बारा, १२ श्रावन। प्रहरीले बाराको अमलेखगञ्जबाट अवैध सुनका गहनासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति मकवानपुर गाउँपालिका–७ का २६ वर्षीय गोपिलाल विश्वकर्मा रहेका छन्।
ईलाका प्रहरी कार्यालय सिमराका अनुसार विश्वकर्मा हेटौंडाबाट निजगढतर्फ जाँदै गर्दा ना २२ प ३८३४ नम्बरको मोटरसाइकलमा सवार थिए। अमलेखगञ्ज प्रहरी चौकीको टोलीद्वारा नियमित सवारी जाँचका क्रममा उनले बोकेको झोलाबाट १०८.८ तोला (लाल) तौलको सुनका गहना बरामद गरिएको हो।
प्रहरीका अनुसार बरामद गरिएका गहनासम्बन्धी कुनै पनि बिल, रसिद वा वैधानिक कागजात प्रस्तुत गर्न नसकेपछि विश्वकर्मालाई तत्कालै नियन्त्रणमा लिइएको हो।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद जोशीले दिएको जानकारीअनुसार, “सुन लुकाईछिपाई ओसारपसार गरिएको पाइएकाले थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको छ।”
प्रहरीले हाल गहना कहाँबाट ल्याइएको र कहाँ लैजाँदै थिएको भन्ने विषयमा अनुसन्धान अघि बढाएको बताएको छ। यस घटनाले सुन तस्करीको बढ्दो प्रवृत्तिलाई संकेत गर्ने भन्दै सुरक्षा निकाय थप सतर्क बन्नुपर्ने आवश्यकतामा पनि जोड दिइएको छ।


