पर्सामा घरेलु हिंसा बढ्दो, वीरगञ्जमा सबैभन्दा बढी घटना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ४, बुधबार (१ महिना अघि)
  • १२२ पटक पढिएको
पर्सामा घरेलु हिंसा बढ्दो, वीरगञ्जमा सबैभन्दा बढी घटना

पर्सा, ०४ चैत। पर्सा जिल्लामा फागुन महिनामा घरेलु हिंसाका घटनाहरू उल्लेख्य रूपमा देखा परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लाभर कुल ४८ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । यसमध्ये सबैभन्दा बढी घटना वीरगञ्ज महानगरपालिकामा रिपोर्ट गरिएको छ ।

जिल्लाका १४ स्थानीय तहमध्ये ९ वटा पालिकामा मात्र घरेलु हिंसाका उजुरी परेका छन् । तीमध्ये वीरगञ्ज महानगरपालिकामा मात्र ३९ वटा घटना दर्ता भएका छन् । यसबाहेक विन्दवासिनी गाउँपालिकामा २ वटा घटना भएका छन् भने अन्य केही पालिकामा एक–एक वटा मात्र उजुरी परेका छन् ।

पोखरिया नगरपालिका, ठोरी गाउँपालिका, धोबनी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका र जिराभवानी गाउँपालिकामा भने फागुन महिनामा कुनै पनि घरेलु हिंसाको घटना दर्ता भएको छैन ।

प्रहरीका अनुसार ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा घरेलु हिंसाका घटना धेरै बढी देखिएका छन् । पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले यस विषयमा प्रतिक्रिया दिँदै भने, “पछिल्लो समय प्रहरीप्रति जनताको विश्वास बढेको छ, जसका कारण पीडितहरूले यस्ता घटनाको उजुरी दिने क्रम बढेको हो । पहिले पनि यस्ता घटना हुने गरे पनि उजुरी कम पर्ने भएकाले तथ्याङ्कमा सङ्ख्या कम देखिन्थ्यो ।”

घरेलु हिंसालाई न्यूनीकरण गर्न प्रहरीले विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै पीडकहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्ने रणनीति अपनाइएको प्रहरीले जनाएको छ ।

तथ्याङ्कले वीरगञ्ज जस्ता सहरी केन्द्रहरूमा घरेलु हिंसाको समस्या बढी रहेको र प्रहरीमा उजुरी दिने प्रवृत्ति सकारात्मक रूपमा बढिरहेको सङ्केत गर्छ । यस्ता घटनाको रोकथामका लागि सामुदायिक स्तरमा थप सचेतना र सहयोग आवश्यक देखिन्छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस