रौतहट । फाल्गुन २० गते
मानव प्रकृतिको सुन्दर देन हो र छ ऊ एउटा उत्कृष्ट उपहार पनि । यसका आफ्नै अलग्गै विशेषताहरु छन् जसले मानवलाई सर्वश्रेष्ठ बनाउन सफल भएको छ । मानवलाई मुख्य गरी दुई रुपमा विभाजन गरीएको छ – महिला र पुरुष । यो विभाजन लिङ्गको आधारमा हो । यसलाई जैविक विभाजन पनि भन्न सकिन्छ । यसको अर्थ यो पनि हो कि मानवलाई विभिन्न आधारमा विभाजन गर्न सकिन्छ ।
प्रकृतिले महिला र पुरुष दुवेैलाई शारीरिक रुपले केही फरक बनाएको छ । दुवैको विकास पनि आ आपm्नै किसिमको रहेको छ । प्राय छोरा मान्छेको तुलनामा छोरी मान्छेमा शारीरिक परिवर्तन छिट्टै देखा पर्न थाल्दछ । छोरी मान्छेमा ११–१२ वर्षकै उमेरमा महिनावारी आउन थाल्छ । यसलगायत अन्य परिवर्तनहरु देखा पर्न थाल्दछ भने छोरा मान्छेमा १३–१४ वर्षको उमेरमा शारीरिक परिवर्तनहरु आउन थाल्छन् । छोरा मान्छेको शारीरिक परिवर्तनका कुरा होस् वा छोरी मान्छेमा, यसमा खान–पान र वातावरणले ठूलो भूमिका खेल्दछ । प्राय अहिले त कक्षा–७÷८ पढ्दै गरेका छोरीचेलीहरुमा महिनावारी शुरु भएको पाइन्छ । अर्थात् यसै उमेरका महिलामा यो प्राकृतिक गुण देखा पर्न सुरु हुन्छ । यो प्रकृतिको एउटा देन हो, यसलाई हामी कसैले रोक्न सक्दैनौ र यदि रोक्ने कृत्रिम प्रयास गर्यौँ भने जसमा यो प्रयास गरिएको हुन्छ, उसमा अन्य शारीरिक तथा अन्य विकृतिहरु देखा पर्न सक्छन् । उमेर पुरा भैसकेका छोरीचेलीमा देखा पर्ने विभिन्न परिवर्तनहरुमध्येको महिनावारी वा नछुने हुनु पनि एक हो । यसप्रति हाम्रो समाजमा हरेकको आ–आफ्नै किसिमको धारणा रहेको पाइन्छ । विशेष गरी प्रत्येक महिनामा ४–५ दिनको समय महिनावारीको समय हुने र यस समयमा कुनै पनि शुभ काम अर्थात् चोखा कामहरु छुन नदिने, पूजाआजा जस्ता कामहरु गर्नबाट रोक लगाइएको हुन्छ । प्राय यस समयमा छात्राहरु विद्यालय जान हिच्किचाउने र घरमा बस्दा यो समयमा घरधन्दा, खेतीपाती जस्ता कामको बोझ बढ्नाले उनीहरुमा शारीरिक थकानका साथै मानसिक चिन्ता अत्यधिक देखिन्छ । यस्तो समयमा आरामको साथै खानपानमा विशेष ध्यान दिन आवश्यक हुन्छ । अर्कोतिर विद्यालय नियमित नहुदा पढाइमा पनि असर पर्ने भएकाले यसको प्रभाव पछि उच्च शिक्षा हासिल गर्दा समेत पर्ने देखिन आउँछ । कतिलाई त पेट दुख्ने ,धेरै रक्तस्राव हुने हुँदा पनि शरीरलाई कमजोर बनाउनको साथै पढाइ लेखाइ समेतमा असर परेको देखिन्छ । यी विभिन्न कारणहरु छन् जसले गर्दा यस्तो समयमा शारीरिक र मानसिक आरामको साथै खानपान समेतमा ध्यान दिनुपर्ने आवश्यक छ ।
विशेष गरेर विद्यालयमा अध्ययनरत छात्राहरुका लागि महिनवारी एउटा ठूलो समस्याको रुपमा रहेको छ । विद्यालयकै समयमा कुनै छात्रा महिनवारी भैहालिन भने उसको पहिलो सोच हुन्छ घर गइहालेको राम्रो । कपडा फेर्न र आरामको लागि घर जानुपर्ने हुन्छ किनकि विद्यालयमा यी सबै सुविधाहरु हुँदैनन् । स्थानीय निकायहरुको सहयोगमा तथा विभिन्न संघ संस्थाको सहयोगमा अहिले विभिन्न विद्यालयहरुमा मेन्शुरेशन प्याड वितरण गरिएको छ । यो निकै सकारात्मक पक्ष हो । विद्यालयमा नै अझ पढाइकै समयमा पनि यो प्राकृतिक पक्ष कुनै छात्रामा देखा प¥यो भने प्याडको सुविधा हुन्छ वा पाइन्छ भन्ने मनोविज्ञान छात्राहरुमा हुन्छ र ढुक्कले विद्यालय पढ्न जान पाउने अवस्था सिर्जना भएको छ । हैनभने नछुने हुने समय आएपछि यस्ता छात्रामा एक किसिमको मनोवैज्ञानिक त्रास रहन्थ्यो जसले गर्दा पढाइमा पनि प्रभाव पार्दथ्यो । जे होओस्, ढिलो भए पनि प्याडको व्यवस्था हुनुलाई सकारात्मक पक्ष मान्न सकिन्छ तर अन्य सुविधाहरु अझै उपल्ब्ध हुन बाँकी छन् । झण्डै कक्षा सातदेखि