रमेश कुमार यादब
चैत ०९, रौतहट
शनिबार विहान आएको असिना पानी र हावाहुरीका कारण रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका किसानहरू ठूलो क्षतिको सामना गर्न बाध्य भएका छन् । असिना पानी र हावाहुरीका कारण मकै, गहुँ, दलहन, तेलहन, लसुन, प्याज तथा अन्य तरकारी खेतीमा गम्भीर क्षति पुगेको छ ।
यस प्राकृतिक प्रकोपबाट प्रभावित किसानहरूको अवस्थाबारे बुझ्न बृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले शनिबार नै क्षति भएका क्षेत्रहरूको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा नगर प्रमुख कुर्मीले किसानहरूसँग प्रत्यक्ष कुराकानी गर्दै बालीनालीमा पुगेको क्षतिको विवरण संकलन गर्नुभएको थियो ।

सबैभन्दा बढी क्षति धनगढि टोल र बलरी खोरमा
नगर प्रमुख कुर्मीका अनुसार विशेष गरी बृन्दावन नगरपालिका वार्ड नं. २ को धनगढि टोल र वार्ड नं. १ को बलरी खोर र वार्ड नम्बर ३ बिश्रामपुर क्षेत्रमा असिना पानीले सबैभन्दा ठूलो क्षति पु¥याएको छ । धनगढि टोलका किसान सिकिन्द्र पटेलका अनुसार असिना पानीले उहाँले लगाएको १ बिघाको मकैबाली पूरै क्षति गरेको छ । त्यस्तै, खेतमा लगाएको गहुँ, लसुन, प्याज, साग, करेला, खुर्सानी लगायतका बालीनालीमा पनि ठूलो नोक्सानी भएको छ ।
“हाम्रो महिनौँको मेहनत एकै रातमा समाप्त भयो। असिना यति ठूलो प¥यो कि मकैका सबै कोपिला झरेर बोट मात्र बाँकी छन् । प्याज र लसुन खेतमै कुहिने अवस्थामा छन्,“ पटेलले दुःख व्यक्त गर्नुभयो । बलरी खोरका किसान संजय यादवले भन्नुभयो, “हावाहुरीले तेलहन तथा दलहन बाली भाँचिएको छ, मकै पूरै सखाप भएको छ । सरकारले उचित क्षतिपूर्ति दिनुपर्छ, नत्र त यो वर्ष हामीले हातमुख जोर्नै सक्दैनौं ।“
नगर प्रमुखको राहतको प्रतिबद्धता
स्थलगत अनुगमनपछि नगर प्रमुख कुर्मीले किसानहरूलाई राहतको आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, “किसानहरू हाम्रो आर्थिक मेरुदण्ड हुन् । यो प्राकृतिक विपत्तिले उनीहरूलाई ठूलो मर्का परेको छ । हामी प्रदेश सरकार र संघीय सरकारसँग राहतका लागि पहल गर्छौं, साथै नगरपालिकाबाट हुने सहयोग पनि उपलब्ध गराउनेछौं ।“
उहाँले कृषि शाखालाई आवश्यक राहत तथा क्षतिपूर्तिका लागि तुरुन्तै रिपोर्ट तयार गर्न निर्देशन दिनुभएको छ । साथै, स्थानीयस्तरबाट आपत्कालीन राहत उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनु भयो । नगर प्रमुख कुर्मीले प्राकृतिक प्रकोपका कारण प्रभावित किसानहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश तथा संघीय सरकारसँग विशेष पहल गरिने बताउनु भयो । उहाँका अनुसार, “यसपालि किसानहरूले बाली बेचेर नाफा कमाउने त परै जाओस्, लगानी समेत उठाउन सक्ने अवस्था छैन । नगरपालिकाले राहत वितरणमा कुनै कसर बाँकी राख्ने छैन ।“
असिनाले के–के नोक्सान ग¥यो ?
शनिबार विहान मौसम अचानक परिवर्तन भई चलेको हावाहुरीसँगै आएको असिनाले निम्नानुसार क्षति पु¥याएको छः
मकै – कोपिला झरेर पूरै बाली नष्ट , गहुँ – हावाहुरीले बोट भाँचिएको , लसुन र प्याज – खेतमै कुहिने अवस्थामा पुगेको , तेलहन र दलहन बाली – भाँचिएको र जरैदेखि उखेलेको , तरकारी , साग, करेला, खुर्सानी, टमाटर) – पूरै नष्ट , स्थानीय किसानहरूका अनुसार असिनाका कारण खेतीयोग्य माटोमा समेत असर परेको छ । उनीहरूले तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।
अब के हुन्छ?
नगर प्रमुख कुर्मीले तत्काल कृषि प्राविधिक टोली खटाएर क्षतिको विस्तृत मूल्यांकन गर्ने र संघीय तथा प्रदेश सरकारसँग किसानहरूको राहतका लागि पहल गर्ने बताउनु भएको छ । साथै, नगरपालिकाले आफ्नै स्रोतबाट पनि प्रभावित किसानहरूलाई प्रारम्भिक राहत उपलब्ध गराउने तयारी गरिरहेको छ । यस असिनापानी र हावाहुरीका कारण किसानहरूको भोगाइ झन् कठोर बनेको छ । राहत तथा क्षतिपूर्ति कति र कहिलेसम्म उपलब्ध हुन्छ भन्ने सवालमा किसानहरू आशावादी देखिएका छन् । अब प्रदेश र संघीय सरकारले राहतको व्यवस्था मिलाउने कि मिलाउने छैन भन्ने हेर्न बाँकी छ ।