
काठमाडौं, २७ चैत। पर्साको छिपहरमाई गाउँपालिका–२ टिहुकीमा विद्यालयको बाउन्ड्रीभित्रबाट बाटो निकाल्ने विषयमा उत्पन्न विवाद झडपमा परिणत हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई पुरुष र तीन महिला रहेका छन्।
स्थानीयका अनुसार छिपहरमाई–२ का बलिस्टर साह कानुको खेतसँग जोडिएको श्री ने.रा.प्रा.वि. टिहुकीको पूर्वतर्फको खेतमार्ग विद्यालयको बाउन्ड्रीभित्रैबाट बाटो निकाल्ने प्रयास गरेपछि तनाव सुरु भएको हो। विद्यालयको जग्गामै बाटो खोस्रिएको देखेपछि स्थानीयले आपत्ति जनाए र प्रश्न उठाएपछि विवाद चर्किएको जनाइएको छ।
विवादका क्रममा बलिस्टर साह कानु, उनका नातामा भिनाजु तथा विद्यालयका प्रधानाध्यापक सतरोहन साह कानु, संजय साह, रोविन साह, इस्राइल देवान, मोतीलाल यादव, अशोक महतो, मुक्ति साह, सिताराम साह कानुसहित स्थानीयहरूबीच चर्को भनाभन भयो। स्थिति नियन्त्रण बाहिर जाँदा कुटाकुटको अवस्था समेत सिर्जना भएको प्रत्यक्षदर्शी हरूले बताएका छन्।
झडपमा जुवेद आलम, दिपी यादव तथा खुशबु खातुन, बुचि खातुन र जमिला खातुन घाइते भएका छन्। जुवेद आलम र दिपी यादवको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। झडपमा घाइते जमिला खातुन चार महिनाकी गर्भवती भएको पुष्टि भएको छ।
सबै घाइतेहरूको प्रारम्भिक उपचार नारायणी अस्पतालमा गरिएको थियो भने थप उपचारका लागि उनीहरूलाई स्पर्श मल्टिस्पेसियलिटी अस्पताल, वीरगञ्जमा भर्ना गरिएको छ।
घटनास्थलमा तनाव बनेपछि स्थानीय प्रशासन र प्रहरी परिचालन गरिएको बताइएको छ।
