रौतहट । फाल्गुन १४ गते
अस्तित्वमा मानिस आउनुभन्दा पहिले श्रेष्ठ प्राणी कसलाई भनिन्थ्यो भन्दा पनि वर्तमान उत्तर आधुनिक युगसम्म आइपुग्दा यत्र तत्र सर्वत्र तथा सिङ्गो पृथ्वीलोकमा मानवलाई श्रेष्ठ प्राणीको उपाधि झुण्ड्याइएको छ । यहाँनेरि भूगोल, राज्य, वर्ण, धर्म, अर्थ, विकास लगायत थुप्रै पृथक पक्षहरुलाई नजोडिइकनै कुनै पनि मानव एकल रुपमै श्रेष्ठ ठहरिन्छ । पृथ्वीमा भएका विभिन्न शाखामा पर्ने जीवित प्राणीहरुमध्ये एक प्राणी समूह मानवले अरु कुनै प्राणीले गर्न नसक्ने काम गरेकै कारणले होला यो भनिएको । मस्तिष्कको उच्चतम तहको प्रयोग, शस्त्र, अस्त्र, अत्याधुनिक मेसिन, प्रविधि जे जस्ता उपायलाई भिडाउँदासम्म पनि एउटा सामान्य नाथे चोर वा अपराधीलाई पत्ता लगाउनका लागि अधिकतम रुपमा तुच्छ मानिएको त्यही जन्तु कुकुरको सहारा लिनु पर्छ श्रेष्ठ प्राणी मानव पुष्टि भएका हामीले । मानवसँग आफ्नो मनका विचारहरु व्यक्त गर्ने भाषा छ, सायद त्यही नै होला श्रेष्ठ प्राणी कहलाउने राज । मानवइतरमा यही कुरा अभाव छ पनि भन्न सकिन्न । उनीहरुको पनि आ–आफ्नो भाषा छ, प्रतिक्रिया छ, विवेक छ र एक पृथक खालको अमूल्य गुण र क्षमता पनि छ जुन मानवजस्तै स्वतस्फूर्तरुपमा व्यक्त गर्न मात्र गाह्रो छ वा मानवले तिनीहरुको भाषा बुझ्न गाह्रो छ कि ?
मान्छे चाहेर पनि आकाशमा उड्न सकेन । वुद्धि, विवेक र सीपको उच्चतम प्रयोगले हवाइजहाज त बनायो र उड्यो । त्यो उडेको होइन । मानव वसेको यन्त्र धर्तीमाथि गएको हो । लाग्छ हवाइजहाज उड्यो भन्नु नै गलत छ । चरो वा अन्य पखेटाधारी प्राणी हो उड्ने भनेको । कुनै पनि धातु वा चीज उड्दैन, माथि जान्छ वा हुत्याइन्छ । मानवले जलीय वा वायुमण्डलीय जीवनको कल्पना गर्न सक्छ ? प्राकृतिक दुर्घटनाको पूर्वसंकेत, दिशानुसार आहारा पत्ता लगाउने क्षमता, श्रवण क्षमता, घ्राण क्षमता लगायत अनगिन्ती गुण खोई मानवमा ?
मानवले अध्याँरोसँग डराएर उज्यालो बत्तीको विकास गरेको हो । एकछिन मात्र विद्युत अवरोध होस् त कस्तो हुन्छ मानवीय हालत । अर्कोपट्टि निष्पट्ट रातमा पनि अनगिन्ती प्राणीहरु जीवन जिउनका लागि खटिइरहेका हुन्छन् । उनीहरुलाई अँध्यारो हुँदा पनि जीवन बाँच्न खासै कठिनाइ नभएको वा आनन्दको जीवन भएको हुन सक्छ । यी र यस्ता कुराहरु सूक्ष्म उदाहरण हुन् मानव परजीवी हो भन्ने कुराको । जे जस्तो किसिमका आविष्कार र विकासले मानव जीवन उच्च कोटिमा पुग्यो भनिए तापनि ती सम्पूर्ण कुराहरु मानव जीवनकै लागि घातक सावित भएका छन् । मानवले के गरेन ? सबै ग¥यो । के ग¥यो ? केही गरेन । जति पनि कुराको विकास भयो ती सम्पूर्णको आधार त प्रकृति नै रहेछ । जे गरियो त्यो सब प्रकृतिमा भएको कुरालाई खोजियो न कि सृजना गरियो । प्रसिद्ध वैज्ञानिकहरुले हामीले केही पनि गरेका छैनौँ भन्नुको तात्पर्य यही नै हुनुपर्छ ।
वैज्ञानिक त्यसै वैज्ञानिक भएका रहेनछन् । दार्शनिक त्यसै दार्शनिक भएका रहेनछन् । उनीहरुले सिङ्गो विश्व ब्रह्माण्ड र त्यहाँ भएका सम्पूर्ण प्राणी जगतको गहन र विस्तृत अध्ययन गरेपश्चात यस्ता उद्गारहरु आफ्नो जीवनको अन्त अन्तमा छोड्ने गरेका छन् । अन्ततोगत्वा उनीहरुले जे भने त्यो त्यही सत्य हुन आउँछ र हो पनि । तर उनीहरु स्वयं लगायत विश्व समुदायका मानवहरुमा अध्ययन अनुसन्धान र प्रयोग विना कुर्लिरहने अहमता नै सर्वोच्चताको हो । जुन निराधार छ ।
सर्वोच्च प्राणीका नाममा एक समूहले दर्जनौँ समूह–उपसमूहका लाखौँ करोडौँको जीवन धरापमा पार्दै आइरहेको वर्तमान परिप्रेक्ष्यमा मौसम विज्ञान विभागले मौसम सफा रहन्छ भनिरहँदा मुसलधारे पानी पर्नु र आकाशमा काकाकूल कराउँदा पानी नपर्नुले को सर्वोच्च प्राणी हो भन्ने कुरामाथि प्रश्न उठाउँछ । के मानिस साँच्चिकै सर्वश्रेष्ठ प्राणी हो त ?
