
रौतहट, २० वैशाख। रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा गएराति आगलागी हुँदा एक गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।
राति करिब ७ः३० बजेको समयमा स्थानीय बासिन्दा वकिल राय यादवको गोठमा अचानक आगलागी भएको हो। आगलागीबाट गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने गोठभित्र बाँधिएको एक भैंसी जलेर गम्भीर घाइते भएको छ।
आगलागी हुँदा गोठभित्र रहेका विभिन्न सामग्रीहरू जलेर नष्ट हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाही का प्रहरी सहायक निरीक्षक जिबराम धितालको नेतृत्वमा खटिएको टोलीले आगोलाई करिब ७ः५० बजे नियन्त्रणमा लिएको जनाएको छ।
आगलागीको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवाही गोनाही का प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
