राष्ट्रिय स्वतन्त्र पार्टी मन्त्रीहरू विवादमा, बालेन शाह को सुशासन नारामै प्रश्नचिन्ह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ७, सोमबार (३ घण्टा अघि)
  • ९१ पटक पढिएको
राष्ट्रिय स्वतन्त्र पार्टी मन्त्रीहरू विवादमा, बालेन शाह को सुशासन नारामै प्रश्नचिन्ह

काठमाडौं, ०७ वैशाख। बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारमा ‘जान्नेलाई छान्ने’ नारासहित सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू एकपछि अर्को गर्दै विवादमा तानिन थालेका छन्।

सरकार गठन भएको महिना दिन नपुग्दै मन्त्रीहरूको आचरण, व्यावसायिक साझेदारी र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठ्न थालेका हुन्। रास्वपाबाट सरकारमा सहभागीमध्ये सबैभन्दा पहिले श्रममन्त्री दीपक साह विवादमा परेका थिए। जिम्मेवारी सम्हालेको दुई सातामै स्वार्थको द्वन्द्वसहित विभिन्न आरोप लागेपछि उनलाई चैत २६ गते पदबाट फिर्ता बोलाइएको थियो।

त्यसपछि स्वास्थ्यमन्त्री निशा मेहता पनि विवादमा मुछिइन्। उनले श्रममन्त्री साहको दबाबमा उनकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा निरन्तरता दिने निर्णय गरेको भन्दै आलोचना भएपछि पार्टीले उनलाई सचेत गराएको छ।

यसैबीच, गृहमन्त्री सुधन गुरुङ माथि बिचौलियासँगको व्यावसायिक साझेदारी र सम्पत्ति विवरण लुकाएको आरोप लागेपछि विवाद चर्किएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका दीपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी’ मा गुरुङको २५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर रहेको खुलासा भएको छ। तर उक्त लगानी उनले प्रधानमन्त्री कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख नगरेको आरोप छ।

यस घटनाले रास्वपाको सुशासन र पारदर्शिताको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको छ। पार्टीभित्रैबाट गृहमन्त्री गुरुङलाई पदबाट हटाउन दबाब बढ्दै गएको छ भने उनी स्वयं आरोपबारे स्पष्ट जवाफ दिनबाट पन्छिन खोजेको आरोप लागिरहेको छ।

सुशासनको नारासहित सत्तामा आएको रास्वपाका लागि आफ्नै मन्त्रीहरूका विवादहरू चुनौतीपूर्ण बनेका छन्। यसले सरकारको छवि मात्र होइन, आम नागरिकबीच पार्टीको विश्वसनीयतामाथि पनि असर पार्न सक्ने विश्लेषकहरूको भनाइ छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस