रौतहट । फाल्गुन ०७ गते
पृथ्वीनारायण शाहले कैयौँ साना राज्यहरुलाई मिलाएर एकीकरण गरेको वा एकीकरणको प्रक्रियाको थालनी गरेको घटना नेपालको इतिहासमा सर्वाधिक महत्वपूर्ण हो । यस घटनाले एउटा देशको निर्माण हुन सक्यो र यसपछिको सबैभन्दा महत्वपूर्ण राजनीतिक घटना भन्नु नै २००७ को जनक्रान्ति हो । यसलाई देशको राजनैतिक इतिहासले पहिले जनआन्दोलन र अन्य अनेक नामले चिन्ने गर्दछ । यसै कारणले पनि हो कि नेपालको आधुनिक इतिहासमा सबैभन्दा महत्त्वपूर्ण वर्षको रुपमा २००७ साललाई कतिपय इतिहासकार तथा राजनैतिक विद्वानहरुले लिने गरेका छन् । यो यस्तो वर्ष हो जहाँ एकातिर जहाँनिया राणाशासनको कालरात्रिलाई जनताले चुनौती दिएको थियो भने राजाले समेत जनताको क्रान्तिप्रति प्रत्यक्ष समर्थन जनाएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्तिमार्फत देशमा प्रजातन्त्रको जग बसाल्न नेपाली जनता तयार भएका थिए । नेपाली कांग्रेसले कात्तिक २६ गतेदेखि प्रजातन्त्र प्राप्त नहुन्जेलसम्मका लागि जुन अनिश्चितकालीन आन्दोलनको आह्वान गरेको थियो, त्यसमा देशको राजधानीदेखि जिल्लाका सदरमुकाम र ग्रामीण क्षेत्रहरुसमेत राणाविरुद्ध आन्दोलित भएका थिए । र, आन्दोलनमा जनताको जित भएको थियो । राणाशासन पराजित भएको थियो । देशको राजनैतिक इतिहासलाई नै हल्लाउने किसिमको जनक्रान्तिमा रौतहटको भूमिका के थियो त ? प्रत्यक्ष वा परोक्षरुपमा रौतहटले देशको पहिलो राजनैतिक क्रान्तिमा आफ्नो भूमिका निर्वाह गरेको थियो ? यस दृष्टिकोणले पनि अध्ययन हुनु जरुरी छ । यस आलेखमा मैले जानेका केही कुरा राख्ने प्रयास गरेको छु । देशले प्रजातन्त्र दिवस मनाइरहँदा हामी रौतहटेली नागरिकले पनि प्रजातन्त्र दिवसमा हाम्रो योगदान र बलिदान के कस्तो छ भन्ने कुरा जान्ने जति सबैले सोधखोज गर्नु आवश्यक छ । देशमा प्रजातन्त्रको बिहानी ल्याउने पहिलो जनक्रान्तिमा रौतहटेली नागरिकको योगदानलाई नवपुस्ताका माझ पु¥याउनु पनि आवश्यक छ ।
२००७ सालको जनक्रान्तिको निर्णय नेपाली कांग्रेसको बैरगनिया सम्मेलनले गरेको थियो । रौतहटको सदरमुकाम गौरसँगै सीमा जोडिएको भारतीय बजार बैरगनियामा नेपाली कांगे्रसको सम्मेलन गराउन रौतहटेली प्रजातन्त्रप्रेमी तथा नागरिक अधिकार प्राप्तिका समर्थकहरुको निकै ठूलो भूमिका रहेको छ । रौतहटबासी महात्मा गान्धीको ‘भारत छोडो’ आन्दोलनबाट प्रेरित थिए भनेर पनि भन्ने गरिन्छ । महात्मा गान्धीले ‘भारत छोडो’ आन्दोलन चलाउने क्रममा छिमेकी भारत बिहारको पूर्वी चम्पारण जिल्लामा आएर बस्दा रौतहटबाट हजारौं मानिस भेट्न पुगेका थिए भन्ने गरिन्छ । गाउँगाउँबाट बैलगडी र टायरगाडामा बसेर नरनारीहरु महात्मा गान्धीको प्रचवन सुन्न र उनलाई हेर्न पुगेका रौतहटबासीमा भारत स्वतन्त्र भएपछि नेपालमा पनि राणाशासनको अन्त्य गर्न सकिने कुरामा पूर्ण विश्वास थियो । भारतीय स्वतन्त्रता संग्राममा रौतहटको राजपुर फरहदवाका लक्ष्मण चौधरी कलवार, ब्रह्मपुरीको महनपुरका सुवंश राय आर्य र शिवप्रसाद कुँवर निकै सक्रियतापूर्वक सघाएका थिए । भारतीय आन्दोलनको क्रममा जनप्रदर्शनमा यी तिनैजनाले रौतहटका गाउँगाउँबाट मानिसलाई जुटाउने कार्यसमेत गरेको प्रजातान्त्रिक विचारका अगुवा रौतहटको गरुडा नगरपालिकाको पोठियाही गाउँका पुराना काँग्रेसी नेता राजेदव चौधरीको स्मरण छ ।
नेपालमा नेपाली कांग्रेसको स्थापना हुनुभन्दा पनि पहिलेदेखि राणाको विरोधमा लागेका लक्ष्मण चौधरी गाउँगाउँमा साधुको भेष धारण गरी भजन र गीतमार्फत जनचेतना फैलाएका थिए । नेपाली कांग्रेसको स्थापना भएपछि घरबार छोडेर नै पार्टीको कार्यक्रममा चौधरी, सुवंश र शिवप्रसाद लागेका थिए । बाहिरी जनसम्पर्क तथा नेपाली कांग्रेसका नेताहरुसँगको सम्पर्कमा रहेका सुवंश राय आर्यको अध्यक्षतामा नै बैरगनिया सम्मेलन भएको थियो र सम्मेलनमा रौतहटबाट सयौंजना सहभागी पनि भएका थिए । बैरगनिया सम्मेलनले राणाशासनविरुद्ध सशस्त्र आन्दोलनको निर्णय गरेकोले सदरमुकाम गौरमा सेनाको उपस्थिति र निगरानी निकै बढेको थियो । सम्मेलनका सहभागी तथा नेताहरुलाई सुरक्षितसाथ निर्णयअनुसारको स्थानमा आन्दोलनको नेतृत्व गर्न जाने ठाउँमा पु¥याउने काममा सफल भएपछि रौतहटको जनक्रान्तिलाई अगाडि बढाउन नेपाली कांग्रेसलाई चुनौती भइरहेको अवस्थामा मंसिर ३ गते ठूलो प्रदर्शन गर्ने र सरकारी अड्डा कब्जा गर्ने तयारी भयो ।
त्यस दिन देशको अन्य भागमा पनि प्रदर्शनको तयारी थियो । राणाविरुद्धको आन्दोलनले विस्तारै गति लिइरहेको थियो र क्रमशः उचाइ पनि प्राप्त गरिरहेको थियो । यसै क्रममा सदरमुकाम गौरलाई कब्जा गर्ने गरी भइरहेको तयारीको सम्बन्धमा राणा सरकार अनभिज्ञ थियो । अघिल्लै दिनदेखि गौरमा मानिसहरुको चहलपहल बढेको थियो । बिहानको सदरमुकाम अपेक्षाकृत धेरै मानिसको भीडभाडयुक्त देखेर राणा सेनालाई शंका लाग्नु स्वाभाविक थियो । धान पाक्नै लागेकाले कतिपय किसानहरु किसानकै भेषमा सदरमुकाम पुगेका थिए । प्रदर्शन तोकिएको समयभन्दा एक घन्टा ढिलो सुरु भयो । सदरमुकाम गौरको सडकभरि एकसाथ मानिस ओर्लिए । यतिको मानिस गौरमा कहिल्यै पनि देखिएको थिएन ।
अड्डातिर बढिरहेको जुलुसकर्मीहरुको हातमा नेपाली कांग्रेसको झन्डा, केहीको हातमा राजा त्रिभुवनको तस्वीर र केहीको हातमा लट्ठी थियो । तत्कालीन अदालतको अगाडि जुलुस पुगेर गगनभेदी नारा लगाइरह्यो । नाराको बीचबाटै जोसिएर युवक शिवप्रसाद कुँवर नेपाली कांग्रेसको झन्डा लिएर माथि चढे र छानामा पुगेर अड्डाको माथिल्लो भागमा नेपाली कांग्रेसको झन्डा फहराएका मात्र के थिए – ड्याङ्ङ गोली चल्यो । गोली शिवप्रसाद कुँवरको छातीमा लाग्यो । वीर शिवप्रसाद कुँवर त्यहीं ढले र तत्काल शहीद भए । त्यसपछि सबैमा भागाभाग भयो र राणा सेनाले अन्धाधुन्ध गोली तथा लाठी बर्सायो । अठारजना तत्काल त्यही शहीद भए । सडकमा मानिसको लास बिछाइयो, मानिसको रगतको खोलो बग्यो ।
आन्दोलनकारीहरु सदरमुकामको मूल सडकमा केन्द्रित भएको वेला सरकारी सेनाले गौरबाट बाहिरिने सबै नाकाहरु घेरेर बसेका थिए । सदरमुकामको पूर्व र उत्तरपट्टिको बरहवा पुलछेउबाट एक साथ सयौं आन्दोलनकारीहरु निस्कन खोजे तर कोही बाँकी रहेनन् । कैयौं बरहवा दहमा मारिए, सरकारी सेनाले लखेटीलखेटी आन्दोलनकारीलाई मारे । आसपासका कैयौं बिघा धानखेतसम्म सरकारी सेनाले लखेटेर मारे । यसकारण त्यो वर्ष धानखेतको बाली काटिएन । कैयौं महिनासम्म सर्वसाधारण सदरमुकाम गौर जानदेखि डराएका थिए । २००७ साललाई गौरमा देखेकाहरुले सदरमुकाम गौरको अवस्था भयावह रहेको सुनाउने गर्दथे ।
