ओली–लेखक प्रकरणमा दोस्रो पटक म्याद थप्ने तयारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १९, बिहिबार (३ हप्ता अघि)
  • १३८ पटक पढिएको
ओली–लेखक प्रकरणमा दोस्रो पटक म्याद थप्ने तयारी

काठमाडौं, १९ चैत। पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न दोस्रो पटक म्याद थप्ने तयारी गरिएको छ ।

शनिवार (चैत १४) गते पक्राउ परेका ओली र लेखकलाई प्रहरीले आइतबार पहिलो पटक पाँच दिनको म्याद थप गरेको थियो । पहिलो पटकको म्याद बिहीबार (चैत १९) सकिने भएपछि दोस्रो पटक म्याद थप्ने तयारी गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दुवै जनाको म्याद आज थप्ने तयारी भएको बताए । प्रहरीले लेखकलाई म्याद थपका लागि अदालत पेस गर्ने जनाएको छ ।

ओलीलाई उनको स्वास्थ्य अवस्थाका कारण भर्चुअल रूपमा उपस्थित गराइने तयारी प्रहरीको छ । ओली मिर्गौला सम्बन्धी रोगका कारण महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएका छन् ।

पहिलो पटकको म्याद थप गर्दा पनि प्रहरीले लेखकलाई अदालत हाजिर गराएको थियो भने ओली भर्चुअल रूपमा उपस्थित भएका थिए । लेखक भने प्रहरीको महाराजगन्जस्थित २ नम्बर गणमा छन् ।

शनिवार पक्राउ परेका लेखकको बुधवारबाट बयान सुरु भएको छ । ओलीको अझै बयान लिइएको छैन ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा ओली र लेखकले प्रदर्शन दबाउन बल प्रयोग गर्न निर्देशन दिएको भन्दै गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारबाही सिफारिस गरेको थियो । सोही सिफारिसपछि ओली र लेखक पक्राउ परेका हुन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस