रौतहटको गरुडामा भीषण आगलागी, ५० लाख बराबरको क्षति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र १०, सोमबार (११ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटको गरुडामा भीषण आगलागी, ५० लाख बराबरको क्षति

पवन कुमार उपाध्याय
चैत १०, रौतहट

रौतहट जिल्लाको व्यापारिक केन्द्र मानिने गरुडा नगरपालिका(४ स्थित बस पार्क नजिक रहेको जैसवाल जेनरल स्टोर्समा शनिवार राति भीषण आगलागी भएको छ । यस आगलागीबाट लाखौँको क्षति भएको छ भने स्थानीय व्यवसायी तथा सर्वसाधारण त्रसित भएका छन् । शनिवार मध्यराति अचानक पसलमा आगलागी सुरु भएको थियो । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार राति करिब १ बजेतिर पसलबाट ज्वाला निस्कन थालेको देखिएको थियो ।

आगो तीव्र गतिमा फैलँदा केही मिनेटमै पूरै पसल आगोको लप्काले ढाकिएको थियो । आगलागी भएको थाहा पाएपछि स्थानीयबासी, प्रहरी प्रशासन तथा जिल्लाबाट आएको बारुण यन्त्रको सहयोगमा तत्काल आगो निभाउने प्रयास थालिएको थियो । तर, आगो निकै भीषण भएकाले नियन्त्रण गर्न कठिनाइ भएको थियो । करिब पौने दुई घण्टाको अथक प्रयास पछि इलाका प्रहरी कार्यालय गरुडा, स्थानीय नागरिक तथा जिल्लाबाट आएका बारुण यन्त्रको सहायताले आगोलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार आगलागीको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन । तर, प्रारम्भिक अनुसन्धान अनुसार बिधुत सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीका कारण गुडु जैसवालद्वारा सञ्चालित जैसवाल जेनरल स्टोर्स पूर्ण रूपमा जलेर नष्ट भएको छ । पसलमा रहेका सबै कपडा, ब्राण्डेड जुताहरु तथा अन्य सामान जलेर खरानी भएका छन् ।

प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ५० लाख बराबरको क्षति पुगेको छ । यस घटनाले व्यवसायी जैसवालको परिवारलाई ठूलो आर्थिक क्षति पुगेको छ । परिवारजन एवं स्थानीय व्यवसायीहरू घटनाले मर्माहित भएका छन् । इलाका प्रहरी कार्यालय गरुडाले आगलागीको विस्तृत छानबिन जारी राखेको जनाएको छ ।

साथै, व्यापारी तथा स्थानीयहरूलाई आगलागी न्यूनीकरण गर्न विद्युत जडानमा विशेष ध्यान दिन अपिलगरिएको छ । यस घटनाले गरुडा नगरपालिकाका व्यवसायीहरूलाई त्रासित बनाएको छ भने स्थानीय प्रशासनले क्षतिको विवरण संकलन गर्दै राहत तथा पुनस्र्थापनाका लागि पहल गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस