रौतहट । फाल्गुन १३ गते
हामी मानव भएकोमा गर्व गर्छौं । अन्य प्राणीभन्दा मानवलाई सर्वश्रेष्ठ प्राणी मानिएको छ । यो मानेको पनि मानिस आफैँले हो । मानिस आफैँले आफूलाई सर्वश्रेष्ठ मानेपछि यस मानको पनि मान राख्नु मानवीय कर्तव्य हो । सायद हामीमा अरुभन्दा भिन्न गुण छ, विशेषता छ, सही र गलत छुट्याउने सक्ने अद्भूत क्षमता छ । सृष्टिको रचना भएसगै मानव तेज बुद्धि र विवेकको क्षमता भएर असीमित चाहना आकांक्षाको बीच नयाँ नयाँ प्रविधि र जीवनलाई सरल बनाउने तथा खुशी बनाउने प्रयासमा तल्लीन देखिन्छ । चाहे. जङ्गली युग होस् वा आजको बैज्ञानिक यूग नै किन नहोस् । जङ्गली अवस्थामा रहेको बेला जङ्गलका जनावरहस्mाई मार्ने र आफ्ना आहारा बनाउनेदेखि लिएर आजको समयसम्म आइपुग्दा प्रविधिले मानव जस्तै यन्त्र मानव निर्माण गरेको सम्ममा पनि एक मानवले अर्को मानवमाथि गर्ने गरेको शोषण दमन कुनै न कुनै रुपमा कायमै छ । मानव जीवनलाई विभिन्न चरणमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ । त्यसै मध्येको एक हो बालबालिका अर्थात् गर्भावस्थादेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई हामी बालबालिका मान्ने गर्दछौ । अहिले विवाहको दृष्टिकोणले २० वर्षसम्मको उमेरलाई बालबालिका मान्ने गरिएको छ कानुनअनुसार । बालबालिका देशका कर्णधार हुन् भन्ने परम्परागत मान्यता नै रहिआएको छ । देश हाक्ने वीर योद्घा र देशको भविष्य लेख्ने वीर पुरुष । आज हामी जस्तो बीउ रोप्छौ बिरुवाको आशा पनि त्यस्तै गर्नु पर्ने हुन्छ । असल बीउले असल बिरुवा दिन्छ भने कमसल खालको बीउले कमसल नै विरुवा दिन्छ । अर्को हाम्रो जनजीवनमा ज्यादै प्रचलित र जीवनसित मेल खाने उखान छ – हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात । अर्थात् प्रतिभाशाली बालकमा सानैदेखि आफ्नो लक्षण देखाएको हुन्छ । बालबालिका सृजनशील क्षमताको हुनु राम्रो मानिन्छ । ऊ प्रत्येक दिन केही नयाँ कुराको सृजना गर्नेतिर लाग्नु पर्दछ । उसको चौतर्फी विकास राम्रो हुनु पर्दछ । यसमा अर्थात् चौतर्फी विकासका लागि धेरै कुराहरु त्यसको जडको रुपमा काम गर्लान् जस्तै ःखानपान, पारिवारिक वातावरण, दौतरीसंग हिमचिम आदि । पक्कै पनि रामे घरमा जन्मेका हुर्केका बालबालिकाको जीवनशैली र दुःख कष्टबाट गुज्रिरहेका बालबालिकाहरुको जीवन शैलीमा धेरै नै भिन्नता छ । आमाबाबुको निगरानीमा हुर्केका र आमाबाबुको माया ममताबाट वंञ्चित रहेका बालबालिकाको संस्कार, रहनसहन, बोलीचाली हरेका कुरामा फरक परिरहेको हुन्छ ।
जो बालबालिका १८ वर्षमुनिको छ र उसले जीवन गुजारा गर्न जोखिमपूर्ण कामहरु गर्छ वा उसले गरेको मिहिनेतको सही ज्याला उसले पाइराखेको छैन र उसको श्रमको शोषण भैराखेको छ भने त्यो बालश्रम हो । विभिन्न कलकारखाना, होटल, घरेलु मजदुर आदिको रुपमा बालबालिकाहरु बालश्रम गर्नृ बाध्य छन् । घरको आर्थिक अवस्था निकै दयनीय रहेको अर्थात् विहान बेलुकी हात–मुख जोर्नलाई धौ–धो परेका कयौ संख्यामा रहेका परिवारहरु पनि छन् । जसको शरीरमा एक सरो राम्रो कपडा पनि छैन । मौसम अनुकूलको कपडा, औषधी सामान्य लेखपढ गर्नबाट वञ्चित रहेका हुन्छन् । संविधानमा बालबालिकाको अधिकार सुनिश्चित गरिएको छ । बालबालिकालाई कडा र जोखिमपूर्ण काममा लगाउन पाइँदैन भने पनि पारिवारिक विवशताले बाध्य भएर साधारण विद्यालयमा लेख् पढ् गरिरहेका बालबालिकाहरु बाध्य भएर पढाइ छाडी काम गर्न मजबुर हुन्छन् । गरिबीको रेखामुनि रहेको परिवार, सुकुम्बासी परिवारका बालबालिकाहरु, द्वन्द्व पीडित परिवारका बालबालिकाहरु यसबाट रामै्र प्रभावित बन्न पुगेका छन् । जसको घरपरिवारमा आम्दानीको अर्को स्रोत छैन, कमाइ दिने, जीवन गुजारा गराउने केही छैनन् र ऋणको चपेटामा परेकाहरु बाध्यतावंश बालश्रम गर्न बाध्य छन् । संविधानमा अनेक कुराहरु उल्लेख भए पनि जबसम्म जनताको पेट भरिदैन, चुल्हो बल्दैन र आंग ढाकिँदैन बस्नलाई सानो झुपडीको व्यवस्था हँुदैन तबसम्म यस सम्बन्धमा गरिएका ठूल्ठूला कुराहरु भाषण बाहेक केही होइन । गरिब जनताको भोकको आगोलाई कसैको भाषणले ननिभाउन सक्ने भएकाले पनि बालश्रमको रुपमा बिकराल रहेको छ । संघ, संस्थाहरुले बालश्रम अन्त्य गर्न बालश्रम न्युनीकरण गर्न कैयाँै वर्षदेखि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका पनि छन् । राज्यबाट पनि यस क्षेत्रमा कति खर्चहरु भइरहेका छन् तर वास्तविक जो बालश्रममा परेका बालबालिकाहरु छन् जो बालश्रम गर्न विवश छन् त्यस्ताहरु कहिलेकाही अवसरबाट वञ्चित हुने र राम्रै आर्थिक अवस्था भएकाहरुले यसको गलत फाइदा उठाएको पनि देखिन्छ ।
बालश्रममा परेकका बालबालिकाहरु विभिन्न किसिमका जोखिमको पनि सामना गर्नुपर्ने हुन सक्छ । जस्तै हामीले देख्ने गर्छौ – सकेसम्म पनि धैरै जसो १८ वर्षमुनिका बालबालिकाहरुलाई प्रयोगमा ल्याइरहेका हुन्छन् । त्यसरी प्रयोगमा ल्याइने बालबालिका कहिलेकाही जोखिममा परेर अंगभंग पनि हुने गरेको पाइन्छ । त्यस्तै ठूल्ठूला कलकारखाना, खानीमा प्रयोग गरिने बालबालिका पूर्ण जोखिम बेहोरेरै काम गरिरहेका पनि हुन्छन् । गाउँ समाजमा पनि आफ्ना दांैतरीहरु राम्रो खाएको, लेखपढ गरेको, विधालय गएको देख्दा उनीहरुको मन पनि छटपटिँदो हो भने ठूलो जोखिममा परेकाहरु मानसिक रुपमा सुस्त, चिन्तित देखिने डराउने , लजाउने, निद्रामा बरबराउने जस्ता लक्षणहरु पनि देखा पर्दछन् । बालश्रम अन्तर्गत बालबालिकाको श्रम मात्र शोषित हँुदैन, मनोविज्ञान पनि शोषित हुन्छ, प्रभावित हुन्छ । अझ कहिलेकाहीँ त दुव्र्यवहारका कुराहरु, हिंसाका कुराहरु पनि बेहोर्नु परेको वा सहनु परेको सुन्नमा आउँछन् । बालबालिकामाथि हुने यस् प्रकारका दुव्र्यवहार तथा हिंसाका कुराले कुनै पनि समाजलाई सभ्य बनाउँदैन । मानिसलाई बुद्धिजीवी भन्न पनि अप्ठ्यारो हुने अवस्था हुन्छ र मानिसलाई सर्वश्रेष्ठ प्राणी भनेर प्रमाणित गर्ने आधारहरु कमजोर हुन पुग्छन् ।
बालश्रमले पार्ने अर्को प्रभाव भनेको लागु पदार्थको सेवन पनि हो । यी कलिला बालबालिकाहरु संगतमा परी गाँजा, चुरोट, रक्सी आदि पनि खाने गरेको पाइन्छ । अहिलेका नवयुवाहरुमा गुटखाजस्ता अन्य पदार्थहरुको लत परेको सजिलै देख्न सकिन्छ । अझ कतिपय बालबालिका वा नवयुवाहरुमा प्रतिबन्धित लागू पदार्थ सेवनको बानी परेको पनि हुन सक्छ । यस किसिमका बालबालिकाहरुमा जुवातास खेल्ने, पैसा नभएको बेलामा चोर्न समेत पछि नपर्ने किसिमको बानी परेको हुन सक्छ । बजारमा पाइने नशालु पदार्थहरु सेवन गर्ने कोसितकोे संगत यिनीहरुलाई छिट्टै हुने गर्दछ । घरपरिवारहरु आफ्ना कामधन्दामा व्यस्त हुन्छन् भने छोराछोरीहरु अभिभावकको आँखा छलेर कुसंगतमा परिरहेका हुन्छन् र अभिवाकहरु यी कुराहरुबाट अनभिज्ञ हुन्छन् ।
आजको युग मोबाइलको युग भइसकेको छ । बालबालिकाहरु मोबाइलमा रमाउन चाहन्छन् । अलिकति ठूलो हुनासाथ उनीहरुलाई आफ्नै मोबाइल हुनु पर्छ भन्ने हो । साना बालबालिकाहरु मोबाइलमा दिनभरि गेम खेलिरहन्छन् । अलिकति ठूलो हुनासाथ अरुको देखासिकी आफ्नै खल्तीमा मोबाइल बोक्नु पर्ने फेसन चलिसकेको छ । साधारण र्इँटा भटा, होटेल र बस गाडीमा काम गर्ने बालबालिकाहरुले पनि मोबाइल बोकेकै हुन्छन् र त्यसबाट राम्रो कुरा कम र खराब कुरा बढी सिकिरहेका हुन्छन् ।
बालश्रमको रोकथाम वा न्युनीकरणमा सबै पक्षको त्यत्तिकै महत्वपूर्ण भूमिका हुन आउँछ । बालश्रम अपराध हो । हामीले बालबालिकाको अधिकार हनन गरेर उसको श्रमको श्रमको शोषण गरेर ठूलै पाप गरिरहेका हुन्छौँ । त्यसैले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु छन् भने उनीहरु गर्न सक्ने सजिला कामहरुमा मात्र लगाएर विद्यालयको समयमा लेख पढ गर्ने समय मिलाइ दिनु हाम्रो दायित्व हो । यदि कोही खानै नपाएको समस्यामा छन् भने उसको जीवनको रक्षा गरिदिनु पनि हाम्रो कर्तव्य हो । बालबालिकाको चौतर्फी विकासलाई ध्यानमा राखेर हामीले सहयोग पु¥याइदिनु पर्ने हुन्छ । बालबालिकामा परेको मानसिक प्रभाव तुरुन्तै नदेखिने किसिमका पनि हुन्छन् ।
बालश्रमलाई सकेसम्म निरुत्साहित गर्नु पर्दछ । किन कोही बालश्रम गर्न बाध्य छन् भन्ने विषयमा पनि समाजले नै विचार गर्नु पर्छ । सकेसम्म बालबालिकाले आफ्नो बाल्यकाल आफ्नो अभिभावकको छत्रछाँयामा रहेर स्वतन्त्रतापूर्वक बिताउने वातावरण हुनु पर्दछ । बालश्रमलाई सकेसम्म निरुत्साहित गरी बालबालिकालाई सम्मानका साथ बाँच्न पाउने सभ्य समाजको निर्माण अहिलेको आवश्यकता हो । संसारका प्राणीमध्ये सर्वश्रेष्ठ कहलिएका मानवले यस दिशामा सही प्रयास गर्नुपर्ने देखिएको छ ।