
काठमाडौं, २५ चैत्र । बलात्कार मुद्दामा कैद भुक्तान गरेको अवस्थामा जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका एकजना युवक चोरी मुद्दामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको तुवाचुङ जन्तरखानी नगरपालिका–१० घर भएका ३१ वर्षीय उमेश पुरी छन् ।
उनलाई काठमाडौँको तीनकुनेबाट पक्राउ गरेर थप अनुसन्धानको लागि प्रहरी वृत्त थिमीमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए । २०८२ साउन १९ मा बलात्कार मुद्दामा जेल परेका उनी भदौ २४ मा कारागार कार्यालय डिल्लीबजारबाट भागेका थिए ।
चैत २ मा अनलाइनमा बेच्न भनेर राखेको स्कुटर किन्छु भनेर झिकाएर उनले बागमती प्रदेश–०२–०४३ प ५३७६ नम्बरको स्कुटर टेस्ट ड्राइभ गर्छु भन्दै लिएर फरार भएको एसपी भट्टले बताए । उपत्यका अपराध अनुसन्धान कार्यालय थिमी शाखाको टोलीले चैत २२ मा उनलाई तीनकुननेबाट पक्राउ गरेको हो । उनले लिएर भागेको स्कुटर प्रहरीले बरामद गरेको छ ।
यसअघि उनी २०७७ मा बहुविवाह मुद्दामा २०७७ मा सुनसरीका चक्रघट्टी र २०७३ मा चोरी मुद्दामा खोटाङबाट पक्राउ परेका थिए । बलात्कार मुद्दामा तेस्रो पटक पक्राउ परेका आरोपी अहिले चौथो पटक चोरीमा पक्राउ परेका हुन् । ऊनीमाथि प्रहरी वृत्त थिमीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