विकास ग¥यौँ, विनाश निम्त्यायौँ । प्राकृतिक कुराहरुलाई कृत्रिम बनायौँ । विवेकको उच्चत्तम प्रयोगले पृथ्वीलाई भागवण्डा ग¥यौँ । सीमा विवादमा नरसंहार गर्दै विश्वयुद्ध मच्चायौँ । राजनीतिका नाममा गृहयुद्ध र द्वन्द्व सृजना ग¥यौँ । भौतिक पक्षलाई बढावा दिदै जाँदा मानवीयताको उपहास ग¥यौँ । मनोरञ्जनलाई प्राथमिकतामा राख्यौँ । पूँजीवादलाई अँगाल्दै जान खोज्दा दुःखी र दरिद्र बन्न पुग्यौँ । दुःखी र दरिद्रहरुको जीवन कस्तो ? के तिनीहरु मानव होइनन् ? के तिनीहरु सर्वश्रेष्ठ प्राणी होइनन् ? अत्यन्तै डर र त्रासको वातावरणमा जीउनु पर्ने भएकोले गगनचुम्वी पर्खाल र भित्तारुपी सुरक्षा कवचको निर्माण ग¥यौँ । मानवइतरजतिलाई संकटमा पा¥यौँ । यी र यस्तै अनगिन्ती क्रियाकलापहरु श्रेष्ठ प्राणीका उपज मान्दै अघि बढ्ने अवस्थामा पुग्यो मानव जाति ।
आजको यात्रासम्म आइपुग्दा मानवले केही गरेन भनेको होइन । एक होइन अनेक गरेको छ । जंगली युगबाट वर्तमान युगसम्म आइपुग्दा आश्चर्यजनक वा विश्वासै गर्न नसकिने कुराहरुमा पनि विश्वस्त बन्दै प्रयोगमा लीन भइसक्यो । समुन्द्रमुनि र समुन्द्रमाथि बस्ती बसाउनु लगायत सोही ठाउँमा यातायात संचालन गर्नु मात्र नभएर अन्तमा पृथ्वीलाई समेत अपूर्ण र साँघुरो मानी चन्द्रमामा बस्ती बसिसक्यो र मंगल ग्रहमा बस्ती बसाउने कुरा हुँदैछ । यस्तै गरी यस ब्रह्माण्डका अन्य ग्रह र ताराहरुका बारेमा समेत मानवले सोचिरहेको छ, के विकल्प हुन सक्छ भनेर । के गर्न सकिन्छ भनेर । यी र यस्ता यावत पक्षहरुमा दिमाग लगाइरहेको मानव आफैमा पूर्ण र आत्मनिर्भर भएर रहन भने सकेन । समयको वदलिँदो परिवेश अनुसार मानवले जे जति उन्नति, प्रगति र आविष्कार गरी आफूलाई यो अवस्थामा पु¥याउन सफल भएको छ त्यो सब ऊ आफैँले आफ्नो तन, मन, बुद्धि, विवेकले मात्र नभएर विभिन्न अवस्था परिवेश, परिकल्पना र तुलना गर्दा गर्दै गन्तव्य उन्मुख भएको हो । यो साध्य नभएर साधन मात्र हो । कालान्तरमा जे जति अरु पनि गर्दै जानेछ त्यसमा मानवले आफ्नो उच्चतम सामथ्र्य लगाएको मानिनेछ । तर उक्त सामथ्र्य लगाएकोमा ऊ आफ्नो एकाधिकारभित्र रहने भने छैन । सिङ्गो विश्व समुदाय एउटा घर परिवार भएको यस कालखण्डमा मानवले चाहेका सम्पूर्ण चीजविजहरुको भोग गरिरहदा पनि ऊ अन्य प्राणी जस्तो खुलमखुल्ला निर्धक्क भएर जीवन व्यतीत गरेको पाइँदैन । ऊ हर क्षण, डर, त्रास र तनावले प्रताडित छ । नीति नियम र व्यवस्था स्वतन्त्र भए तापनि ऊ एक किसिमको बन्धनभित्र जकडिएको छ ।
यी विविध पक्षका बावजुद मानव जीवन आदिम युगतर्फ धकेलौ भन्ने ध्येय चाँहि होइन तर सर्वश्रेष्ठ प्राणी मानव होइन कि भन्न मात्र खोजिएको हो । अब प्रसङ्ग आउन सक्छ श्रेष्ठ प्राणी को त भनेर । भैरव अर्यालको निवन्ध “महापुरुषको संगत” जस्तै बन्न सक्छ श्रेष्ठ प्राणी निक्र्योल गर्ने कुरा । समय परिस्थिति र वातावरण अनुसार कुनै पनि एक प्राणी आफैँमा पूर्ण अनुकुलित र श्रेष्ठ नहोला भन्न सकिन्न । त्यसकारण मानव समूह यहाँ अस्तित्वमा रहेका अनगिन्ति प्राणीहरुमध्ये एक सामाजिक प्राणी हो तर सर्वश्रेष्ठ प्राणी चाहिँ होइन भन्नु अतिशयोक्ति नहोला ।