
रमेश कुमार यादब
भदौ ०१, रौतहट
रौतहटको बृन्दावन नगरपालिका–३ विश्रामपुरअन्तर्गत रामपुरस्थित स्वास्थ्य चौकीमा केही दिनदेखि बन्द रहेको प्रसूति सेवा पुनः सञ्चालनमा आएको छ। नगर प्रमुख बिनोद प्रसाद कुर्मीको पहलमा सोमबारदेखि आवश्यक औषधि तथा स्वास्थ्य सेवासहित स्वास्थ्य चौकीमा प्रसूति सेवा पुनः सञ्चालनमा ल्याइएको हो। नगरभित्रका गर्भवती महिलालाई प्रसूतिको समयमा सहज, सुरक्षित र नजिकैबाट स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा पुनः सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ। प्रसूति सेवा बन्द हुँदा स्थानीय गर्भवती महिलाहरूलाई प्रसव व्यथा लागेपछि अन्य स्वास्थ्य संस्था वा अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको थियो। स्थानीयवासीले स्वास्थ्य चौकीमै उपलब्ध हुँदै आएको प्रसूति सेवा पुनः सञ्चालन गर्न नगर प्रमुख तथा सम्बन्धित निकायसँग माग गर्दै आएका थिए। स्थानीयको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नगर प्रमुख कुर्मीले प्रसूति सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल गर्नुभएको हो। सोमबार आयोजित विशेष कार्यक्रममा नगर प्रमुख कुर्मीको प्रमुख आतिथ्यतामा प्रसूति सेवा औपचारिक रूपमा पुनः सञ्चालनमा ल्याइएको हो।

नागपञ्चमीको शुभ अवसरमा प्रसूति सेवा पुनः सञ्चालनमा आउनु स्थानीयवासीका लागि थप खुसीको विषय भएको नगर प्रमुख कुर्मीले बताउनुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख कुर्मीले स्वास्थ्य चौकी कुनै एक व्यक्ति वा कर्मचारीको मात्र जिम्मेवारीले सञ्चालन हुने संस्था नभएको बताउँदै यसको संरक्षण, व्यवस्थापन र प्रभावकारी सञ्चालनमा स्थानीयवासीको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले स्वास्थ्य चौकीको सेवा प्रभावकारी बनाउन स्थानीय नागरिकले पनि निगरानी तथा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। नगर प्रमुख कुर्मीले आफू निर्वाचित भएदेखि नै शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो। जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम गरिरहेको दाबी गर्दै उहाँले विकास तथा जनसेवाका कामलाई प्रभावित पार्ने विभिन्न किसिमका अवरोध र चुनौती आए पनि आफू जनताको सेवाबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “हामी निर्वाचित भएदेखि नै शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानी पु¥याउने उद्देश्यका साथ निरन्तर काम गरिरहेका छौँ। जनताको सेवाका लागि सही मार्गमा लागेका छौँ र अन्तिम समयसम्म पनि जनताको हितमा काम गरिरहनेछौँ।” प्रसूति सेवा सञ्चालनलाई व्यवस्थित र सुरक्षित बनाउन स्वास्थ्य चौकी परिसरका विभिन्न स्थानमा सीसी क्यामेरा समेत जडान गरिएको नगर प्रमुख कुर्मीले जानकारी दिनुभयो। स्वास्थ्य चौकीको संरक्षण तथा सुरक्षाका लागि स्थानीयवासीको साथ र सहयोग अत्यन्त आवश्यक रहेको उहाँको भनाइ थियो।

त्यस्तै, स्वास्थ्य चौकीमा औषधिको अभाव हुन नदिने प्रतिबद्धता पनि नगर प्रमुख कुर्मीले व्यक्त गर्नुभयो। कुनै औषधिको कमी भएमा तत्काल जानकारी गराउन आग्रह गर्दै आवश्यक औषधि उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। प्रसूति सेवा सञ्चालनका लागि हाल २८ प्रकारका आवश्यक औषधि उपलब्ध गराइएको समेत नगर प्रमुख कुर्मीले जानकारी दिनुभयो।
यसैबीच, बृन्दावन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रास नारायण पटेलले अबदेखि प्रसूति सेवा नियमित रूपमा सञ्चालन गर्न प्रशासन, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको समन्वय र सहभागितामा विशेष जोड दिइएको बताउनुभयो। स्वास्थ्य चौकीमा हाल १३ जना कर्मचारी कार्यरत रहेको जानकारी दिँदै उहाँले आवश्यक तालिका बनाएर कर्मचारी परिचालन गरिने बताउनुभयो। स्वास्थ्य शाखा प्रमुख पटेलले कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउने वातावरण तयार गरिएको बताउनुभयो। यसबाट प्रसव व्यथा लागेका महिलाले रातिको समयमा समेत स्वास्थ्य चौकीमै आवश्यक सेवा पाउने अपेक्षा गरिएको छ।

स्वास्थ्य चौकीका इन्चार्ज हरिनारायण पटेलले आगामी दिनमा प्रसूति सेवा निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार बर्थिङ सेन्टरलाई चौबिसै घण्टा खुला राख्ने व्यवस्था गरिएको छ। सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य चौकीमा सरसफाइ र आवश्यक स्वास्थ्य मापदण्डमा विशेष ध्यान दिइने उहाँले बताउनुभयो। नवजात शिशुलाई चिसोबाट जोगाउन स्वास्थ्य चौकीमा ‘बेबी वार्मर’ मेसिनसमेत व्यवस्था गरिएको छ। करिब पाँच लाख रुपैयाँ मूल्य पर्ने उक्त मेसिन नगरपालिकाले स्वास्थ्य चौकीलाई उपलब्ध गराएको हो।
जन्मिएलगत्तै शिशुलाई चिसोबाट जोगाउन आवश्यक परेको अवस्थामा बेबी वार्मर प्रयोग गरिने स्वास्थ्य चौकीले जनाएको छ। प्रसूति सेवा पुनः सञ्चालन भएपछि बृन्दावन नगरपालिका–३ विश्रामपुर, रामपुर तथा आसपासका गर्भवती महिलालाई प्रसूतिको समयमा टाढा जानुपर्ने बाध्यता कम हुने भएको छ। स्थानीयस्तरमै आवश्यक स्वास्थ्य सेवा तथा औषधि उपलब्ध हुने भएपछि गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य सुरक्षामा समेत सहजता आउने अपेक्षा गरिएको छ स्थानीयवासीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा नागरिकको आवश्यकता र समस्यालाई प्राथमिकतामा राख्दै प्रसूति सेवा पुनः सञ्चालनमा ल्याउनु सकारात्मक कदम भएको बताएका छन्।

सेवा नियमित, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन भइरहेमा यस क्षेत्रका गर्भवती महिलाले ठूलो राहत पाउने स्थानीयको विश्वास छ।नगरपालिका, स्वास्थ्यकर्मी र स्थानीयवासीबीच आवश्यक समन्वय कायम रहन सके बर्थिङ सेन्टरको सेवा दीर्घकालीन रूपमा प्रभावकारी बनाउन सकिने अपेक्षा गरिएको छ। अब प्रसूति सेवाको निरन्तरता, स्वास्थ्य चौकीको संरक्षण तथा आवश्यक औषधि र जनशक्तिको नियमित व्यवस्थापनमा सबै पक्षको ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ।
