
काठमाडौं, २२ वैशाख। नेपाल–भारतबीच पुनः चर्किएको सीमा विवादका कारण भारतीय विदेश सचिव विक्रम मिश्री को प्रस्तावित नेपाल भ्रमण अन्योलमा परेको छ
भारत र चीनबीच नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक हुँदै कैलाश मानसरोवर। यात्रा सञ्चालन गर्ने सहमति भएपछि विवाद पुनः सतहमा आएको हो। भारतको विदेश मन्त्रालयले अप्रिल ३० मा चीनसँगको सहकार्यमा जुनदेखि अगस्टसम्म यात्रा सञ्चालन गर्ने घोषणा गरेको थियो।
यसप्रति नेपाल सरकारले कूटनीतिक नोटमार्फत आपत्ति जनाउँदै सन् १८१६ को सुगौली सन्धि अनुसार उक्त क्षेत्र नेपालकै भूभाग भएको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटमा नेपाल आफ्नो भौगोलिक अखण्डतामा अडिग रहेको उल्लेख गरिएको छ।
यता, भारतले भने नेपालको दाबी अस्वीकार गर्दै लिपुलेक नाका सन् १९५४ देखि नै मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको बताएको छ। साथै, भारतले द्विपक्षीय संवादमार्फत समस्या समाधान गर्न तयार रहेको जनाएको छ।
यसैबीच, सचिव मिश्रीको वैशाख २८ देखि हुने भनिएको नेपाल भ्रमण अब अनिश्चित बनेको स्रोतले जनाएको छ। उनी प्रधानमन्त्री बालेन्द्र शाह लाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आउने तयारीमा थिए।
तर सीमा विवाद चर्किएसँगै भ्रमणको वातावरण अनुकूल नरहेको आकलन गरिएको छ। परराष्ट्र मन्त्रालयले भने हालसम्म भ्रमणबारे औपचारिक निर्णय नभएको जनाएको छ।
यसैबीच, परराष्ट्रमन्त्री शिशिर खनाल भने भारत भ्रमणमा जाने तयारीमा रहेको बताइएको छ। उनी ब्रिक्स देशहरूको परराष्ट्रमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत जान सक्ने स्रोतले जनाएको छ।
