छानबिन समिति बनाउने पक्षमा सुधन, बालेनले मागे राजीनामा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ९, बुधबार (१ घण्टा अघि)
  • ६४ पटक पढिएको
छानबिन समिति बनाउने पक्षमा सुधन, बालेनले मागे राजीनामा

काठमाडौं, ०९ वैशाख। रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार दुईपल्ट भेट्दा गृहमन्त्री सुधन गुरुङसँग एकमात्रै एजेन्डा आफ्नो पद थमौती थियो ।

प्रधानमन्त्री बालेन शाहसामू हतारमा श्रममन्त्री दीपक साह हटाउनुको मानसिक दबाब थियो । स्वास्थ्य बीमा बोर्ड सदस्यको रुपमा श्रीमतीलाई हाजिर गराएको आरोप लागेपछि तत्कालीन श्रममन्त्री साहमाथि प्रश्न उठेपछि बालेन टीमले सामान्य सोधखोजबाहेक कुनै स्पष्टीकरणको मौका नदिई १३ दिनमा हटाएका थिए ।

सम्पत्ति विवरणमा उल्लेख नभएका अपारदर्शी सम्पत्तिहरुको खात सार्वजनिक हुन थालेपछि गृहमन्त्री सुधन अत्तालिएका थिए ।

मंगलबार सुधनले प्रधानमन्त्री बालेनसँग र पार्टी सभापति लामिछानेसँग दुई–दुईपल्ट कुरा गर्दा आफ्नो अडान सुनाएका थिए– छानबिन समिति बनाएर आफ्नो सम्पत्ति र त्यसको आर्जन पृष्ठभूमि खोतल्ने ।

त्यसले दिने निष्कर्षका आधारमा आवश्यक कदम चाल्ने ।

‘पार्टीभित्र सुदनलाई अझै एकपल्ट मौका दिने कि भन्ने मत पनि थियो, प्रधानमन्त्रीज्यूले अहिले मार्गप्रशस्त गर्नु नै उचित हुन्छ भन्ने मत राख्नुभयो,’ प्रधानमन्त्रीको टिमका एक सदस्यले अनलाइनखबरसँग भने, ‘सुधनजीको माग त छानबिन समिति बनाएरै जाँदा पुग्छ, राजीनामा किन दिने भन्ने थियो । तर सुशासनको मुद्दामा हाम्रो जिरो टोलेरेन्स (शुन्य सहनशीलता नीति) हो । सुदनजीले यो त बुझ्नै पर्थ्यो ।’

सुदनको साटो त्यस बेला डिपी अर्याललाई गृहमन्त्री प्रस्ताव गरेका लामिछाने पछिल्ला दिनमा उनले चालेका कदमका कारण राजनीतिमा नयाँ तरंग आएको बुझाईमा थिए । आफू निकट नेताहरुले सुदनको कार्यशैलीका कारण छिट्टै राजनीतिक अस्थिरतासमेत उत्पन्न हुन सक्ने चेतावनीमूलक संकेत गरे पनि लामिछाने केही समय काम गर्न दिनुपर्ने भनिरहेका थिए ।

दुईटा ‘माइक्रो इन्स्योरेन्स’मा गृहमन्त्री गुरुङले खरिद गरेको शेयर सम्पत्ति विवरणमा नदेखिएको, बरु उल्टै विवादित व्यक्तिसँगको सम्बन्ध सार्वजनिक भएपछि बालेन सरकारमाथि सुशासनको गम्भीर प्रश्न उठेको थियो ।

सुरुमा गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिने कोसिस गरे । तर पार्टीले भने यो मुद्दामा कुनै बैठकको एजेन्डा बनाउने त के, सामान्य छलफल समेत गरेन ।

गृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्तिमा सयौं रोपनी जग्गा र ८९ तोला सुन देखाएका थिए । तिनको स्रोत पारदर्शी थिएन । गुरुङले दुई माइक्रोइन्स्योरेन्स कम्पनीमा ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर उल्लेख नगरेको र त्यसले कानुनी प्रश्न उठाएको थियो ।

उनले सोमबार स्पष्टीकरण दिँदै सेयर किन्ने स्रोत ऋण भएको दाबी गरे, तर सम्पत्ति विवरणमा भने पैत्रिक सम्पत्ति, व्यवसाय र लगानीलाई स्रोत उल्लेख गरे ।

उनले त्यति धेरै सम्पत्ति व्यवसाय, पैतृक सम्पत्ति र लगानीबाट आर्जित भनेर ‘लम्पसम’ (एकमुष्ट) मा लेखे, स्रोत देखिने स्पष्ट विवरण सार्वजनिक गरेनन् ।

सार्वजनिक ओहदामा भएका गृहमन्त्री गुरुङले लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्समा भएको २५ हजार कित्ता र स्टार माइक्रोइन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता सेयर आफ्नो सम्पत्ति विवरणमा उल्लेख नगर्नुले उनीमाथि नैतिक र कानुनी प्रश्न उठेको थियो ।

गृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा २ करोड ७४ लाख रुपैयाँ बराबरको लगानी धितोपत्रको दोस्रो बजारमा कारोबार हुने कम्पनीको सेयर रहेको उल्लेख गरे । जबकि, उनले ती सेयर कुन कम्पनीका हुन् भन्ने उल्लेख गरेनन् ।

सुशासनको माग राखेर सुरु जेनजी आन्दोलनको अन्तिम घडीमा रहस्यमय ढंगले देखिएका, अनि शक्तिकेन्द्रहरुको धापमा निरन्तर अघि बढेका सुदन गुरुङ स्वयं नै अपारदर्शी सम्पत्तिहरुको खातमाथि बसेको सार्वजनिक भएसँगै राजीनामा आएको छ । उनले नैतिकता देखाउँदै राजीनामा दिएको बताए पनि उनीमाथि सरकारले चाहे थप अनुसन्धान गर्न सक्छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस