बताएका छन्।धनगढि टोलका किसान सिकिन्द्र पटेलका अनुसार, असिनापानीले उहाँले लगाएको १ बिघाको मकै बाली पूरै क्षति गरेको छ। त्यस्तै, खेतमा लगाएको गहुँ, लसुन, प्याज, साग, करेला, खुर्सानी लगायतका बालीनालीमा पनि ठूलो नोक्सानी भएको छ।
चट्याङका कारण विद्युत् मिटर जले, तर मानवीय क्षति छैन
असिना पानीसँगै परेको चट्याङका कारण केही घरका विद्युत् मिटर जलेका छन् भने केही लुगाफाटो समेत नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार, चट्याङबाट ठूला भौतिक संरचनामा भने क्षति पुगेको छैन र कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ।

बलरी खोरमा भर्खरै सुत्केरो लागेको मकैमा ठूलो क्षति
रौतहटको बलरी खोर क्षेत्रमा पनि असिना पानीले भर्खरै सुत्केरो लागेको मकै बालीमा गम्भीर क्षति पुर्याएको छ।
किसानहरूका अनुसार, यो समयमा परेको असिना पानीले बालीमा हुने उत्पादनको मात्रा घट्ने मात्र होइन, बाली नै नष्ट हुने खतरा समेत बढेको छ।
किसानहरू राहतको माग गर्दै आन्दोलनको तयारीमा
आफ्नो महिनौँको मेहनत एकै रातमा समाप्त भएपछि किसानहरू ठूलो आर्थिक संकटमा परेका छन्। उनीहरूले स्थानीय तथा प्रदेश सरकारलाई राहत उपलब्ध गराउन माग गरेका छन्। बाली बिमा तथा क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले किसानहरू आन्दोलनको तयारीमा रहेको बुझिएको छ।रौतहट जिल्लाका कृषि अधिकृतले समेत असिना पानीका कारण भएको क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको र उचित राहतको पहल गरिने जानकारी दिएका छन्। यस संकटपूर्ण अवस्थाबाट उकास्न सरकारले छिटो राहत प्याकेज ल्याउनु आवश्यक रहेको किसानहरूको भनाइ छ।