मावि, उच्च माविसम्ममा ६००–७०० सम्म संख्यामा छात्राहरु भएको विद्यालय पनि छन् । प्राय प्रत्येक दिन २–४ जना छात्राहरु महिनावारी भैराखेको हुन्छन् । कहिलेकाही कोही –कोही लाज मान्ने स्वभावका छन् भने विद्यालयमा नभन्ने र पढाइ छाडेर घर गइदिने गर्छन् भने कोही–कोही शिक्षिकाहरुसित कुरा राख्ने र सहयोग लिने गरेको पाइन्छ । अर्थात् प्याड माग्ने गर्छन् तर प्याड फेर्ने उति र व्यवस्थित ठाउँ नभएर एउटै शौचालय जुन सबैले प्रयोग गरिरकेको हुन्छन् त्यो प्रयोग गर्नुपर्ने हुन्छ जहाँ कतिपय छात्राले निकै अप्ठ्यारो मानेको पाइन्छ । उचित र व्यवस्थित ठाउँको अभावमा अझै पनि कतिपय छात्राहरु यस्तो प्राकृतिक अनिवार्यताको समयमा घर जानका लागि बढी जोड गर्ने गर्दछन् । लामो समयसम्म भिजेको प्याड नफेरी लाइराख्नाले त्यसले झन संक्रमण फैलाउने भएकाले स्वास्थ्यलाई नै असर पुर्याइरहेको हुन्छ अर्को चिन्ताको कुरा भनेको कपडामा कुनै किसिमकाृे दाग लागेमा सबैको अगाडि लाजको कुरा हुने पनि मनोवैज्ञानिक धारणा रहेको छ । यसरी छात्राहरु धेरैतिरबाट यो समयमा मानसिक र शारीरिक दुबै किसिमले दबाबमा भएको देखिन्छ ।
धेरै विद्यालयमा छात्रामैत्री शौचालय बनाएको पाइन्छ भने अझै पनि कतिपय ठाउँ यस्तो पनि छ जहाँ छात्रामैत्री शौचालय बनाउन सकिएको छैन । कतिपय यस्ता विधालयहरु पनि छन् जहाँ शौचालय त छ तर त्यसमा ढोका छैन, पानीको सुविधा छैन । शौचालयको समस्या पनि विद्यालयमा विद्यार्थी र विद्यालयको भौतिक पूर्वाधारअनुसार हुने गर्दछ । छात्रामैत्री शौचालयमा पानीको व्यवस्था, प्याड व्यवस्थापन गर्ने भाँडो, नयाँ र सुरक्षित प्याड, साबुन, ऐना, कपडा सुकाउने डोरी आदि आवश्यक हुन्छन् । धेरै यस्ता विद्यालयहरु पनि छन् जहाँका शिक्षिका र छात्राहरुलाई प्याड बनाउने तालिमहरु पनि दिइएका छन् । तालिम प्राप्त शिक्षिका र छात्राहरुले विद्यालयमा कपडाबाट हातले तयार पारेका प्याड प्रयोगमा ल्याएको पनि पाइएको छ तर यस्तो प्याडको प्रयोगमा पनि समस्या व्यवस्थापनकै हुन आउँछ । व्यवस्थापनको क्षेत्रमा अबको ध्यान जानुपर्ने आवश्यकता यसबाट सिद्ध हुन आउँछ ।
अहिले पनि हाम्रो समाजमा अन्धबिश्वासले जरो गाडेको हुँदा महिनाबारी भएको समयमा प्रयोगमा ल्याएका कपडाहरु बाल्न वा डढाउन हँुदैन भन्ने मान्यताहरु पनि छँदैछन् । विभिन्न समूदायमा यसप्रतिको सोच फरक फरक पाइन्छ । वास्तवमा सेनेटेरी प्याड उपलब्ध गराउँदैमा छात्राहरुको सम्पूर्ण समस्या समाधान भइहाल्छ भन्ने होइन र छात्राहरुले समस्या सुनाएनन् भने समस्या नै छैन भनी ढुक्क हुनु पनि भएन । यसले हाम्रो वातावरण र छात्राहरुको शारीरिक स्वास्थ्यलाई दुबैलाई असर पार्ने भएकाले यसकाृे व्यवस्थापन पक्ष, यससित सम्बन्धित अन्य पक्षलाई पनि ध्यान दिन उत्तिकै जरुरी छ । सम्बन्धित पक्षले यसको अनुगमन र बस्तु अवस्था समय समयमा बुझ्ने र आवश्यक पहलहरु अहिले पनि आवश्यक देखिन्छ । सेनेटरी प्याडको जुन व्यवस्था भएको छ, त्यसलाई निरन्रता दिइनु पर्दछ, बाँकी विद्यालयमा पनि यसको विस्तार गरिनु पर्दछ तथा अन्य सुविधातर्फ पनि ध्यान दिनु पर्ने देखिन्छ । यसै गरी छात्राहरुले पनि आफ्ना समस्याहरु सकेसम्म शिक्षिकामार्फत राख्दै सम्बन्धित निकायसम्म पु¥याउने प्रयास पनि गर्नुपर्दछ । मुलुकको वर्तमान संरचनाअनुसार स्थानीय सरकार तथा प्रदेश सरकार र तिनका प्रतिनिधिहरुले विद्यालयमा पढ्न जाने छात्राहरुका लैंगिक दृष्टिले हुने वा भइरहेका समस्या समाधानको लागि सकारात्मक चासो लिने हो भने साँचो अर्थमा सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु छात्रामैत्री हुने कुरामा विश्वास गर्न सकिन्छ ।