कलैया यातायात कार्यालयमा अनियमितता, प्रमुखमाथि धाकधम्की र हातपातको आरोप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ५, बिहिबार (१ महिना अघि)
  • ९३ पटक पढिएको
कलैया यातायात कार्यालयमा अनियमितता, प्रमुखमाथि धाकधम्की र हातपातको आरोप

बारा, ०५ चैत। बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालय फेरि विवादको केन्द्रबिन्दुमा आएको छ। कार्यालय प्रमुख चिन्तन आचार्यमाथि सेवाग्राहीलाई कार्यकक्षमै थुनेर दुर्व्यवहार तथा हातपात गरेको आरोप लागेपछि कार्यालयभित्रको कार्यशैली, अनुशासन र पारदर्शितामाथि प्रश्न उठेको छ।

सेवाग्राही अरुण कुशवाहाका अनुसार, सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को बायोमेट्रिक प्रक्रिया गर्न कार्यालय पुगेका बेला सामान्य विवादले उग्र रूप लिएको थियो। कुशवाहाले भने, “कार्यालय प्रमुखले गुनासो सुन्नुको सट्टा धाकधम्कीपूर्ण शैलीमा प्रतिक्रिया दिए। चार जनाले मिलेर मलाई कार्यकक्षमै थुने, मोबाइल खोसे र भिडियो डिलिट गरिदिए।”

कार्यालय प्रमुख आचार्यले हातपातको आरोप अस्वीकार गरे पनि, मोबाइल खोसेको र मोबाइल खसेर फुटेको स्वीकार गरेका छन्। उनले दुर्व्यवहार नगरेको दाबी गरे पनि, सेवाग्राहीमाथि प्रशासनिक दमनको स्पष्ट संकेत देखिएको छ।
तर, यो घटना केवल व्यक्तिगत विवादमा सीमित छैन। कलैया यातायात कार्यालयमा वर्षौंदेखि चलेको संगठित भ्रष्टाचार र अनियमितताको पर्दा फेरि फाटेको छ। सेवाग्राहीहरूको अनुभव अनुसार, लाइसेन्स प्रक्रिया पूर्णतः ‘व्यापार’मा परिणत भएको छ।

स्थानीय स्रोतका अनुसार, लिखित र ट्रायल परीक्षामा असफल भएकाहरूलाई समेत निश्चित रकम लिएर पास गराउने ‘खुलेआम धन्दा’ सञ्चालन भइरहेको छ। मोटरसाइकलदेखि हेभी सवारीसम्मको लाइसेन्सका लागि १० हजारदेखि ७० हजार रुपैयाँसम्म दर तोकिएको बताइन्छ। कर्मचारीहरूले कम्प्युटर प्रणालीमा रेकर्ड मिलाउने, सिसिटिभी फुटेज हटाउने वा सम्पादन गर्ने, लिखित परीक्षामा उत्तर भर्ने, ट्रायलमा अर्कै दक्ष चालक प्रयोग गर्ने जस्ता काम गर्दै आएको आरोप छ।

कलैया कार्यालय ‘लाइसेन्स किनबेचको अड्डा’का रूपमा परिचित भएको छ। बाराका मात्र नभई हेटौडा, काठमाडौं, सिन्धुपाल्चोक, पाल्पा लगायतका जिल्लाका सेवाग्राहीहरू पनि विचौलियामार्फत यहाँ ल्याइन्छन्। यसले सरकारी सेवा प्रणालीलाई नै अविश्वसनीय बनाइरहेको छ।

कार्यालयभित्रको अराजकता नयाँ होइन। गत मंसिर १८ गते पनि कर्मचारीबीच भएको कुटाकुटले प्रशासनिक गिरावट देखाएको थियो। करार नियुक्ति, अवैध रकम असुली, राजस्व बाहिरको कारोबार र रातको गोप्य हिसाबकिताब जस्ता क्रियाकलाप लामो समयदेखि चल्दै आएका छन्।

सवारी चालक अनुमतिपत्र जस्तो संवेदनशील प्रमाणपत्र पैसाको भरमा वितरण हुने अवस्था सडक सुरक्षा नै जोखिममा पार्ने खालको छ। यसमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कलैयाको प्रमुखको समेत मिलोमतो रहेको सेवाग्राही र कर्मचारी स्रोतले दाबी गरेका छन्।

अब प्रश्न उठ्छ: के सम्बन्धित निकायहरूले निष्पक्ष छानबिन गर्छन् र दोषीमाथि कार्वाही गर्छन्, कि फेरि ‘मिलापत्र’को खेलमा यी आरोपहरू मात्र दबाइने छन्? सेवाग्राहीहरूले पारदर्शी, जिम्मेवार र सेवामुखी प्रशासनको अपेक्षा गर्दै रहेका छन्। कलैया यातायात कार्यालयको वास्तविकता उजागर गर्न र सुधार ल्याउन तत्काल कदम चालिन आवश्यक देखिन्छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस