
काठमाडौं, २५ चैत्र । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको मुद्दाका विषयमा प्रहरीले सरकारी वकिलसँग लिखित राय माग गरेको छ । जिल्ला प्रहरी स्रोतका अनुसार उक्त पत्र सरकारी वकिलको कार्यालयमा दर्ता भइसकेको छ ।
जेन-जी आन्दोलनको जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ज्यान मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका ओली र लेखकलाई अब म्याद थप नगर्न सर्वोच्च अदालतले सोमबार आदेश दिएको थियो ।
कानूनतः प्रहरीले ज्यान मुद्दामा पक्राउ परेको व्यक्तिलाई अनुसन्धान गर्न २५ दिनको म्याद पाएको हुन्छ । उक्त म्यादभित्र उसले सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा बुझाउनुपर्ने व्यवस्था छ । तर, सर्वोच्च अदालतले तेस्रो पटक थप भएको ५ दिनको म्यादभित्रै मुद्दा बुझाउने वा अनुसन्धान अधिकृतले जिम्मा जमानीमा छोड्नेमध्ये केही गर्नू भनी आदेश दिएको थियो ।
अनुसन्धान अधिकृत अर्थात् जिल्ला प्रहरी परिसर, भद्रकालीको मुद्दा फाँटका डीएसपी राजु अधिकारीले जिल्ला सरकारी वकिलको कार्यालयसँग राय माग्दै पत्र लेखेका हुन् ।
अब सरकारी वकिलको कार्यालयले प्रहरीलाई दिने रायका आधारमा ओली-लेखक हाजिरी जमानीमा छुट्ने कि मुद्दा पेश गर्नमध्ये एउटा निर्णयमा पुगिने जिल्ला प्रहरी स्रोतले बतायो ।
ओली-लेखकमाथि अनुसन्धान गर्न जिल्ला अदालतले चैत २२ मा अन्तिम पटक पाँच दिनको म्याद थप गरेको थियो । उक्त म्याद बिहीबार गुज्रिँदैछ ।
