मर्मतका लागि त्रिभुवन विमानस्थल दैनिक ७ घण्टा बन्द गरिने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ८, मंगलबार (४ घण्टा अघि)
  • ७८ पटक पढिएको
मर्मतका लागि त्रिभुवन विमानस्थल दैनिक ७ घण्टा बन्द गरिने

काठमाडौं, ०८ वैशाख। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ ।

विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार, ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ का लागि जेठ ४ गतेसम्म हरेक दिन राति ११:४५ बजेदेखि बिहान ६:३० बजेसम्म विमानस्थल पूर्ण रूपमा बन्द रहनेछ ।

विमानस्थल कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार, धावनमार्ग छेउको ट्याक्सीवे क्षेत्रमा भइरहेको निर्माण कार्यलाई छिटो सम्पन्न गर्न र यात्रु तथा विमानको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो । रातिको समयमा निर्माण कार्य गर्दा उडान सञ्चालन पूर्ण रूपमा रोक्नुपर्ने अवस्था आएको जनाइएको छ ।

विमानस्थल कार्यालयले निर्माण कार्यका कारण यात्रु तथा उडान व्यवस्थापनमा पर्न सक्ने असरलाई न्यूनीकरण गर्न सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई आफ्नो उडान तथा अवतरण तालिका आवश्यकताअनुसार समायोजन गर्न आग्रह गरेको छ ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थलमा पछिल्लो समय यात्रु चाप उल्लेखनीय रूपमा बढ्दै गएको छ । यसलाई मध्यनजर गर्दै रनवे, ट्याक्सीवे तथा टर्मिनल क्षेत्रको स्तरोन्नति र पूर्वाधार विस्तार कार्य भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस