रमेश कुमार यादब
चैत ०९, रौतहट
समाजमा रहेका विभिन्न सामाजिक विकृति तथा असमानताका विरुद्ध जनचेतना फैलाउन प्रभावकारी मानिएको सडक नाटक अहिले देशभर लोकप्रिय बन्दै गएको छ । यसै क्रममा, सामाजिक विकृति, लैङ्गिक विभेद, शिक्षा, स्वास्थ्य, बाल अधिकार लगायतका विषयमा जनचेतना फैलाउन सडक नाटक प्रभावकारी भइरहेको छ । यसैक्रममा, रौतहट जिल्लाको बृन्दावन नगरपालिका वार्ड नं. १ पुस्तकालय नजिक र गढीमाई नगरपालिका वार्ड नं. २ समनपुर स्थित ग्यालेक्सी पब्लिक स्कुलका विद्यार्थीहरूले शिक्षा सम्बन्धी एक सचेतना मूलक सडक नाटक प्रदर्शन गरेका थिए ।
ग्यालेक्सी पब्लिक स्कुल, समनपुर का विद्यार्थीहरूले ’बालबालिकालाई बुझौं’ विषयमा आधारित सडक नाटक प्रस्तुत गरेका थिए । रौतहट जिल्लाको बृन्दावन नगरपालिका–१, पुस्तकालय नजिक आयोजित यस सडक नाटकमा गढिमाई नगरपालिक–२, समनपुरस्थित ग्यालेक्सी पब्लिक स्कुल का कक्षा ५, ६, ७, र ८ का विद्यार्थीहरू सहभागी थिए । सडक नाटक मार्फत समाजमा व्याप्त छोरा(छोरीबीचको विभेद, बालबालिकाको इच्छाविपरीत गरिएको करियरको निर्णय, र अभिभावकले आफ्ना सन्तानप्रति देखाउने दबाब जस्ता समस्याहरू उजागर गरिएको थियो ।

नाटकले बालबालिकालाई बुझ्नुपर्ने, उनीहरूको इच्छा, रुचि, र क्षमताअनुसार अध्ययन तथा अन्य क्रियाकलापमा सहभागी गराउनुपर्ने महत्वपूर्ण सन्देश सम्प्रेषण गर्यो । ग्यालेक्सी पब्लिक स्कुलका प्रधानाध्यापक शंकर यादव का अनुसार, समाजमा अझै पनि बालबालिकाको अभिरुचि नबुझी जबरजस्ती पढाइको विषय निर्धारण गर्ने, छोरीहरूलाई अध्ययनमा पछाडि पार्ने, र छोरा(छोरीबीच विभेद गर्ने प्रवृत्ति व्याप्त छ ।
यस प्रकारका नाटकहरूले अभिभावकहरूलाई सचेत गराउने र बालबालिकाको रुचि अनुसार अवसर दिन प्रेरित गर्ने विश्वास प्रधानाध्यापक यादवले व्यक्त गरेका थिए । सडक नाटकमा विद्यार्थीहरूले आफ्ना दमदार संवाद र जीवन्त अभिनय मार्फत उपस्थित दर्शकलाई प्रभावित पार्न सफल भए । बालबालिकाको मनोविज्ञान बुझ्नुपर्ने, उनीहरूको इच्छा र सपना बुझेर सहयोग गर्नुपर्ने, तथा जबरजस्ती थोपर्ने परम्परालाई अन्त्य गर्नुपर्ने कुरालाई नाटकले निकै मार्मिक रूपमा प्रस्तुत गरेको थियो ।

नाटक हेर्न आएका स्थानीय अभिभावक तथा अन्य दर्शकहरूले प्रस्तुत नाटक अत्यन्तै मन छुने रहेको प्रतिक्रिया दिए । अभिभावकहरूका अनुसार, आफ्ना सन्तानले समाज परिवर्तनको पक्षमा आवाज उठाइरहेको देख्दा उनीहरू गौरवान्वित महसुस
गरेका थिए । सडक नाटक हेर्न ठूलो सङ्ख्यामा स्थानीय बासिन्दा उपस्थित भएका थिए । अभिभावकहरूले आफ्ना छोराछोरीलाई समान रूपमा शिक्षा दिनुपर्ने, उनीहरूको रुचि बमोजिम अध्ययन गर्न प्रेरित गर्नुपर्ने जस्ता विषयबारे बुझ्न पाएको बताए ।
यस सडक नाटकले बालबालिकाका अधिकार, उनीहरूको भविष्यको निर्णयमा अभिभावकहरूको सकारात्मक भूमिकाको आवश्यकता, र छोरा– छोरीबीचको समान व्यवहार गर्नुपर्ने कुरामा जागरुकता ल्याउने महत्त्वपूर्ण भूमिका खेलेको छ । यस्ता सामाजिक सचेतना फैलाउने कार्यक्रमहरूलाई निरन्तरता दिनु आवश्यक रहेको स्थानीय अभिभावक तथा विद्यालय प्रशासनले बताएका छन् ।