२००७ सालको मंसिर ३ को सम्झनामा हरेक वर्ष सदरमुकाम गौरमा शहादत दिवस मनाउने गरिन्छ । नेपाली कांग्रेसका पुराना नेताहरुले शहादत दिवस समारोह समिति रौतहट गठन गरी हरेक वर्ष सदरमुकाम गौरको परिक्रमा गरी जिल्ला अदालतको परिसरभित्र रहेको सहिद स्मारक जहाँ शिवप्रसाद कुँवरको स्मारक रहेको मानिन्छ, मा पुष्पगुच्छा अर्पण गरिन्छ । समितिको मूल्यांकनमा २००७ सालको जनक्रान्तिमा सबैभन्दा बढी जनताले बलिदान दिएको दिन यही हो । मंसिर ३ को हत्याकान्डको यथार्थ खोजीनिधि हुन सकेको छैन । यस कान्डलाई शहादत समितिले भारतको अमृतसरको ‘जालियावाला बाग’ कान्डसित तुलना गर्दै आएका छन् र हरेक मंसिर ३ लाई बलिदान दिवसको रुपमा मनाउनु पर्ने बताउँछन् । देशमा प्रजातन्त्र ल्याउन ज्यानको आहुति दिने मंसिर ३ का ज्ञात–अज्ञात सहिदहरुको बलिदानीको उच्च कदर गर्दै २००७ जनक्रान्तिमा सबैभन्दा बढी जनताले बलिदानी दिएको दिनलाई ‘बलिदान दिवस’को रुपमा राष्ट्रिय सम्मान दिनु न्यायोचित देखिन्छ भनेर पनि बताउँछन् ।
२००७ को आन्दोलनको बारेमा धेरै कुरा अध्ययन गर्न बाँकी छ । केही वर्षसम्म राजदेव चौधरीको संयोजकत्वमा ३ मंसिर २००७ मा भएको ठूलो सहादतको सम्मानमा कार्यक्रम हुने गरेको थियो । चौधरीलाई त्यस जनआन्दोलनमा सहभागी हुनेहरुको बारेमा सोधीखोजी हुुनु आवश्यक छ । राजदेव चौधरी अझै पनि जनक्रान्तिको बारेमा धेरै कुरा थाहा छ । के पनि भनिन्छ भने देशमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा पहिले भारतीय कम्युनिष्ट पार्टीको स्थापना भएको र नेपालको अझ रौतहटका केही समर्थकहरु भारतीय कम्युनिष्ट पार्टीमा लागेका थिए भन्ने कुरा पनि चौधरी बताउँछन् । यसबाट यो पनि सिद्ध हुन्छ कि नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दा पहिले रौतहटमा कम्युनिट कार्यकर्ताहरु भइसकेका थिए । र, ती कम्युनिष्ट कार्यकर्ताहरुले समेत नेपाली प्रजातान्त्रिक आन्दोलनको पहिलो सफल क्रान्तिमा सहभागी भएका थिए ।
यसै गरी रौतहटका आन्दोलनकारीहरु ३ मंसिरको रौतहट क्रान्तिभन्दा पहिले अन्य जिल्लाको आन्दोलनमा पनि सहभागिता जनाएका थिए । के भनिन्छ भने सोही वर्षको दीपावलीको दिन वा त्यसैको आसपासको कुनै दिन रौतहटका धेरै जना आन्दोलनकारी वीरगंज पुगेका थिए भन्ने कुरो चौधरी बताउँछन् ।
अझै पनि धेरै कुरा सामुन्ने आउनै बाँकी छ । जिल्लाको उत्तरी भेग चन्द्रपुरमा पनि आन्दोलनको अवस्था कस्तो रहेको थियो त ? गरुडा र आसपासका केही मानिसले प्रजातान्त्रिक आन्दोलनमा सहभागिता जनाएका थिए । केहीको त जेलनेल पनि भएको थियो वा पक्राउ परेर सजाय पनि पाएका थिए भन्ने सुनिन्छ ।
यस्ता अन्य पक्ष पनि हुन सक्छन् । जसको खोजी अहिलेको पुस्ताले गर्न आवश्यक छ । धेरै क्षेत्रमा रौतहटले अग्रणी भूमिका निर्वाह गरेको रौतहटका नागरिकले वा रौतहटले देशको सबैभन्दा पहिलो जनक्रान्तिमा ठूलो भूमिका निर्वाह गरेको थियो । त्यस आन्दोलनमा सहभागी हुने सबैप्रति उच्च सम्मान र श्रद्धा छ । तिनका योगदानको पनि उच्च सम्मान छ ।