पवन कुमार उपाध्याय
चैत १०, रौतहट
रौतहट जिल्लाको व्यापारिक केन्द्र मानिने गरुडा नगरपालिका(४ स्थित बस पार्क नजिक रहेको जैसवाल जेनरल स्टोर्समा शनिवार राति भीषण आगलागी भएको छ । यस आगलागीबाट लाखौँको क्षति भएको छ भने स्थानीय व्यवसायी तथा सर्वसाधारण त्रसित भएका छन् । शनिवार मध्यराति अचानक पसलमा आगलागी सुरु भएको थियो । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार राति करिब १ बजेतिर पसलबाट ज्वाला निस्कन थालेको देखिएको थियो ।
आगो तीव्र गतिमा फैलँदा केही मिनेटमै पूरै पसल आगोको लप्काले ढाकिएको थियो । आगलागी भएको थाहा पाएपछि स्थानीयबासी, प्रहरी प्रशासन तथा जिल्लाबाट आएको बारुण यन्त्रको सहयोगमा तत्काल आगो निभाउने प्रयास थालिएको थियो । तर, आगो निकै भीषण भएकाले नियन्त्रण गर्न कठिनाइ भएको थियो । करिब पौने दुई घण्टाको अथक प्रयास पछि इलाका प्रहरी कार्यालय गरुडा, स्थानीय नागरिक तथा जिल्लाबाट आएका बारुण यन्त्रको सहायताले आगोलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार आगलागीको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन । तर, प्रारम्भिक अनुसन्धान अनुसार बिधुत सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीका कारण गुडु जैसवालद्वारा सञ्चालित जैसवाल जेनरल स्टोर्स पूर्ण रूपमा जलेर नष्ट भएको छ । पसलमा रहेका सबै कपडा, ब्राण्डेड जुताहरु तथा अन्य सामान जलेर खरानी भएका छन् ।
प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ५० लाख बराबरको क्षति पुगेको छ । यस घटनाले व्यवसायी जैसवालको परिवारलाई ठूलो आर्थिक क्षति पुगेको छ । परिवारजन एवं स्थानीय व्यवसायीहरू घटनाले मर्माहित भएका छन् । इलाका प्रहरी कार्यालय गरुडाले आगलागीको विस्तृत छानबिन जारी राखेको जनाएको छ ।
साथै, व्यापारी तथा स्थानीयहरूलाई आगलागी न्यूनीकरण गर्न विद्युत जडानमा विशेष ध्यान दिन अपिलगरिएको छ । यस घटनाले गरुडा नगरपालिकाका व्यवसायीहरूलाई त्रासित बनाएको छ भने स्थानीय प्रशासनले क्षतिको विवरण संकलन गर्दै राहत तथा पुनस्र्थापनाका लागि पहल गरिरहेको छ ।