रौतहटमा ट्राफिक प्रहरीसहित १०३ जनाको निःशुल्क आँखा परीक्षण, दृष्टि सुरक्षामा जोड,औषधि र सुरक्षा चश्मासमेत वितरण

रौतहटमा ट्राफिक प्रहरीसहित १०३ जनाको निःशुल्क आँखा परीक्षण, दृष्टि सुरक्षामा जोड,औषधि र सुरक्षा चश्मासमेत वितरण

रमेश कुमार यादब
असोज २२, रौतहट
७१औँ प्रहरी दिवस–२०८३ तथा विश्व दृष्टि दिवस–२०८३ को अवसर पारेर रौतहटमा ट्राफिक प्रहरीसहित १०३ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ। ट्राफिक प्रहरीको नियमित कार्यसम्पादनमा आँखाको दृष्टि अत्यन्त महत्वपूर्ण हुने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै निःशुल्क आँखा परीक्षण तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रम आयोजना गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको प्रत्यक्ष समन्वय तथा सहकार्यमा नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पताल रौतहटले गरुडा नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय शिवनगरको प्राङ्गणमा कार्यक्रम आयोजना गरेको थियो।

‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा ट्राफिक प्रहरी, सुरक्षाकर्मी तथा सर्वसाधारण गरी १०३ जनाको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ। परीक्षणका क्रममा आँखासम्बन्धी समस्या पहिचान भएका तथा थप हेरचाह आवश्यक देखिएका व्यक्तिलाई आवश्यकताअनुसार औषधि तथा सुरक्षा चश्मासमेत निःशुल्क वितरण गरिएको थियो।

कार्यक्रमको गौर आँखा अस्पतालका अध्यक्ष विजयकुमार सिंह र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले संयुक्त रूपमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ४७ जना ट्राफिक प्रहरी कर्मचारीसहित १०३ जनाको आँखा परीक्षण गरिएको थियो। सडकमा लामो समयसम्म ड्युटीमा खटिनुपर्ने, धुलो–धुवाँ, घाम, सवारीसाधनको तीव्र प्रकाश तथा विभिन्न वातावरणीय जोखिमको सामना गर्नुपर्ने भएकाले ट्राफिक प्रहरीको आँखाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने सहभागीहरूले बताएका थिए।

विशेषगरी राजमार्ग तथा व्यस्त सडकमा ट्राफिक व्यवस्थापनका क्रममा प्रहरी कर्मचारीले लामो समयसम्म सडकमा उभिएर सवारीसाधनको आवागमन नियमन गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा दृष्टिमा समस्या आएमा ड्युटीको प्रभावकारितामा असर पर्नुका साथै स्वयं प्रहरी कर्मचारीको सुरक्षामासमेत जोखिम उत्पन्न हुन सक्ने भएकाले नियमित आँखा परीक्षण आवश्यक रहेको आयोजकको भनाइ छ।

आँखा परीक्षणका क्रममा दृष्टि कमजोर भएका, आँखामा समस्या देखिएका तथा थप उपचार वा हेरचाह आवश्यक पर्ने व्यक्तिलाई चिकित्सकीय परामर्शसमेत प्रदान गरिएको थियो। आवश्यकताअनुसार औषधि र सुरक्षा चश्मा उपलब्ध गराइएपछि सहभागीहरूले कार्यक्रमबाट प्रत्यक्ष लाभ प्राप्त गरेको बताएका थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर लगायत प्रहरी कर्मचारी, सञ्चारकर्मी, बुद्धिजीवी तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षालाई लक्षित गरी आयोजना गरिएको यस्तो कार्यक्रमले कार्यक्षमता अभिवृद्धि गर्नुका साथै स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। प्रहरीको नियमित जिम्मेवारीअन्तर्गत नागरिकको सुरक्षा र सडक व्यवस्थापनमा प्रत्यक्ष रूपमा खटिने ट्राफिक प्रहरीलाई समय–समयमा स्वास्थ्य परीक्षणको अवसर उपलब्ध गराउनुपर्नेमा समेत जोड दिइएको थियो।

नेपाल नेत्र ज्योति संघ तथा गौर आँखा अस्पतालले समुदायमा आँखासम्बन्धी समस्या पहिचान, उपचार तथा दृष्टि सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न स्थानमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। प्रहरी दिवस तथा विश्व दृष्टि दिवसको अवसरमा आयोजित यस कार्यक्रमले सुरक्षाकर्मीको स्वास्थ्यप्रति संस्थागत ध्यानाकर्षण गराउनुका साथै आँखाको नियमित परीक्षण र दृष्टि सुरक्षाको महत्वबारे समेत सन्देश दिएको छ।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस