सिटिजन्स बैंकमा ५ करोडको घोटाला प्रकरण: ५ कर्मचारी निलम्बित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २, सोमबार (१ महिना अघि)
  • १५८ पटक पढिएको
सिटिजन्स बैंकमा ५ करोडको घोटाला प्रकरण: ५ कर्मचारी निलम्बित

विराटनगर, ०२ चैत। विराटनगरको कञ्चनबारीमा रहेको सिटिजन्स बैंकमा ४ करोड ९१ लाख हिनामिना भएको पाइएको छ । आफ्नै कर्मचारीको मिलेमतोमा यति ठूलो रकम हिनामिना भएको पाइएपछि बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ ।

कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको बैंकबाट उजुरी आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘उजुरी परेको छ । हामी छानबिन गरिरहेका छौँ । अनुसन्धान भइरहेकाले अहिले नै यसै हो भन्न सक्ने अवस्था रहेन ।’

अनुसन्धानका लागि आवश्यक कागजात माग भइ छानबिन थालिएको प्रहरीको भनाइ छ । रकम घोटालामा संलग्न व्यक्तिबारे अहिले खुलिनसकेको कट्टुवालले बताए ।

बैंक स्रोतका अनुसार घोटालामा ५ जना कर्मचारीको संलग्नता देखिएको र उनीहरू सबैमाथि कारबाहीका लागि उजुरी गरिएको हो । कञ्चनबारी शाखामा कार्यरत रोजी कँडेलको नेतृत्वमा सो घोटाला भएको आन्तरिक लेखापरीक्षणमा देखिएको स्रोत बताउँछ ।

आन्तरिक लेखा परीक्षणमा ठूलो परिमाणमा रकम हिनामिना भएको देखिएपछि बैंक प्रशासनले संलग्न कर्मचारीलाई निलम्बन गरिसकेको छ । हिनामिना भएको रकम असुलउपर गर्न र दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिइएको बैंक स्रोत बताउँछ ।

ती कर्मचारीले फिक्स डिपोजिटमा राखेको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल खडा गरी रकम निकाल्ने गरेको पाइएको स्रोतको भनाइ छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस