वर्तमानकाल सम्वाददाता
जेठ ०१, रौतहट
कुनै समय यात्रुको पहिलो रोजाइ रहेको टाङ्गा घोडा सवारी अब अस्ताउँदै गएको छ। रौतहटको सदरमुकाम गौरबाट ग्रामिण भेगसम्म यात्राको प्रमुख साधन बनेको टाङ्गा सवारी आधुनिक सवारीसाधनको आगमनसँगै विस्थापित हुँदै गएको हो।
विगतमा गौरदेखि गाउँगाउँसम्म यात्रुहरूलाई ढुवानी गर्ने एकमात्र साधन टाङ्गा रहँदा यसैबाट जीविकोपार्जन गर्नेको संख्या उल्लेख्य थियो। तर अहिले टेम्पु, इ–रिक्सा, जिप, बोलेरो, स्कोर्पियोजस्ता सवारीसाधन सहज उपलब्ध भएपछि यात्रुहरू ती सवारीलाई छिटो, सस्तो र सुविधाजनक मान्न थालेका छन्।
परिणामस्वरूप टाङ्गाको प्रयोग दिनप्रतिदिन घट्दै गएको छ। टाङ्गा व्यवसायी पनिलाल महतो भन्छन्, “अहिले टाङ्गाको महत्व घटेकाले हामीजस्ता व्यवसायीहरू बाध्य भएर खेतीपाती र पशुपालनतर्फ लाग्नुपरेको छ। लामो समयदेखि यही पेशाबाट परिवार पाल्दै आएको थिएँ, तर अब टिक्न सक्ने अवस्था छैन।“ त्यस्तै, टाङ्गा व्यवसाय छाडेर कुखुराको मासुको व्यापारमा लागेका अर्का व्यवसायी शेख इसराइल भन्छन्, “टाङ्गाको प्रयोग निकै कम भयो।
अब गुजारा चलाउन यो पेशा टिक्न सक्दैन।“ टाङ्गा पुरानो र ऐतिहासिक सवारीसाधन मात्र नभई तराईको ग्रामीण पहिचानसँग जोडिएको थियरुो। समाजसेवी अरुण सिंहका अनुसार, “एक समय यस्तो थियो जब बिहान ४–५ बजे टाङ्गावाला घोडा दौडाउँदै करिब १० किलोमिटर टाढा सदरमुकाम गौर ल्याउँथे।
दिनभर भारतको बैरगनिया रेल्वे स्टेशनदेखि जिल्लाका अन्य ठाउँसम्म यात्रु पु–याउँथे। अहिले त्यो भूमिका टेम्पुले लिएको छ।“ उनका अनुसार अब टाङ्गा नाम मात्रको साधन बन्दै गएको छ। बाटोघाटोको सुधार, टेम्पुको सहज पहुँच र यात्रुहरूको प्राथमिकता फेरिएपछि यो पेशा इतिहास बन्ने दिशातर्फ उन्मुख छ।