सय रुपैयाँभन्दा माथिका सामानमा भन्सार लागू, सीमामा चहलपहल घट्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ९, बुधबार (५ घण्टा अघि)
  • ६६ पटक पढिएको
सय रुपैयाँभन्दा माथिका सामानमा भन्सार लागू, सीमामा चहलपहल घट्यो

काठमाडौं, ०९ वैशाख। सुदूरपश्चिमबाट भारतीय सीमावर्ती क्षेत्रका बजारमा किनमेल गर्न जाने नेपालीको सङ्ख्या घटेको छ। सरकारले भारतबाट सीमानाकामा १०० रुपैयाँभन्दा बढी मूल्य भएमा भन्सार महसुल लाग्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती नेपालबाट भारतीय बजारमा सामान किन्न जानेहरूको चहलपहल नाकामा ह्वात्तै घटेको हो।

सुदूरपश्चिमका भारतसँग जोडिएका प्रमुख त्रिनगर भन्सार नाका र गड्डचौकी नाकाबाट भारतीय बजारमा किनमेल गर्न जानेहरूको सङ्ख्या घटेको सो क्षेत्रका व्यापारीहरू बताउँछन्। कञ्चनपुरको डोकेबजारमा व्यापार गर्दै आएका विमल चौधरीले अहिले त्रिनगर भन्सार नाकामा पहिलेका जसरी सामान किन्न जाने नेपालीहरूको सङ्ख्या घटेको बताए।

उनका अनुसार धनगढी, अतरिया लगायतका ठाउँका स्थानीयहरू प्रायः सामान किन्न पारी भारतीय बजार बनगाउँ, पलिया जाने गर्थे। अहिले भने त्यो अवस्थामा सुधार भएको उनले बताए। ‘अहिले त नाकामा सय रुपैयाँ भन्दा बढीको सामान ल्याए, कर लाग्छ, कडाइ भएपछि भारतका बजारमा किनमेल गर्न जानेहरूको सङ्ख्या घटेको हो,’उनले भने।

नेपालीहरु भारतका बजारमा सस्तो हुने भन्दै त्यहाँ किनमेलका लागि जाने गर्थे। अहिले कडाइ भएपछि झन्झट मानेर त्यहाँ जान छोडेका हुन्। सरकारको निर्देशनपछि सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका नाकाहरूमा अहिले निगरानी बढाइएको छ।

सीमावर्ती भारतीय बजारमा किनमेलका लागि जानेहरूको संख्यामा ८० प्रतिशतले कमी आएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्।

उनका अनुसार अहिले गौरीफन्टा नाका भएर भारत जाने र सामान ल्याउने क्रममा उल्लेख्य गिरावट आएको हो।

पहिले घरायसी प्रयोजनका लागि भन्दै भन्सार नतिरी सामान ल्याउन पाइने भए पनि अहिले थोरै मूल्यको सामानमा पनि कर तिर्नुपर्ने भएपछि सर्वसाधारणले स्थानीय बजारलाई नै प्राथमिकता दिन थालेका छन् ।

सामान किन्नेहरूको भीड घटे पनि सङ्गठित रूपमा क्यारिङ गर्ने समूह भने अझै सक्रिय देखिएको छ। सीमानाकामा भन्सार छलेर सामान ल्याउने काम गरेर गुजारा चलाउनेहरु भने अझै पनि सक्रियरुपमा लागेको बताइएको हो।

कैलाली र कञ्चनपुरमा आर्थिक अवस्था कमजोर भएका महिलाहरूले भन्सार छलेर सामान ल्याउने त्यो सामान ल्याए विपत् उनीहरुले व्यापारीबाट पैसा पाउँछन्। कयौँ वर्षदेखि यस्तो कामका सक्रिय भएकाहरू अहिले नाकामा कडाइ भएपछि समस्या छन्। प्रशासनका अनुसार अहिले नाकामा तस्करी नियन्त्रणमा २४ सै घण्टा निगरानी बढाइएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस