७ वर्षअघि सकिनुपर्ने सडक अझै अधुरो, परियोजना अलपत्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ७, सोमबार (२ घण्टा अघि)
  • ६३ पटक पढिएको
७ वर्षअघि सकिनुपर्ने सडक अझै अधुरो, परियोजना अलपत्र

काठमाडौं, ०७ वैशाख। २०७६ सालको पुसभित्रै सम्पन्न गर्ने गरी सम्झौता भएर काम अघि बढेको कास्कीको फुस्रेखोला–रामदी–मट्टिखान–देउराली सडक अहिलेसम्म अलपत्र अवस्थामा रहेको छ ।

२०७४ सालमा उक्त आयोजनाको सम्झौता भएको थियो । १३.७ किलोमिटर लामो यो सडक सम्झौताको लामो समयसम्म अलपत्र बनेको हो । लामो समय आयोजनाको काम नसकिएपछि स्थानीय उपभोक्ताहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत पठाएका छन् ।

‘हामीले विकासका लागि आफ्नो अमूल्य जग्गा, खेतबारी र घरआँगन समेत छाड्यौं । तर ठेकेदारको गैरजिम्मेवारीले गर्दा आज सडक अलपत्र परेको छ,’ स्थानीय उपभोक्ता ध्रुव पोखरेलले भने, ‘७ वर्षअघि नै बनिसक्नुपर्ने सडक अहिलेसम्म बनेन । तुरुन्त सडक निर्माण हुने सुनिश्चितता गरियोस् ।’

सडक विस्तारका क्रममा बिजुलीका पोलहरू जोखिमपूर्ण अवस्थामा रहेका कतिपय स्थानीय विस्थापित भएका र निर्माण व्यवसायीले गाउँका पसलहरूमा खाद्यान्नको उधारो समेत नतिरेको गुनासो स्थानीयको छ ।

यसलाई कास्की र स्याङ्जा जिल्ला जोड्ने रणनीतिक महत्वको सडक मानिएको छ । सडक निर्माणमा चरम ढिलाइ र ठेकेदारको लापरबाहीका कारण जनजीवन कष्टकर बनेको भन्दै उनीहरुले छिटो काम सक्न आग्रह गरेका छन् ।

अर्का स्थानीय अर्जुन पोखरेल सडक नबन्दा गाउँबाटै मान्छे विस्थापित हुने अवस्था आएको बताउँछन् । ‘सडक आउला र पर्यटक पनि भित्रेलान् भनेर कतिले गाउँमै लगानी गरेर व्यवसाय थालेका छन् । तर सडक अलपत्र छ,’ उनी भन्छन्, ‘सडकको दर्दशाले गर्दा अहिले त गाउले नै गाउँ छोडेर जान थालिसके ।’

सडक निर्माणको ठेक्का एसबीए/एसएपी/सिरुवा जेभीले पाएको हो । ३१ करोड ४९ लाख रुपैयाँमा सम्झौता भएको यो योजनामा चौथो पटक म्याद थप गर्दा पनि काम सकिएको छैन ।

 कार्यालयको रेकर्डमा वित्तीय प्रगति ५५ प्रतिशत देखिए पनि फिल्डको अवस्था नाजुक छ । पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य सडकको ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेको बताउँछन् । विगत एक वर्षदेखि निर्माण व्यवसायीले काम ठप्प पारेकोमा पछिल्लो निर्देशनपछि केही काम अघि बढेको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको कन्ट्रयाक्ट म्यानेजमेन्ट मिटिङपछि केही समय काम सुरु गरे जस्तो गरे पनि पुनः काम रोकिएको आचार्यले सुनाए ।

‘विगत एक वर्षदेखि निर्माण व्यवसायीले काम ठप्प पारेका थिए । कन्ट्रयाक्ट म्यानेजमेन्ट मिटिङ र प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि केही दिन काम सुरु गरे पनि निर्वाचनको बहाना बनाउँदै फेरि काम रोकेर व्यवसायीले गैरजिम्मेवारीपन देखाए,’ उनले भने ।

निर्माण व्यवसायीले मौखिक र लिखित रूपमा पटक–पटक प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ । कार्यालयलाई निरन्तर झुक्याउने काम गरेकाले ठेक्का अन्त्य गर्ने प्रक्रिया अगाडि बढाइएको आचार्यले सुनाए । सम्झौता अनुसार २०८१ चैत २७ गतेसम्म संशोधित म्याद थियो ।

कामको गति र ठेकेदारको व्यवहारले गर्दा समयमै काम सकिएन । अब भने सरकार म्याद नथपि ठेक्का तोड्ने प्रक्रियामा अघि बढेको छ ।

यसलाई सिद्धार्थ राजमार्गको वैकल्पिक छोटो दुरीको मार्गका रूपमा लिइएको छ । सडकमा झण्डै ६ किलोमिटर नाली, ह्युम पाइप, ग्याबिन जाली र मेसिनरी पर्खाल लगाउने काम बाँकी नै छन् ।

‘ठेकेदारले पैसा लगेजति काम फिल्डमा देखिएन । पटक–पटक म्याद थप गर्दा पनि नतिजा नआएपछि अब ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ,’ उनले भने ।

कास्की र स्याङ्जा जिल्ला जोड्ने यो सडक निर्माणको सुरुवात स्थानीय उपभोक्ताहरूको सक्रियतामा भएको थियो । २०५७ सालमा स्थानीयहरुले आफै पैसा उठाएर कच्ची बाटो बनाएका थिए ।

ट्रयाक खुलिसकेपछि २०६४ सालदेखि पोखराको फुस्रेखोलादेखि मट्टिखानसम्म नगर बस सञ्चालन भएको थियो । सडकलाई कालोपत्रे र पक्की बनाउनका लागि स्थानीय उपभोक्ता समिति, जनप्रतिनिधि र बुद्धिजीवीहरूले लामो समयसम्म संयुक्त प्रयास गरेका थिए ।

उनीहरूको निरन्तरको दबाब र पहलपछि मात्र केन्द्र सरकारबाट योजना स्वीकृत भई बजेट विनियोजन भएको थियो । ४२ करोड ९ लाख रुपैयाँ लागत अनुमान गरिएपनि सडक डिभिजन कार्यालय पोखरामार्फत कुल ३१ करोड ४९ लाखमा काम गर्नका लागि ठेकेदार राजी भएर सम्झौता गरिएको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस