
काठमाडौं, २१ वैशाख। पश्चिम बंगालमा ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसको १५ वर्ष पुरानो किल्ला भारतीय जनता पार्टी (भाजपा)ले भत्काउने लगभग पक्का भएको छ ।
विधानसभा निर्वाचनमा राज्यका २९४ सिटमध्ये २९३ सिटमा मतगणना भइरहँदा भाजपा पूर्ण बहुमततर्फ अग्रसर छ । बहुमतका लागि १४८ सिट आवश्यक पर्ने भए पनि यो समाचार तयार पार्दासम्म भाजपा १९३ सिटमा अगाडि छ ।
सन् २०११ मा भएको अघिल्लो विधानसभा चुनावमा पनि भाजपाले सत्तारूढ तृणमूल कांग्रेसलाई कडा चुनौती दिएको थियो, तर अन्तिम परिणाम तृणमूलकै पक्षमा गएको थियो । त्यतिबेला तृणमूल कांग्रेसले १७७ सिट जित्दै सत्ता जोगाएको थियो ।
त्यस चुनावमा भने भाजपा पहिलोपटक मुख्य विपक्षी दल बनेको थियो । उसले प्रभावशाली प्रदर्शन गर्दै ७७ सिट जितेको थियो ।
तर यसपटकको चुनावमा भने भाजपा सहज बहुमततर्फ अग्रसर छ । यद्यपि ममता बनर्जीले अन्तिममा जित तृणमूल कांग्रेसकै हुने जिकिर गरेकी छन् ।
पश्चिम बंगालका मतदाताले भाजपा रोज्नुका सम्भावित ८ कारणहरु यसप्रकार छन्–
१. सत्ता विरोधी लहर र भाजपाको बढ्दो जनाधार
तृणमूल कांग्रेस २०११ मा सत्तामा आएको थियो । ममता बनर्जीले वामपन्थीहरूको बलियो किल्ला ढाल्दै इतिहास रचेकी थिइन् । तर १५ वर्षसम्म सत्तामा रहँदा सरकारविरुद्ध असन्तोष बढेको देखिएको थियो ।
त्यसको फाइदा भाजपाले उठाउँदै गयो । पछिल्ला १० वर्षमा भाजपा बलियो विपक्षमा रूपान्तरण भयो । सन् २०१६ मा १० प्रतिशत मत पाएको भाजपाले सन् २०२१ मा ३८ प्रतिशत र सन् २०२४ को लोकसभा चुनावमा करिब ३९ प्रतिशत मत हासिल गरेको थियो।
२. टीएमसीविरुद्ध असन्तोष, भ्रष्टाचारविरुद्ध आक्रोश
ममता बनर्जी अझै लोकप्रिय नेतृ भए पनि बेरोजगारी, भ्रष्टाचार र सुशासनका मुद्दामा विपक्ष आक्रामक रुपमा प्रस्तुत भयो । त्यसपछि अनिर्णित मतदाता भाजपातर्फ आकर्षित भए ।
तृणमूल सरकारमाथि पछिल्ला वर्षहरूमा शिक्षक भर्ती घोटाला, राशन घोटाला जस्ता ठूला भ्रष्टाचार प्रकरण लागे । पूर्वमन्त्री पार्थ चटर्जीको गिरफ्तारीजस्ता घटनाले पार्टीको छविमा धक्का लाग्यो ।
३. महिला सुरक्षाको मुद्दा
आरजी कर अस्पताल घटनाजस्ता प्रकरण र सन्देशखाली विवादले महिला सुरक्षालाई ठूलो चुनावी मुद्दा बनायो । कोलकातास्थित एक सरकारी अस्पतालमा कार्यरत एक महिला चिकित्सकमाथि यौन दुर्व्यवहारको घटना सार्वजनिक भयो । सो घटनाले देशव्यापी आक्रोश निम्त्याएको थियो ।
यसैगरी उत्तर २४ परगना जिल्लामा पर्ने सन्देशखाली क्षेत्रका स्थानीय महिलाहरूले केही प्रभावशाली व्यक्तिहरूमाथि यौन शोषण, जग्गा कब्जा र धम्कीको आरोप लगाएका थिए । ती आरोपहरू सत्तारूढ तृणमूल कांग्रेससँग सम्बद्ध नेताहरूतर्फ लक्षित थिए ।
४. ‘ब्रान्ड मोदी’को प्रभाव र हिन्दू मतको ध्रुवीकरण
नरेन्द्र मोदीको लोकप्रियतालाई अगाडि सार्दै भाजपा चुनावी मैदानमा उत्रियो । ममताको प्रभावशाली छविको सामना गर्न ‘मोदी ब्रान्ड’ निर्णायक बन्यो । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘डबल इन्जिन सरकार’को अवधारणा प्रस्तुत गर्दै विकासको बाचा गरे । विशेष गरी महिलालाई लक्षित गर्दै मासिक ३ हजार रुपैयाँ खातामा पठाइने प्रतिबद्धता पनि अघि सारियो ।
साथै भाजपाले हिन्दु मतदातालाई एकीकृत गर्ने प्रयास गर्यो । टीएमसीलाई मुस्लिम समर्थक पार्टीको रूपमा प्रचार गर्दै भाजपाले ध्रुवीकरणको रणनीति अपनायो ।
५. बंगलादेशी घुसपैठको मुद्दा र मतदाता सूची संशोधन प्रभाव
पश्चिम बंगालमा बङ्गलादेशी घुसपैठको विषय लामो समयदेखि विवादमा रहँदै आएको छ । विपक्षले सरकारमाथि यसप्रति नरम रहेको आरोप लगाउँदै कडा आलोचना गर्यो ।
साथै चुनावअघि मतदाता सूची संशोधन अभियान सञ्चालन गरियो । यसबाट लाखौँ मतदाताको नाम हटाइएको बताइयो । यसले चुनावी समीकरणमा प्रभाव पारेको आँकलन गरिएको छ ।
