इन्धनमा ‘अनावश्यक कर’ हटाउन प्रभु साहको सरकारसँग आग्रह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ८, मंगलबार (२ घण्टा अघि)
  • ७० पटक पढिएको
इन्धनमा ‘अनावश्यक कर’ हटाउन प्रभु साहको सरकारसँग आग्रह

रौतहट, ०८ वैशाख। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको अनावश्यक करहरू हटाउन माग गरेका छन् । सरकारले लगाउँदै आएको अनावश्यक कर हटाए उपभोक्ताले सहज र कममूल्यमै पेट्रोलियम पदार्थ पाउन सक्ने उनको भनाइ छ ।

काठमाडौँको कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै आजपा अध्यक्ष साहले प्रतिलिटर पेट्रोल १४९ रुपैयाँमा किनेर २१९ रुपैयाँमा बेच्नुले सर्वसाधारण महँगीको मारमा परेको बताए ।

‘अन्तर्राष्ट्रिय बजार बमोजिम आइओसीबाट प्राप्त औसत कुरमुक्त मूल्य १४९ रुपैयाँ १७ पैसामा एक लिटर पेट्रोल किनेर सरकारले उपभोक्तालाई २१९ रुपैयाँमा बेचिरहेको छ । यसमा विभिन्न नाममा कर, सेवा शुल्क लगायतका समावेश गरेर २१९ रुपैयाँमा किन बेच्नुपर्‍यो । यो अनावश्यक कर सरकारले हटायो भने उपभोक्ताले सजिलै र सहज रूपमा सस्तोमै पेट्रोल पाउन सक्छ,’ आजपा अध्यक्ष साहले भने ।

नेपाल आयल निगमले १४९ रुपैयाँमा किनेको एक लिटर पेट्रोलमा सरकारी भन्सार तथा प्रज्ञापन शुल्क/कर, सडक मर्मत सम्भार शुल्क, प्रदूषण शुल्क, पूर्वाधार कर, हरित कर, मूल्य अभिवृद्धि कर, मूल्य स्थिरीकरण कोष शुल्क गरी ५१ रुपैयाँ ५१ पैसा र निगमको प्रशासनिक एवं विक्री खर्च, बीमा खर्च, अन्य खर्च गरेर २ रुपैयाँ २७ पैसा खरिद मूल्यमा जोडेको छ । यस्तै निगमले ढुवानी भाडा खर्च, पेट्रोलियम विक्रेताको खर्च एवं मुनाफा समेत विभिन्न शुल्क र करहरू जोडेर २१९ रुपैयाँ बेचिरहेको छ ।

आजपा अध्यक्ष साहले निगमले खरिद गरेकै मूल्यमा भाडा खर्च र विक्रेताको खर्च एवं मुनाफा मात्रै जोडेर सबै कर हटाउँदा प्रतिलिटर पेट्रोल एक सय ६३ रुपैयाँमा उपभोक्ताले पाउन सक्ने बताए । तर सरकारले अनावश्यक कर, शुल्कहरू लगाएर सस्तो मूल्यमा किनेर उपभोक्तालाई महँगो मूल्यमा बेच्ने कार्य बन्द गर्नुपर्ने उनले बताए ।

अहिले भारतको विहार राज्यमा प्रतिलिटर पेट्रोल १७० नेपाली रुपैयाँमा पाइरहेको छ । तर नेपाल आयल निगमले भारतबाट खरिद गरेको त्यही पेट्रोल नेपालमा विभिन्न कर, शुल्क लगाएर महँगोमा बेचिरहेको छ । यस्तै डिजेल, मटितेल सहितका पेट्रोलियम पदार्थमा सरकारले लगाएको अनावश्यक कर हटाएर उपभोक्तालाई बेच्न आजपा अध्यक्ष साहले सरकारसँग माग गरेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस