सहसचिव अधिकारीमाथि ७० लाख घुस लिएको आरोप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १, आईतबार (१ महिना अघि)
  • ११२ पटक पढिएको
सहसचिव अधिकारीमाथि ७० लाख घुस लिएको आरोप

काठमाडौं, ०१ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।

अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । त्यो रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग भएको अख्तियारको दावी हो ।

एच.के. इन्टरप्राइजेज भन्ने कम्पनीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा विभागमा उजुरी परेको थियो । त्यसपछि मुद्दाबाट जोगिन उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैयाँ दिएको भेटिएको अख्तियारको दावी हो ।

उक्त रकम विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतको सल्लाहमा उनीहरूको खातामा राखिएको अख्तियारको दावी छ ।

त्यसपछि उनीहरूले भक्तपुरको दिव्यश्वरी आयोजना भित्रको ५ आना जग्गा खरिद गरेको अख्तियारको दाबी छ । त्यसपछि देवेन्द्र केसी सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानीमा समेत त्यो रकम प्रयोग भएको अख्तियारको दावी हो ।

अख्तियारले विशेष अदालतमा पेश गरेको विवरण अनुसार, घटना साउन, २०७९ सालको हो । साढे पाँच महिना मात्रै महानिर्देशक बनेका उनी १ असार, २०७९ देखि १६ कार्तिक, २०७९ सम्म राजस्व अनुसन्धान विभागमा थिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला उनी देउवा परिवारसँगको विशेष सम्पर्क सूत्रमार्फत विभागको महानिर्देशक भएर गएका थिए । अख्तियारको दावी अनुसार, महानिर्देशक भएको एक महिनामै उनले घुस लिएका थिए ।

अख्तियारले उनीमाथि घुस लिएको आरोपमा भ्रष्टाचारका साथै गैरकानुनी रुपमा सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस