वीरगञ्ज नाकामा २४ इलेक्ट्रिक स्कुटर बरामद, भन्सार ‘सेटिङ’को आशंका

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २२, मंगलबार (२ घण्टा अघि)
  • ७३ पटक पढिएको
वीरगञ्ज नाकामा २४ इलेक्ट्रिक स्कुटर बरामद, भन्सार ‘सेटिङ’को आशंका

वीरगञ्ज, २२ वैशाख। मधेश प्रदेशको मुख्य व्यापारिक नाका पर्सास्थित वीरगञ्ज नाका फेरि एकपटक शंकाको घेरामा परेको छ । भन्सार छली गरी नेपाल भित्रियाइएका २४ वटा भारतीय इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएको घटनाले सार्वजनिक भएपछि भन्सार कार्यालय नाकामा खटिएका प्रहरीमाथि तस्कर सेटिंग रहेको भन्ने कुरा उठ्न थालेको छ ।

गत वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका तथा आसपासका ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका ती स्कुटरहरू नियन्त्रणमा लिएको थियो । विभिन्न स्थानमा छरिएर प्रयोग भइरहेको अवस्थामा फेला परेका स्कुटरहरू नाकामा कडा सुरक्षा सुरक्षाका बीच ती अवैध रूपमा भारतबाट कसरी भित्रियो प्रश्न उठेको छ ।

बरामद गरिएका स्कुटरहरूको अनुमानित मूल्य करिब १९ लाख २० हजार रुपैयाँ रहेको छ । प्रहरीले ती सबै स्कुटरहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । यस प्रकरणले उल्टै सीमामा भइरहेको ‘सेटिङ’ को बहसलाई थप चर्काएको छ । सबैभन्दा ठूलो प्रश्न यही हो- सीमा निगरानी कडा छ, सिसिटीभी ठाउँ ठाउँमा जडान छ भने २४ वटा स्कुटर कसरी भित्रिए ? त्यो पनि एउटै समयावधिमा, बिना कुनै रोकतोकको ।

वीरगञ्ज–रक्सौल नाका नेपाल– भारतबीचको सबैभन्दा व्यस्त र संवेदनशील व्यापारिक नाका हो । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयको बाक्लो उपस्थिति रहन्छ । प्रत्येक दिन सयौं सवारीसाधन र हजारौं मानिसको आवतजावत हुने यो नाकाबाट कुनै पनि मालसामान भित्र्याउँदा कडा निगरानी हुने दाबी गरिन्छ । तर यति ठूलो संख्यामा स्कुटर भित्रिनु आफैंमा गम्भीर प्रश्न बनेको छ । स्थानीय व्यवसायीहरू भन्छन् ‘सामान्य नागरिकले एकसय रुपैयाभन्दा बढीको सानो परिमाणमा घरायसी सामान ल्याउँदा समेत चेकजाँच, जरिवाना र झन्झट भोग्नुपर्छ । तर यत्रो स्कुटर भित्रिँदा कसैले थाहा नपाउनु भनेको तस्करसँगको सेटिंग रहेको लाग्छ ।’ यो घटनाले सीमामा हुने तस्करीको पुरानो तर परिष्कृत तरिका पुनः चर्चामा ल्याएको छ ।

स्रोतहरूका अनुसार, महँगा सामानहरू सिधै एकैपटक नल्याई तस्करको साना–साना समूहमा सीमा पार गराइन्छ । त्यसपछि ती सामानहरू सीमावर्ती गाउँ वा गोदाममा जम्मा गरिन्छन् । आवश्यक ‘समन्वय’ मिलिसकेपछि ती सामानहरू बजारमा पठाइने गरिएको छ । यस्तो प्रक्रियामा सीमामा खटिएका केही कर्मचारी, बिचौलिया र तस्करबीच मिलेमतो हुने गरेको आरोप वर्षौंदेखि उठ्दै आएको छ ।

यद्यपि, यस्ता आरोपहरू प्रमाणित गर्न कठिन हुने भएकाले धेरैजसो घटना अनुसन्धानकै दायराभित्र सीमित हुने गरेका छन् । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारीसाधनको माग उल्लेखनीय रूपमा बढेको छ । वातावरणमैत्री र कम खर्चिलो भएकाले इलेक्ट्रिक स्कुटरप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । तर यही बढ्दो माग तस्करका लागि अवसर बनेको देखिन्छ । भारतमा तुलनात्मक रूपमा सस्तो पर्ने यस्ता स्कुटर नेपालमा भन्सार शुल्क, कर र दर्ता प्रक्रियाका कारण महँगो पर्छ। यही मूल्य अन्तर नै अवैध आयातको मुख्य कारण बनेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस